जीवन जीउने कला
जीवन जीउने कला दुई प्रकारका छन्। एक आफैं संघर्ष गरेर र अर्को आफूले आफैंलाई समर्पित गरेर। संघर्षको जीवनले मानिसको बाह्य जीवनलाई अत्यन्तै मजबुत बनाउँदछ।
उसका अनुभव र उसले गरेका र भोगेका कठिन कर्मले उसलाई सधैं मालिक बनाउँदछ। तर समर्पित जीवनले भौतिक संसारिक जीवन जीउने कलाबाट माथि उठाई चैतन्यको शक्ति केन्द्रको लोकमा केन्द्रित गराउँदछ।
संघर्षशील जीवन जीउने कलामा मानिसहरुले अनेक विषयको भारी बहन गर्नुपर्ने हुन्छ। अनेक दुःख पीर खप्नु पर्ने हुन्छ। अनेक कुरामा घमण्ड, लोभ लालच, रिस र सुख भोग गर्नु पर्ने हुन्छ।
तर समर्पित जीवनको कलामा मानिसले आफूलाई एकान्त, शून्य, आनन्द र शान्त र झण्डै परमेश्वरको नजिक पुर्याउने काम गर्दछ जसले मानिसका सारा नकारात्मक थोप्लाहरुलाई हटाउँदै एकाग्रतामा पुर्याउँदछ।
संसारका सबैजसो मानिसहरु यही संघर्षशील जीवन जीउने कलामा फसेका छन् र अनगिन्ति दुःख सागरमा डुबुल्की मारिरहेका छन्। कहिले दुःख कहिले पिर त कहिले तापमा जली त्यस भित्र पाउने क्षणिक आनन्दमा मग्न भइ बसेका छन्।
सबै कुरा आफैं थाहा पाउँदै जाँदा आफू बिस्तारै अन्धकारबाट उज्यालो तिर अगाडि बढेको अनुभव हुन्छ। जति बुझ्यो त्यति आनन्द र प्रश्नविहीन भइन्छ र सबैलाई आफू जस्तै देखिन्छ र आफू सबैबाट एकमा आइन्छ अनि सम्पूर्णमा प्रश्न र उत्तर दुवै विहीन भइ जीवन जिउने कलालाई आफैंमा समाहित गर्ने हो भन्ने कुराको बोध हुने हुँदा त्यो झनै अविश्मरणीय बन्न जाने हुँदा जीवन सफल भएको मानिन्छ।
थोरै व्यक्तिमात्र त्यस्ता छन् जो बेलैमा आफूलाई परमेश्वरतर्फ समर्पण गरी यस भौतिक संसारको रमझमदेखि आफ्नो मन र मष्तिष्कलाई अलग राखी सारा आफ्ना इच्छा र आकांक्षा प्रभु पदमा नै समर्पण गरी आनन्दमा रहेका थिए र अझैपनि छन्।
भनिन्छ संघर्षशील जीवन बिताउने मानिसलाई मन्दिर, चर्च, गुरुद्वारा र मस्जिद काहीं पनि जानु पर्दैन र धर्मात्मा पनि बन्नु पर्दैन। खाली आफ्नो दिनानुदिनको एक छिनको मन शान्त पार्न ईश्वरभक्त बन्नु, मन्दिर जानु र पूजा गर्नु त्यो अर्कै पक्ष हो।
समुद्र पुरेर महल बनाउने, पहाड भत्काई पोखरी बनाउने, जंगल फाँडेर बस्ती बसाल्ने, जस्ता बिभिन्न अप्राकृतिक काम गर्ने प्रकृति बिरोधीलाई दुःख पिर नभए अरु के नै हुने हो त? सही व्यक्ति त त्यो हो जो प्रकृतिको नियमानुसार आफूले आफैंलाई चलाउने गर्दछ।
कुनै इच्छा र आकांक्षा नराखी सधैं भगवानको स्मरण गरी आफ्नो देह त्याग गर्दछ भने त्यस्ता व्यक्ति बाहिरबाट भन्दा भित्रबाट बलवान हुन्छन् र सिद्धसमेत हुन्छन्। यस्तो धर्मात्मा बन्न मानिस पहिले फूलजस्तो हलुको बन्नु अति आवश्यक छ र फूलजस्तो बनी पुतली सरह आकासमा आनन्दसँग उडी आनन्द लिने स्वाभावको हुनुपर्छ।
वास्तवमा भन्ने हो भने यो जगतको सार्भभौम सत्ता भनेकै एक अदृश्य शक्ति हो जसले यो सारा ब्रम्हाण्ड आफ्नो अधिनमा राखी प्रकृतिको नियमानुसार संचालन गराइरहने त्यो सत्ताधारीप्रति आफ्नो सारा जीवन समर्पण गर्नुलाई नै समर्पण भाव, क्रिया, कर्म र आध्यात्मिक सोच र चिन्तन भनिन्छ।
यसैबाट नै परमात्माको प्राप्ति पनि हुन्छ। जीवन जिउने कला पनि यो अनमोलको छ। यसको आफ्नै बेग्लै किसिमको मिठास र आनन्द छ। आध्यात्म चिन्तनवादी मानिसहरु यही विषयलाई आत्मसात् गरी जीवन जीउने कलालाई उत्सर्गमा पुर्याएको हामी अनगिन्ति प्रमाण पाउँछौं।
