हालैको दिल्ली भ्रमण (भाग १)

कपिल लोहनी
२० फागुन २०७९ ७:४५

गत डिसेम्बर २०२२ मा भारतको राजधानी नयाँ दिल्ली घुम्ने अवसर मिल्यो। सन् २०१५ को डिसेम्बरमा हङकङ भ्रमण गर्दा नेपाल वायुसेवाको नयाँ एयरबस ए ३२० मा यात्रा गरेपश्चात यसपाली धेरै वर्षको अन्तराल पछि पुनः नेपाल वायुसेवाकै जहाजमा यात्रा गर्ने विचार गरेको थिएँ।

यस बिचमा धेरै पटक विभिन्न मुलुकको भ्रमण गर्दा भने अन्य अन्तर्राष्ट्रिय वायुसेवाहरूमा यात्रा गरेको थिएँ। दिल्ली प्रस्थान गर्नु भन्दा एकाध दिन पहिले नेपाल राष्ट्र बैंकबाट भारु १०,००० साटेको थिएँ।  खर्चै गर्न माया लाग्ने सय सयका नयाँ नोटका साथै आफ्ना खाता भएका दुई बैंकका डेविट कार्ड पनि तयार थिए।

अघिल्लो दिन बेलुकी बसेर एक हप्तालाई आवश्यक लत्ता कपडा, औषधि, आफन्तलाई बाँड्ने उपहार तथा मेरो नयाँ पुस्तकका केहीप्रति सुटकेसमा हालेँ।

विभिन्न पत्रपत्रिका तथा छापाबाट काटेर पढ्नको लागि राखेका केही लेख तथा समाचारहरू, पत्रिका र केही हल्का पुस्तक पनि त्यहाँ बिहानको समयमा पढ्नको निम्ति ल्यापटप ब्यागमा राखेँ। ल्यापटप कम्प्युटर, दुई जोडा पढ्ने चश्मा, कापी, कलम, भिजिटिङ कार्ड आदि पनि ब्यागमा राखेँ।

हवाई टिकट र पासपोर्ट पनि। अब म यात्राको निम्ति पुरै तयार। छोराछोरीले मुल ढोकामा घडा राखेर हाम्रो परम्परा मुताविक बिदा गरे। लब्बी कोठामा अखण्ड द्विप बलिरहेको टेबलमा अवस्थित फोटाहरूबाट आमा, बुवा र पत्नीले टुलुटुलु हेरिरहेका।

मैले पनि पूजाकोठामा गएर शिर झुकाएर दर्शन गर्नुका साथै फोटोबाट हेरिरहेका उनीहरू सबैसँग मनमनै बिदा मागेर घडामा सिक्का चढाई छोराछोरीहरूसँग बिदा हुँदै यात्राको निम्ति हिँडेँ। उमेर बढ्दै गएपछि परिवारबाट केही दिनको निम्ति टाढा हुँदा पनि एक प्रकारको भय हुनुका साथै मन खिन्न हुँदो रहेछ।

यसपाली म मेरी धर्मपुत्री चाँदनीसँग दिल्ली जाँदै थिएँ। उसैको अपार्टमेन्टमा उ र उसका पतिका साथ बस्न र घुम्न। मेरै एकजना साथिकी छोरी उ आफ्ना बाबुआमा विदेशमा छँदा बालककाल र यौवनावस्थामा हाम्री छोरी समान भएर करिव १५ वर्ष हामीसँग बसेकी थिई।

निक्कै जेहेन्दार, चलाख, फुर्तिली र मेहनती यो छोरीले करिव १ दशक अघि थाइल्याण्डको एक प्रतिष्ठित शिक्षण संस्थाबाट मुहारसम्बन्धि सौन्दर्य प्रशाधनमा ग्राजुएशन गरेर सोही संस्थाको दिल्लीस्थित शाखामा काम पनि पाएकी थिइ।

