विद्युत् प्राधिकरणको बाक्सिला सव-स्टेशन अलपत्र
खोटाङ। खोटाङको केपिलासगढी गाउँपालिका–४ बाक्सिला (सिमपानी)मा नेपाल विद्युत प्राधिकरणको निर्माणाधिन सव–स्टेशन अलपत्र परेको छ।
भारतीय ठेकेदार कम्पनी एटुजेड इन्फ्रा इन्जियरिङ लिमिटेडले बुईपा–बाक्सिला प्रशारण लाईन, ट्रान्सफर्मर जडान गर्ने र सव–स्टेशन निर्माणको काम तीन वर्षमा सम्पन्न गर्नेगरी २०७३ साल भदौमा सम्झौता गरेको थियो। ठेकेदार कम्पनीले बुईपा–बाक्सिला ३३ केभि र ११ केभि प्रशारण लाईनको काम पुरा गरेपनि ट्रान्सफर्मर थप गर्ने र सव–स्टेशन निर्माणको काम अलपत्र पारेको हो।
सम्झौताअनुसार २०७६ सालमै बनिसक्नुपर्ने सव–स्टेशनको क्वाटर र कन्ट्रोल बिल्डिङको काम अधुरै छ। निर्माणस्थलमा सव–स्टेशनको विद्युतीय उपकरणहरु असरल्ल छरिएका छन्। खुला चौंरमा थुपारिएका कतिपय उपकरण टुटफुट र काम नलाग्ने अवस्थामा पुगेको अनुमान छ । कतिपय संरचनाको पिलर मात्र ठड्याइएको देखिन्छ।
बिराटनगरमा रहेका ट्रान्सफर्मरहरु निर्माणस्थलमा लगिएकै छैन। सव–स्टेशनको बाँकी काम पुरा गर्नका लागि पटक–पटक विद्यूत प्राधिकरण पुग्दा पनि सुनुवाई नभएको केपिलासगढी गाउँपालिका अध्यक्ष समिर राईले बताए। सव–स्टेशन निर्माणमा ढिलासुस्ती हुँदा सेवाग्राही गुणस्तरिय विद्युत सेवाबाट बञ्चित छन्।
केपिलासगढी र ऐसेलुखर्क गाउँपालिका तथा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको उत्तरी क्षेत्रका सेवाग्राहीलाई लक्ष्यित गर्दै बाक्सिलामा सव–स्टेशन निर्माणको काम थालिएको थियो। बाँकी काम सम्पन्न हुँदासम्ममा आयोजनाको कुल खर्च करिब ११ करोड पुग्ने प्राधिकरणले जनाएको छ। सरासर काम गरे डेढ/दुई महिनामै काम सकिने अवस्था छ तर निर्माण कम्पनीले काममा चासो नदेखाएको स्थानीयको गुनासो छ।
सम्झौता म्यादभित्र सव–स्टेशन लगायतका संरचना निर्माणको काम नसकिएपछि भेरिएसन गर्दै पटक–पटक म्याद थप भएको छ। पटक–पटक पेटी ठेकेदार परिवर्तन हुँदा सव–स्टेशन र ट्रान्सफर्मर जडानको कामले गति लिन नसकेको नेपाल विद्युत प्राधिकरणको वितरण प्रणाली सुदृढिकरण तथा विस्तार आयोजना प्रमुख बोधराज ढकालले बताए।
Facebook Comment