च्यातिएको बादल
बादल त्यो हो सले जसले पानी नै पानी बोलेर आकाशमा चारैतिर तैरिएर बसेको हुन्छ। अर्को शब्दमा भन्ने हो भने महासागरबाट पानीको बाफको रुपमा उभ्रिएर घनिभूत पानीको समिश्रण बोकेर आकाशमा तैरिएर उडिरहने एक नरम जड हो।
यसको सक्रियता बसन्त ऋतुमा हुन्छ र वर्षाको भेल आउने, हजारौं घरबार बगाई लाने, पैरो जाने, ठूल्ठूला पुल पुल्पुलेसा बगेर जाने अनि अरबौं धन सम्पत्तिको नास गराउने यही ढकमक्क ढाकिएको बादल हो।
हिजोका काउली जस्ता बादलहरुले आकास सधैं ढाकिएको देख्दा डर लाग्छ कि यी समुद्र बोकेका बादलको जल बृष्टिले पुनः खेती नष्ट गरी, सम्पूर्ण जनधनको क्षति गराई, भएका बाली नालीलाई सोत्तर बनाउन उ सधैं तत्पर रहेको हुन्छ।
तर अब यो बादलको ताण्डव नृत्य हेर्न कोही पनि राजी छैनन्। यसको भयंकर रुप हेर्न कोही पनि चाहँदैनन्। पानी परोस् तर केदारनाथ र हरिद्वारको जस्तो भेल र बाढी नआओस्। नेपालको तिनाउ खोलामा आए जस्तो बाढी नआओस्।
त्यस्तै नेपालको चामे, मनाङ, हेलम्बू, सिन्धुपाल्चोक र मेलम्चीमा आए जस्तो बाढी नआओस्। जापानको जस्तो सुनामी फेरि नआओस्। युरोपमा आएजस्तो बाढी र अमेरिकाको टेक्सस र फ्लोरिडा राज्यमा घुसे जस्तो बाढी नआओस्।
त्यस्तै चीनको हेनान प्रान्तको गुआनचाउमा आएजस्तो बाढी नाओस् जहाँ १००० वर्षसम्म यस्तो बाढी आएको थिएन रे। आखिर यो सबै नास र सर्वनासको एक दर्बिलो बादलले बोकेको पानीको भयंकर घनत्वको कठोरता नै हो।
तर सधैं बादलको यो रुप र लापरवाही पृथ्वीमा चल्दैन। त्यसै कारणले यो पृथ्वीमा बस्ने चराचर प्राणी र तीनले निर्माण गरेका भौतिक पूर्वाधारहरुको नष्ट हुनबाट बच्न आज बादल आफैं च्यातिएको छ,फाटेको छ।
निसहाय बनी टुक्रा टुक्रा भइ तितर बितर भएको छ। अब भारी वर्षाको कुनै गुन्जाएस छैन। पृथ्वीमा झलमल्ल घाम लागिसकेको छ। मान्छेहरुले आफ्ना आफ्ना झिटी गुन्टाहरु मिलाइसकेका छन्। पानीले थिलथिलो भएको जमिनमा आज पुनःसंरचना बन्न थालेका छन्।
खेतीपाती हुन थालेको छ। यो च्यातिएको बादलले पृथ्वीमा झलमल्ल उज्यालो भएको छ। बिशाल सम्म मैदाने फाँटमा तोरी फुलिसकेको छ। धानका बालाहरु झुलिसकेका छन्। मकैका ठिंग उभिएका मान्छे जस्ता बोटहरुले मकैको घोगामा दारी जुँगा हालिसकेका छन्।
जमिनका गरा गरामा सयपत्रीका सुनौला फूलहरु र सुपारीका फूलहरुले कोपिला हालीसकेका छन्। सारा जमिन फेरि सुन्दर बगैंचामा परिणत भैसकेका छन्। कवि, साहित्यकार र दार्शनिकहरू फेरि जुर्मुराएका छन्।
लेख, कविता, नाटक, गजल लेख्न थालेका छन् र कलाकार प्रकृतिको सुन्दर चित्र क्यानभासमा उतार्न थालिसकेका छन्। साहित्यकार नयाँ सिर्जनामा कोठा कोठामा लेख्न थालिएका छन् भने दार्शनिक दर्शनका सिद्धान्त तयार पार्न थालेका छन्।
यहाँ फेरि प्रसिद्ध प्रकृति कवि वर्ड्सवर्थले पुनः पुनर्जन्म लिइसकेका छन् र लुसी, सोलिटरी रिपियर र डाफोडिल्स जस्ता अर्का नयाँ कविता लेख्न थालेका छन्। यहाँ टि.एस.एलिएटले कविताका कति अंशहरु सिध्याइसके होलान्।
त्यस्तै बाइरन, शेली र कीट्स जस्ता कविहरु यो धर्तीमा फेरि फर्किइसकेका छन्। शेक्सपियर र लिओ टोलसोतोयहरु पुनः ओथेलो, माकबेथ वार एण्ड पिस, अन्ना कारेनिना र द डेथ अफ इर्भान इलीच जस्ता लेखहरु लेख्दै होलान्।
भारतमा पन्तप्रसाद निराला जस्ता र रविन्द्र नाथ टेगोर जस्ता कविहरुको पुनर्जन्म भैसकेको छ। यसै गरि नेपालमा पनि महाकवि लक्ष्मीप्रसाद देवकोटा, लेखनाथ पौडेल र बालकृष्ण सम जस्ता कवि र नाटककारको पुनर्जन्म भइ आफ्ना अधुरा कृतिहरु पुनः लेखी पूरा गर्न लागेका छन् भने अर्का भानुभक्त रम्घागाउँमा जन्मिइ उही रामायणमा छुटेका कुराहरुलाई पुनः परिष्कृत गर्न थालेका छन्।
त्यस्तै चीनमा लाओत्से, कफुसियस, नेपालमा गौतम बुद्ध, भारतमा महान सन्त कबिर, ग्रीसमा सुकरात, अरिस्टोटल, प्लेटो जस्ता र दाँते अलिघिएरो जस्ता महान सन्त, साहित्यकार र दार्शनिकको पुंनर्जन्म भई सकेको छ र असंख्य ठूला डाक्टर, इन्जिनियर, टेक्नोक्राट्स, प्रोफेसर, किसान र कर्मठ योद्धाको जन्म भैसकेको छ।
तसर्थ यी महान व्यक्तिहरु पुन जन्मिएको यो पृथ्वीमा अब बादलको कुनै साम्राज्य चल्दैन र बाढी हुरी, सुनामी र आँधीबेहरीको कुनै डर हुँदैन। किनकि यिनीहरुको डरले बादल च्यातिएको छ, फाटिएको छ।
यो झलमल्ल मदहोश वातावरणलाई पुनः एकत्र गरी सधैं आकाशमा च्यातिएको र फाटेको बादल रहोस् र वर्षा पनि होस् तर बाढी पैरो सुनामी हुरी बतास केही नआओस् भन्दै बादलसित बिदा लिन चाहन्छु।
Facebook Comment