त्यतै बसिरहेका विद्यालयदेखिका एकजना नेपाली साथीसँग उसको भेट भएर उनीहरू विवाह बन्धनमा बाँधिएका हुन्। उनका पति पनि निक्कै जेहेन्दार विद्यार्थी भएकाले न्युजिल्याण्ड र भारतको नयाँ दिल्लीबाट दोहोरो स्नातकोत्तर उत्तिर्ण भएर हाल एक बहुराष्ट्रिय कम्पनीमा उच्च पदमा उतै कार्यरत छन्।

सन् १९७१ मा दिल्लीको भ्रमण गर्दा हामीले कुतव मिनार चढेर चारैतिरको दृश्य हेरेका थियौँ। सन् १९८२ को डिसेम्बर ४ तारिखका दिन कुतव मिनार चढेका ४०० जना व्यक्तिहरू बत्ति निभेर अँध्यारो हुँदा भागदौडमा परे भने ती मध्ये ४० जनाको मृत्यु भयो।मर्नेहरूमा धेरैजसो स्कूले विद्यार्थी थिए। त्यसपछि भने कुतव मिनार चढ्न मनाही गरिएको हो।

बिहान परिवारजनसँग बिदावारी भएर छोरीसँग म त्रिभुवन विमानस्थलतर्फ प्रस्थान गरेँ। हाल यो विमानस्थल निक्कै यात्रुमैत्री बनेको रहेछ। सफासुग्घर, विशाल तथा व्यवस्थित। आधा घण्टाको ढिलाई पश्चात हामी विमानतर्फ लगियौँ। एयरबसको ए३२०। ज्यादै आरामदायी यात्रा।

दायाँतर्फको सिट भएकोले तथा मौषम पनि अनुकूल भएकोले हिमाल राम्ररी देख्न पाइयो। करिव डेढ घन्टाको उडान पश्चात दिल्ली पुगियो। दिल्लीको नजिक पुग्दादेखि नै वायु प्रदूषणले गर्दा हुस्सु लागेको जस्तो वातावरण।

यसपालीको भ्रमणसँगै दिल्लीको मेरो यो सायद आठौँ भ्रमण होला। प्रथम पाँच भ्रमणको दौरान हामीले दिल्लीको पालम विमानस्थलको सेवा लिएका थियौँ।

सन् २०१० पश्चात निर्माण सम्पन्न भएर सञ्चालनमा आएको इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलले कैयन् अन्तर्राष्ट्रिय पुरस्कारहरू जितिसकेको छ भने यसको तेश्रो टर्मिनल पनि सञ्चालनमा आएपछि यो विमानस्थल भारतमा नै सबैभन्दा ठूलो विमानस्थल हुन पुगेको छ।

३ वटा धावन मार्ग र विशाल टर्मिनलहरूका साथै धेरै किसिमका विश्वस्तरका प्राविधिक सेवाहरू प्रदान गर्ने यो विमानस्थल निजी क्षेत्र जिएमआर समूहले सञ्चालन गर्दछ।

विमानस्थल सम्बन्धि विश्वकै ५ ठूला कम्पनीमध्येको जिएमआरले भारतमा दिल्ली बाहेकका अन्य ४ वटा विमानस्थलहरूको निर्माण र सञ्चालन गरिरहेको छ भने फिलिपिन्स, इन्डोनेसिया, ग्रीस जस्ता मुलुकमा पनि विमानस्थल सञ्चालन गरिरहेको छ।

भौतिक पूर्वाधार, विमानस्थलको व्यस्तता र आधुनिकताको हिसाबले पनि यो विमानस्थल दक्षिण एशियाको कुनै पनि विमानस्थल भन्दा ठूलो हो। यसपछिको ठूलोमा पाकिस्तानको राजधानी इस्लामाबादमा केही वर्ष पहिले बनेको विमानस्थल पर्छ होला।

