राजापुरका थारु समुदायको होलिका पर्व: नयाँ आगो भित्र्याउने परम्परा (फोटो फिचर)
बर्दिया। फागु पूर्णिमाको साँझ बर्दिया जिल्लाको राजापुरमा डंगौरा थारु समुदायले होलिका दहन पर्व मनाउँछन्। थारु समुदायले यस पर्वमा नयाँ आगो प्रज्वलन गर्ने र प्रत्येक घरपरिवारले नयाँ आगोलाई आ-आफ्नो चुल्होमा स्वागत गर्ने चलन छ।
विगतमा, आगो बनाउन गाह्रो काम थियो। सलाइको काँटी नहुँदा आगो बाल्नका लागि काठका टुक्राहरू घिसाउनुपर्थ्यो। खाना पकाउने चूलोमा आगो दिनहुँको आवश्यकता भएकोले, धेरै समयसम्म एउटै आगो जोगाइराख्न अति आवश्यक थियो।
नेपालका अन्य समुदायहरू जस्तै थारुहरू पनि वर्षमा एकपटक नयाँ आगो बाल्ने र वर्षभरि आगोलाई जोगाउने चलन थियो । त्यस आगोलाई अर्को बर्ष नयाँ आगोले बदलिने चलन थियो।
होलिका दहन पर्व
प्रत्येक वर्ष फागुन शुक्ल पूर्णिमाको साँझ राजापुरको दौलतपुर थारु गाउँका पुरुषहरू नजिकैको खेतमा भेला हुन्छन् । तिनीहरूले भुइँमा परालको ठूलो थुप्रो राख्छन् र सूर्यास्तको प्रतीक्षा गर्छन्। आकाश पूर्णतया अँध्यारो भएपछि, गुरुवा (वा थारु पुजारी) ले पूजा गर्छन्।
घाँसको थुप्रोलाई हिन्दू दानव होलिकाको रूपमा मानेर, गुरुवाले पूजा गर्छन् र छाकी बूँदाका केही थोपा छर्कन्छन् । छाकी बूँदा घरको शुद्ध रक्सी र पानीको मिश्रण हो। पितृको नाममा घरमा बनाएको मदिराको थोपा छर्केमा पुजा शुद्ध हुने थारुहरुको विश्वास छ । त्यसपछि गुरुवाले आगो बालेर घाँसको थुप्रो जलाउँछन्।
परम्परागत प्रविधिलाई प्रतिस्थापन गर्दै ग्यास लाइटरको प्रयोग
विगतमा जस्तो नभई थारु गुरुवाले अहिले किराना पसलबाट खरिद गरेको ग्यास लाइटरले परालको थुप्रो जलाउँछन्। राजापुरका एक स्थानीय गुरुवाले डिसीनेपालसँग कुरा गर्दै भने, ‘पहिले हाम्रा पुर्खाले दाउरा घोटर आगो बाल्ने गर्दथे, उनीहरूसँग अर्को विकल्प थिएन। अहिले हामीसँग लाइटर र सलाईको पहुँच छ। हामीले काठका टुक्राहरूबाट आगो बनाउनु पर्दैन।”
गुरुवा भन्छन्, ‘पहिले हरेक परिवारले वर्षभर एउटै आगोलाई जोगाउने प्रयास गर्थे । त्यसकारण आगो बाल्ने परम्परागत प्रविधिको ठूलो महत्त्व थियो… आधुनिक घरहरूमा स्टोभ दिनहुँ धेरै पटक बाल्ने र निभाउने गरिन्छ … हामी समयसँगै अघि बढ्नुपर्छ। हाम्रा पुर्खाहरूको संस्कृतिलाई सम्मान गर्न, हामी पहिले प्रयोग भएका लाइटर प्रयोग गर्दैनौं। होलिका जलाउन हामी नयाँ लाइटर खरीद गर्छौं, जुन हामीले शुद्ध मान्दछौं।’
घर भित्र नयाँ आगो भित्राउने चलन
गुरुवाले आगो बाल्ने बित्तिकै घर-घरका युवा केटाहरू सुकेको गोबरको गुइँठो बोकेर खेतमा आइपुग्छन्। कतिपय केटाहरूले गुइँठोलाई स्टीलको बाल्टिनमा बोक्छन् भने अरूले लामो काठको लट्ठीले बोक्छन्। केटाहरू जलिरहेको परालको थुप्रोमा गुइँठो बाल्छन् र नयाँ आगो आफ्नो घरमा लैजान्छन्।
बालबालिका बाहेक महिला सदस्यहरु होलिका जलाउने मैदानमा जान हुदैन भन्ने मान्यता छ। गृहिणीहरू नयाँ आगोको पर्खाइमा भान्सामा बस्छन्। जब छोराहरु जलिरहेको गोबर केक लिएर आइपुग्छन्, नयाँ आगोलाई भान्साको चूल्हामा सारिन्छ। घरको पवित्र कुनामा नयाँ आगोबाट बालिएको तेलको दियो राखिन्छ । परम्परागत संस्कृति अनुसार चूल्हामा बालिएको नयाँ आगो एक वर्षसम्म जोगाउनुपर्छ, अर्थात अर्को होलिका पर्वसम्म निभाउनु हुँदैन ।
भोलि-रंगहरुको पर्व होली
भोलिपल्ट बिहान हरेक घरका महिलाहरू त्यही मैदानमा भेला हुन्छन् जहाँ होलिकालाई जलाइएको थियो। उनीहरूले एकअर्काको अनुहार र हातमा अबिर लगाएर होलिका चाडको अर्को भागको सुरुवात गर्छन्।
प्रत्येक महिलाले आफ्नो हातमा बहर्नी (झाडू) र पानीको भाँडो बोकेका हुन्छन तिनीहरूले होलिका जलेको खरानीको वरिपरि ठूलो घेरा बनाउँछन्, र परम्परागत नृत्य गर्छन्। नाचमा बहर्नीलाई भाँडोमा डुबाउने र खरानीमा पानी छर्कने गरिन्छ। खरानीबाट तातो हटाएर आगोलाई पूर्णतया निभाउन यो नाच गरिन्छ।
आगो निभाउने नृत्य पछि, महिलाहरूको ठूलो जमघट गाउँको मन्दिरमा पुग्छ। त्यसपछि गाउँ-गाउँ घुम्छन्। त्यसपछि छिमेकीहरू विशेष भोजको लागि भेला हुन्छन्। रंग र भोजहरू सहितको उत्सव दिनभर जारी रहन्छ।
सबै तस्वीर : सिमाेन पाैडेल/ डिसी नेपाल
Facebook Comment