भारतका सन्त साइबाबा, रामकृष्ण परमहंस, नीम करोली बाबा, लाहेरी बाबा, महायोगी बाबा, स्वामी विवेकानन्द सन्त कबिर, प्रभुपाद, गुरु नानक, मिराबायी, महायोगी बाबा नेपालका शिवानन्द बाबा, योगी नरहरि नाथ, खप्तड बाबा, पाइलट बाबा, शंकराचार्य, रुसका मडेम ब्लाब्भाटसकी, बेलायतका लिडबिटर, एन्नी बेसेंट जसले भारतका जिद्दु कृष्णमुर्तीलाई विश्वकै महान चिन्तक बनाए।
यस्तै सन्त युरोपमा पनि सेन्ट एन्थोनी अफ पदुआ, सेन्ट गेमम गलानी र सेन्ट लिओ द ग्रेट जन्मिएका थिए। यी महान योगीले संघर्षशील जीवनलाई एक अचेतन क्रियाकलाप र सयौं टनको धन सम्पत्तिको भारी बोकाइ र सयौं टनको दुःख पीडा बोकाउने एउटा अदूरदर्शी जीवन जीउने कला भनी भन्दछन् जुन सबै छोडी एकदिन जानै पर्दछ।
फेरि यसमा कुनै कमी हुन गएमा, अभाव हुन गएमा, मनमा रिस, राग, घमण्ड र नचाहिँदा नकारात्मक कुरा ब्युँतिन गइ जीवनलाइ नै “किम कर्तब्य बिमुढ़” बनाउने काम गर्दछ। प्रकृतिदेखि बिमुख हुने कुनै पनि प्राणी र संरचनाहरु अन्तमा दुख पाउने र नाश हुने नै हो। संघर्षशिल जीवन बिताउने कलामा मानिसहरुले सुखभोग त गर्लान् तर तत्क्षण त्यो तृप्त भई अर्को कुरा खोजी हाल्छ।
यही हो अतृप्त आत्माको क्षणभंगुर सुख भनौं वा आनन्द। शरीर भित्रको तन्तु नियन्त्रणमा नरहेपछि यस्तै खोजीरहने हो र आफूलाई दुख दिइरहने हो। यसमा ठूला ठूला ज्ञान भएका मानिस पनि वाद विवाद गर्नमा मस्त हुन्छन्।
उन्माद बढ्ने, पढाइको, धनको, आफ्नो बैभवको, छोरा, नातिको उन्नतिको शेखी गर्ने आदि काममा लिप्त हुन्छन् जसबाट मानिस काम, क्रोध, लोभ, मोह र मात्सर्यको धापमा नराम्ररी फस्न पुग्छन्। तसर्थ खास जीवन जीउने कलालाई समात्ने हो भने पहिले आफूलाई चिन्न र बुझ्न सक्नु पर्दछ।
हरेक कुराको ज्ञान आर्जन एकाग्र भई अरुलाई चिन्न सक्ने खुबी हुनु अतिनै जरुरी छ। सारा खुसी, पीर, दुःख, चिन्ता, भोग विलास, माात्सर्यका रहस्यहरु आफैं भित्र छ। यसलाई आफ्नो चेतनले कसलाई दबाउने, कसलाई प्रकासमा ल्याउने यो आफ्नै हातको कुरा हो। यही हो जीवन जीउने कलाको मार्ग पहिल्याउने एक अर्को माध्यम वा मार्ग।
मुल कुरा यो धर्तीमा आएपछि हरेक मानिसले सर्वप्रथम ‘म को हुँ, कहाँबाट आएँ, किन आएँ र अन्त्यमा म फेरि कहाँ जान्छु’ भन्ने सोच्न, बुझ्न र मनन् गर्न सक्यो भने उसको जीवन जीउने कला आफैं परिणाम मुखी बन्दै जान्छ र मानिस बिस्तारै आत्मपरक बन्दै अन्त्यमा परमात्माको समिप दास बनी बस्ने सुअवसर प्राप्त हुन्छ।
अनि मानिसलाई अध्याँरोबाट उज्यालोतर्फ जाने मार्ग प्रशस्त हुन्छ। त्यसै कारण त गीता, बाइबल, कुरान, गुरुग्रन्थ र एक जमानाका ग्रीक महान दार्शनिक सुकरात, प्लेटो र अरिस्टोटल भन्ने गर्थे कि सबैभन्दा पहिले “स्वयम् आफूलाई चिन्ने गर”।
सबै कुरा आफैं थाहा पाउँदै जाँदा आफू बिस्तारै अन्धकारबाट उज्यालो तिर अगाडि बढेको अनुभव हुन्छ। जति बुझ्यो त्यति आनन्द र प्रश्नविहीन भइन्छ र सबैलाई आफू जस्तै देखिन्छ र आफू सबैबाट एकमा आइन्छ अनि सम्पूर्णमा प्रश्न र उत्तर दुवै विहीन भइ जीवन जिउने कलालाई आफैंमा समाहित गर्ने हो भन्ने कुराको बोध हुने हुँदा त्यो झनै अविश्मरणीय बन्न जाने हुँदा जीवन सफल भएको मानिन्छ।
Facebook Comment