सन् १९६० मा बनेको काबुल अन्तर्राष्ट्रिय विमानस्थल पनि अति नै विशाल विमानस्थल हो भने सार्क क्षेत्रमा सबैभन्दा अग्लो उँचाई (१,७९१ मिटर) मा हिन्दूकुश पहाडीश्रृंखलामा अवस्थित यो विमानस्थलको धावनमार्गको लम्बाई ३,५११ मिटर छ। बेला बेलामा रुसी र अमेरिकी सैन्य अखडा रहेको यो विमानस्थलमा हाल नागरिक उड्डयन भने निक्कै न्युन हुन पुगेको छ।

विमानबाट बाहिर निस्केपछि वातानुकुलीत टर्मिनल विल्डिङभित्र ज्यादै लामो दूरी हिँडेर हामी अध्यागमन हलमा पुग्यौँ। हिँड्न गाह्रो हुनेका लागि विश्वका अन्य ठूला अन्तर्राष्ट्रिय विमानस्थलमा जस्तै यहाँ पनि होराइजोन्टल स्केलेटरहरू राखिएका छन्।

तर यति विशाल र धेरै चोटी पुरस्कृत भइसकेको विमानस्थलको अधिकांश अध्यागमन डेस्कहरूमा ज्यादै असक्षम तथा पाका कर्मचारीहरूको दरवन्दी भएकोले त्यहाँबाट उम्कन निक्कै समय लागेको थियो।

कैयन् कर्मचारीहरू त भिडको पर्वाह नै नगरी आफ्ना काउण्टर बन्द गरेर चिया पिउन गएका थिए। एकजना सिक्किमे जस्तो देखिने मङ्गोल ढपकको युवा अध्यागमन कर्मचारीले भने निक्कै छिटो छिटो यात्रुहरूलाई सेवा पुर्‍याइ रहेको थियो।

हामी जति नै आधुनिक बनेर जातीय र उमेरको भेदभाव नगर्ने व्यक्ति भएता पनि कैयन् जाति र उमेर समूह विभिन्न कामहरूमा अरुभन्दा निपुण हुन्छन् भन्ने कुरा नमानी धरै छैन।

आफ्ना ब्यागेज पहिचान गरेर हामी ग्रिन च्यानलबाट बाहिर निस्कियौँ। ज्वाईँ हामीलाई लिन आएका। उनको मोटरगाडीमा बसेर हामी हुईँकियौँ विमानस्थल बाहिर। भोलिपल्ट बिहानदेखि नै प्रातःकालिन हिँडाईमा जानु पर्ने भएकोले एक जोडा हिँड्ने जुत्ता किन्न एउटा ठूलो मलमा पस्यौँ।

आइतबार बिदाको दिन र क्रिस्मस पनि आउन लागेकोले होला अति नै ठूलो भिड। बल्ल तल्ल जुत्ता किनेर हामी उम्कियौँ त्यहाँबाट। छोरीको एकजना फ्रेन्च सखीलाई पनि विमानस्थलसँगैको एउटा होटलबाट टिपेर हामी गुरगाउँ (गुरुग्राम) तिर लाग्यौं।

त्यहाँको एउटा राम्रो रेस्टुरेन्टको कौसीमा बल्ल तल्ल ट्बुल पाइयो। आज विश्वकप फुटबलको फाइनल खेल फ्रान्स र अर्जेन्टिनाको बीच हुने भएकोले सो हेर्न सबै होटेलहरूमा फुटबल प्रेमी युवाहरूको विशाल भिड।

हामी पनि किङ्गफिसर वियर र विभिन्न खाले खानाको मज्जा लिँदै ठूलो स्क्रिनमा फुटबल हेर्न थाल्यौँ। आजसम्म हेरेका सबै विश्वकप फुटबलको फाइनलहरू मध्येको यो सबैभन्दा रोमाञ्चक खेल।

ज्यादै मज्जा आयो। केही युवतीहरू रक्सीको नशाले गर्दा इन्तु न चिन्तु भएर कुर्सीमा लडिरहेका र उनका सखीहरूले कागती, सोडा र अन्य पेय पदार्थ खुवाएर नशा झार्ने प्रयत्न गरीरहेका।

राति त्यहाँबाट निस्किएर छोरीको सखीलाई विमानस्थल नजिकैको होटेलमा छोडेर हामी त्यहाँबाट आफ्नो बासस्थान नोयडातिर लाग्यौँ। हरयाणामा पर्ने गुरुगाउँबाट पूर्वी कुना यानी उत्तर प्रदेशको नोयडा पुग्न झण्डै २ घण्टा लाग्यो।

तर चौडा र उज्याला सडकमा गफिँदै जाँदा समय कटेको पत्तै भएन। नोयडाका सयौँ हाउजिङ कोलोनीहरू मध्येको एउटाको १०औँ तल्लामा रहेछ हाम्रो अपार्टमेन्ट। भित्र गएर केही बेर बैठक कोठामा गफिए पछि आआफ्ना कोठामा सुत्न गयौँ।

दोस्रो दिन हामी बाह्रखम्बा रोडस्थित नेपाली राजदूतावासमा गयौँ। गेटमा तथा भित्र पनि तल्लो तहमा स्थानीय कर्मचारी राखिएको यहाँका अधिकांश कर्मचारी ज्यादै अशिष्ट र असहयोगी किसिमका रहेछन्। लञ्च ब्रेकसम्म भित्र एउटा कोठामा कुर्न लगाएर सबैजना खाना खान गएछन्।

लञ्च खान जान लागेका राजदूत डा. शंकर शर्माको स्वरले उनलाई चिनेर बाहिर निस्केर भेटेँ। केही बेरको भलाकुसारी र पुस्तक हस्तान्तरण पश्चात हामी बिदा भयौँ। धेरै वर्ष पहिले कृष्णबम मल्ल राजदूत छँदा (१९७१) पिताजीसँग भेट्न जाँदा त्यहाँ एउटा आकर्षक दरवार थियो।

हाल सोही ठाउँमा कार्यालय र निवासका घरहरू बनेका रहेछन्। काठमाडौँका भारतीय राजदूत र कर्मचारी नै ज्यादै सकृय भएर होला दिल्लीका हाम्रा राजदूतको खासै कूटनीतिक काम हुँदैन जस्तो लाग्यो। यस्तै कुरा केही समय पहिले पूर्व राजदूत निलाम्बर आचार्यसँगको भेटमा पनि उनले गरेका थिए।

पूर्व राजदूत निलाम्बर आचार्य र डा. शंकर शर्मा अति नै भद्र तथा विद्वान व्यक्तित्व भएकाले त्यहाँस्थित कूटनीतिक सर्कलमा यिनको उपस्थितिले नेपालको मान र प्रतिष्ठा राख्नमा ठूलो मद्दत पुगिरहेको कुरामा कुनै अत्युक्ति छैन।

सरकार सरकार बीचको कुटनीतिमा बाइपास हुने गरेको भएता पनि सक्षम राजदूत दिल्लीमा पुग्नाले त्यहाँ स्थित धेरै मुलुकका कुटनीतिक नियोगहरू जसले दिल्लीबाटै नेपाललाई पनि हेर्छन्, हो उनीहरूसँग असल सम्बन्ध राख्न यस्ता व्यक्तित्वहरूबाट ठूलो मद्दत पुग्दछ।

चाण्क्यपुरीमा अवस्थित युनेस्कोको भवनमा कलेजदेखिका मित्र शैलेन्द्र सिग्देलसँग भेट्न गयौँ। विगत १० वर्षदेखि त्यहाँ उच्च तहमा कार्यरत उनले हाल क्षेत्रीय निर्देशकको भूमिका निभाइरहेका रहेछन्।

कफी गफ तथा फोटो सेसन पश्चात हामी कनटप्लेसको सी र डी व्लक निर रहेको पालिकाबजारको मूख्य द्वारबाट भित्र पस्यौँ। करिव ३ दशक पहिले यसको निर्माण हुँदा त्यो किनमेलको लागि एक निक्कै आकर्षक गन्तब्य हुन पुगेको रहेछ, तर आजकल जहाँतहीँ विशाल मलहरू खुलेकाले यो बजारको आकर्षण घट्दै गएको छ। बरु यसको भित्र भएको भूमिगत पार्किङको भने महत्व बढेको रहेछ।

काठमाडौँको खुला मञ्च र टुँडीखेल मुनि पनि यस्तै बहुतले तर अझ आधुनिक पार्किङ स्थल र माथि साबिककै हरित मैदान निर्माण गर्न सके धेरै राम्रो हुने थियो।

अर्को दिन पनि हामी सिधै कनट प्लेस गयौँ । भारतमा बृटिश शासन छँदा उनीहरूले व्यापारीक केन्द्रको रूपमा विशाल सेतो तीन तले गोलघरको आकारमा ब्लक ब्लक बनाएर निर्माण गरेको यो विशाल बजारको बाहिरी वास्तुकलालाई पहिले कै रूपमा बचाएर राख्ने नीति रहेछ त्यहाँको सरकारको।

पालिकाबजार भने कनटप्लेसको बीचको चौरमा बनेको रहेछ। तर यस्तो पुरातात्विक महत्वको स्थलका केही भागमा टाँसेर नै पेट्रोल पम्प बनाउन दिएको देख्दा भारतीय प्रशासकहरू नेपाली प्रशासकका ठूला दाजुहरू नै रहेछन् जस्तो लाग्यो।

४० वर्ष पहिले काठमाडौँमा भेटेको एकजना महिला साथीसँग कनटप्लेसमा भेट्ने योजना मुताविक उनीसँग भेटेर उपहार आदान प्रदान र भलाकुसारी गर्दा छुट्टै आनन्द आयो।

सन् १९७१ मा मेरा पिताजी राष्ट्रिय योजना आयोगको सदस्यको रूपमा कोलम्बो प्लानको बैठकमा भाग लिन नयाँ दिल्ली जाँदा हाम्री माताजी, दिदी र दाजुको साथमा म ७ वर्षे बालक पनि दिल्ली गएको थिएँ र कनटप्लेसको डी ब्लकमा अवस्थित प्यालेस हाइट्स होटलमा हामी करिव दुई हप्ता बसेका थियौँ।

यसपाली ५२ वर्षपछि त्यही स्थानमा खोज्दा सो होटल अझसम्म पनि जस्ताको तस्तै रहेको देख्दा ज्यादै अचम्म लाग्यो। होटलको निरीक्षण गर्न जाँदा त्यहाँका कर्मचारीहरूसँग कुरा गर्ने मौका पनि मिल्यो। उनिहरू समेत छक्क परे र खुशी पनि भए। यहीँ सेरोफेरोमा बन्द भएको ओडियन सिनेमा तथा नेपाल वायुसेवाको उही पुरानो कार्यालय समेत हेर्‍यौँ।

पलिकाबजारकै छेउमा महात्मा गान्धीको चर्खा संग्रहालयको निर्माण गरिएको रहेछ। सानो जमीनको पनि सदुपयोग गरेर कसरी यस्ता ज्ञानवद्र्धक पार्क र संग्रहालय निर्माण गर्न सकिन्छ भन्ने उदाहरण नै पेश गरेको छ यो चर्खा संग्रहालयले। यसको पारीपट्टि प्रख्यात सरकारी खादी हाउस अझै रहेछ।

खाँडी यानी खद्दरको कपडा पाइने यो पसललाई हाल अझै ठूलो बनाएर यहाँ धेरै किसिमका खद्दरका पहिरनहरू तथा प्राकृतिक औषधी र खाद्य सामग्री उपलब्ध हुने पसलको रूपमा विकास गरिएको रहेछ।

त्यहाँबाट नजिकमा रहेका इन्डिया गेट, राष्ट्रपति भवन, संसद भवन, मन्त्रालयहरू र सचिवालयहरू र प्रान्तीय गभर्नरहरू बस्ने भवनहरू तथा विभिन्न मुलुकका राजदूतावासहरू भएका इलाका घुम्न हामीले तिनपाङ्ग्रे अटो रिक्सा भाँडामा लियौँ।

अधिकांश सरकारी कार्यालयहरू वेलायती राजका बेलाका वा सोही वास्तुकलासँग मिल्दा जुल्दा नै रहेछन्। चाखलाग्दो कुरा के पनि रहेछ भने अधिकांश प्रान्तीय गभर्नरका निवासका केही भागमा सो प्रान्तका विशेष खानाहरू पाइने सार्वजनिक चमेना घर पनि हुँदा रहेछन्।

तर हामीलाई त्यस्ता ठाउँमा गएर खाने समयनै मिलेन। यही क्षेत्रमा विभिन्न प्रकारका राष्ट्रिय संग्रहालयहरू पनि रहेछन्। यो सबको अवलोकन गर्न त दिल्लीमा दुई हप्ता बसे पनि कमै हुन्छ।

भारतको राजधानी दिल्लीको प्रमुख क्षेत्रमा रहेका कोलोनी तथा सडकहरूको नाम त्यहाँका महान हस्तीहरूको नामबाट राखिएको हुँदो रहेछ।

ऐतिहासिक हस्तीहरू जस्तै अशोक, बाबर, अकबर, शाहजहाँ, शेर शाह, जहाङ्गीर, औरङ्गजेव, पृथ्वीराज चौहान, छत्रपति शिवाजी, तानसेन आदि देखि लिएर पछिल्ला हस्तीहरू महात्मा गान्धी, नेताजी सुवासचन्द्र बोस, मोतीलाल नेहरु, लाला लाजपत राय, डा. जाकिर हुसेन, स्वामी विवेकानन्द, जवाहरलाल नेहरु, रविन्द्रनाथ टैगोर, अम्बेडकर, सरदार बल्लभ भाई पटेल, सरोजिनी नाइडु, इन्दिरा गान्धी, राजिव गान्धी, एपीजे अब्दुल कलाम, सञ्जय गान्धी आदिको नाममा पनि सडकहरूको नामाङ्कन गरिएको छ।

भारतका मात्र होइन विश्वकै महान हस्तीहरू जस्तै लियो टल्स्टोई, कोपर्निकस, जोसेप ब्रज टिटो, हो ची मिन्ह, नेलसन मन्डेला, मदर टेरेसा आदिको नामका सडकहरू पनि भेटिए।

इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलबाट केही पुर्व र दिल्लीको मुख्य केन्द्रबाट दक्षिणमा रहेको मेह्रौली क्षेत्रमा अवस्थित कुतुब मिनार विश्व सम्पदा सूचीमा सुचिकृत छ।

दिल्लीकै सबैभन्दा पुरानो किल्लाभित्रको शहर लालकोटमा रहेको यो ऐतिहासिक स्तम्भ पनि हेरिहालौँ भनेर हामी त्यतातिर हुईँकियौँ। तोमर राजपुतहरू द्वारा निर्माण गरिएको लालकोट शहरको भग्नावशेष भएको ठाउँमा दिल्ली सल्तनतका प्रथम सम्राट कुतुबुद्धिन ऐवकद्वारा सन् ११९२ ताका निर्माण शुरु गरिएको कुव्वतुल इस्लाम मस्जिदसँगै कुतुब मिनारको पनि निर्माण गरिएको थियो। यो क्षेत्रमा मठ, मन्दिर तथा विभिन्न स्मारकका धेरै भग्नावशेषहरू पनि छरिएर रहेका छन्।

भग्नावशेषका भित्ताहरूमा पत्थरमा नै कुँदिएका खासगरी इस्लामिक कलाकृति र उर्दू वा अरवीक अक्षरहरू पंक्तिवद्ध देख्न सकिन्छ। स्वयम् कुतव मिनारमा नै गोलो तथा वर्गाकार चुच्चा कलात्मक पिलारहरू जोडेर बनाइएको जस्तो र प्रत्येक वार्दलीमा पत्थरका कलात्मक बारहरू राखिएको देख्न सकिन्छ ।

पत्थरलाई ताछी ताछी बनाइएका यस्ता विशाल कलात्मक आकृतिहरू त्यतिबेला अफगानिस्तान, तक्षशिला, लाहोर र दिल्लीसम्म नै भेटिनाले यो क्षेत्रमा हिन्दू, वौद्ध र मुसलमान शासकले राज्य गरेका भएता पनि त्यो एकै जस्तो समयका त्यस भेगका कालिगढहरू भने धर्मबाट भन्दा पनि आफ्ना कलाकौशलबाट प्रभावित भएर ख्यातीका भागिदार भएको देखिन्छ।

कुतव मिनार क्षेत्रको यो सब पुरानो संरचना सुहाउँदो नयाँ हरित बगैँचाको निर्माण भारतीय सरकारले गरिदिएकोले अवलोकनकर्ताहरूलाई एकछिन भएपनि विश्राम गर्ने ठाउँ यस्ता हरित क्षेत्रले पु¥याएका छन्। रातिको समयमा बत्तिले सजाउँदा यो पुरै क्षेत्रको चमकले मन ज्यादै प्रफुल्लित हुँदो रहेछ।

यसको निर्माण सन् ११९९ देखि १२२० भित्र भएको अनुमान छ। दिल्लीको ७२.५ मिटर अग्लो कुतव मिनार र यो भन्दा १० वर्ष पहिले सन् ११९० मा अफगानिस्तानमा निर्माण भएको ६२ मिटरको जाम मिनारको वास्तुकला एकापसमा धेरै मिल्न खोज्छन्।

काठमाडौँको धरहराको उचाई ७२ मिटरको छ। हालको धरहराकै उँचाई जत्तिको कुतव मिनारमा ५ वटा अवलोकन कक्षहरू वा हाम्रो शब्दमा बार्दलीहरू बनाइएका छन्। कुतव मिनारको छेउमा नै अर्को मिनारको पनि भग्नावशेष देख्न सकिन्छ।

सायद त्यो मिनारको निर्माण अधुरो भयो होला। हाम्रै धरहराको छेउमा पनि अर्को धरहरा निर्माण गरिएको तर त्यो निर्माणाधीन हुँदा नै भत्किएको पनि कथन छ। कुतव मिनारका वास्तुविद्हरू मुसलमान भएता पनि यसको वास्तविक निर्माण हिन्दू कालिगडहरूले गरेका थिए।

सन् १९७१ मा दिल्लीको भ्रमण गर्दा हामीले कुतव मिनार चढेर चारैतिरको दृश्य हेरेका थियौँ। सन् १९८२ को डिसेम्बर ४ तारिखका दिन कुतव मिनार चढेका ४०० जना व्यक्तिहरू बत्ति निभेर अँध्यारो हुँदा भागदौडमा परे भने ती मध्ये ४० जनाको मृत्यु भयो।

मर्नेहरूमा धेरैजसो स्कूले विद्यार्थी थिए। त्यसपछि भने कुतव मिनार चढ्न मनाही गरिएको हो। दिल्लीमा भएका जति पनि ऐतिहासिक स्मारकहरू छन्, तिनमा रातो र सेतो पत्थरको प्रयोग सर्वाधिक गरिएको हुन्छ । वास्तवमा दिल्ली क्षेत्रको भौगर्भिक वनोट नै कडा पत्थरले गर्दा भूकम्प निरोधक तथा भूमिगत मेट्रो रेलहरूको लागि उपयोगी खालको छ।

दिनभरीको घुमघाम, हिँडाई र गाडीको सफरबाट थकित शरीरलाई घरमा ल्याएर बिसाए पछि घरैमा पकाएको तातो खाना र एकाध व्यञ्जन अनलाइन मार्फत मगाएर खाएपछि बल्ल शरीरले उठ्न मान्यो। तर पनि केही बेरको गफ र भोलिको कार्यक्रम तय गरेर हामी सबै आआफ्ना कोठामा पसेर विश्राम लियौँ।

….बाँकी अर्को अङ्कमा ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *