दूरदृष्टिविहीन चार नेता र नेपालको राजनीति

शंकरप्रसाद रिजाल
२४ फागुन २०७९ १२:१९

माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड विरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता भएपछि नेपालको राजनीतिक तरंगित बनेको छ भने माओवादी धारमा खैलाबैला मच्चिएको छ। द्वन्द्वकालमा भएका व्यक्ति हत्याको विषय अदालत प्रवेश गरेपछि बहालवाला प्रधानमन्त्री त्रतिस बन्नु पर्ने अवस्था आइपुगेको हो।

नेपालको राजनीतिमा चतुर नेताको छवि बनाएका प्रचण्डले २०५२ सालदेखि भारतमा बसेर नेपालमा हत्या हिंसाको राजनीति गर्दै आएका थिए। शान्ति प्रक्रियामा आउनु पूर्व प्रचण्डलगायत माओवादी शीर्ष नेता धेरैजसो समय भारतमै बस्दै आएका थिए।

आफ्नो स्वार्थ पूरा गर्न कहिले उग्र राष्ट्रवादी देखिने, कहिले नीति र सिद्धान्त नमिल्ने दल र समूहसँग गठबन्धन गर्ने, कहिले कांग्रेसको बुई चढ्ने त कहिले एमालेसँग मिल्दै सत्ताको चाबी आफ्नो हातमा राख्न सफल प्रचण्ड यतिबेला संकटमा परेका छन्।

नेपाली कांग्रेससँग चुनावी गठबन्धन गरेर एमालेको सहयोगमा प्रधनमन्त्री बनेका प्रचण्ड फेरि कसैको इशारामा कांग्रेससँग मिलेर आफ्नो सत्ता लम्ब्याउने दाउमा छन्।
निर्वाचनमा तेस्रो शक्ति भएपनि कसैको इशारमा डाडु पन्यू आफ्नो हातमा लिन सफल प्रचण्ड ठूला पार्टी कांग्रेस एमालेलाई पछि पार्दै सधैं राजनीतिमा रजगज जमाइ शासन गर्ने शक्ति यिनको पार्टीको नभइ विदेशी हो भन्न अब गाह्रो मान्नु पर्दैन।

नेपालको सत्तामा पुग्न विदेशीलाई खुशी पार्नुपर्छ भन्ने उदाहरण प्रचण्डले पेश गरेका छन्। देशमा करिव १६ वर्षदेखि विदेशीलाई खुशी बनाएर सत्तामा पुग्ने प्रचलन झागिँदै गएको छ।

विदेशीलाई खुशी पारेर सत्तामा पुग्ने संस्कृतिले देशको विकास त परै जाओस्, मुलुकमा राजनीतिक अस्थिरता बढ्दै गएको छ र मुलुक अब असफल राष्ट्र बन्ने दिशामा अगाडि बढ्दै गएको छ।

२०६२/६३ को राजनीतिक परिवर्तनपछि देशमा सधैं राजनीतिको केन्द्रमा हालीमुहाली गर्दै कांग्रेस, एमालेका पुराना नेतालाई पनि कठपुतली बनाई नेपालको राजनीतिमा सधैं टिकिरहनु यो प्रचण्डको दिमागको चालबाट पटक्क हुने कुरा होइन।

२०६२/६३ मा शान्ति सम्झौता भएपछिका उनका राजनैतिक क्रियाकलाप, राजनैतिक सिद्धान्त र आदर्श अनुरुप नभई सिद्धान्त बिहीन राजनीतिका नाइके बनेर आएका प्रचण्डको राजनीति देश बिकास गर्ने पक्षमा नभई आफू र आफ्ना आसेपासे, नाता कुटुम्बलाई मात्र पक्षपोषण गर्दै उनीहरुलाई बिस्तारै आफूजस्तै वैभवशाली बनाउने नीति हो।

अर्को एमालेका प्रभावशाली नेता जो निषेधको राजनीति गरी आजसम्म राजनीतिको पर्दा उघारी आएका केपी शर्मा ओली हुन्। सधैं आफूलाई अब्बल सम्झने र ठट्यौलो पारामै नेपालको राजनीतिलाई हेर्ने अनि  सत्ताको लागि आफूले जाने पनि नजाने पनि झगडा गरेर बिछोड भइसकेका प्रचण्ड जस्ता अर्काको बुई चढीचढी हिँड्ने नेताको पहिचान नै नगरी त्यत्रो आफूले ७८ मत ल्याएर जनताको मत जितेका नेताले फेरि ३२ सिटमात्र प्राप्त गरेको प्रचण्डको माओवादी पार्टीसँग गठबन्धन गरी प्रधानमन्त्री उनैलाई सुम्पिएर पछि आफू प्रधानमन्त्री बन्ने ओलीको दाउले आज देशको राजनीति आज कहाँबाट कहाँ पुग्यो।

के त्यो छल हुन्छ भन्ने उनलाई थाहा थिएन र? किनकि कैयौं पटक उनले प्रचण्डवाट धोका छल र कपट पाइसकेका छन्। यस्तो भइकन पनि राजनीतिमा माहिर मानिएका केपी ओली किन प्रचण्डको पछाडि लाग्छन्? तसर्थ उनको राजनीति अब्बल दर्जाको नभई आदर्श बिहीन देखिन्छ।

केपी ओली नेपालको राजनीतिमा खासै दखल अन्दाज भएका नेता होइनन्। उनको सुरुको राजनीतिक जीवन झापा आन्दोलनबाट सुरु भएको हो। झापा आन्दोलनमा भएको व्यक्ति हत्यालाई लिएर तात्कालीन सरकाले उनलाई १४ वर्षको जेल सजाय सुनाएको थियो।

अल्पज्ञान र मनगढन्ते पारामा देशमा नेताको रुप लिइरहनु, राजनीतिमा अनेक छक्कापन्जा गरी पटक पटक प्रधानमन्त्री भइ रहनु कुनै ठुलो कुरा होइन। ठुलो कुरा त उनको पालामा देशले कति बिकास गर्यो, देशको परराष्ट्र नीति कुन उचाइमा पुग्यो, देसमा आर्थिक उन्नति कति भयो भन्ने मात्र हो।

देशको सुशाशन कति भयो, न्यायनिसाफ कत्तिको भयो र जनताले के के राहत पाए भन्ने मूल कुरा हो। तर अफसोच जनताले केही पाएनन् फगत उनको ठट्टा, उनको बेमतलबको राजनीतिक गर्जन र देशलाई सुख शान्ति र समृद्धितिर लैजाने फोश्रा कुरा।

प्रधानमन्त्री भएका बेला उनले जनतालाई डेलिभरी दिने काम केही गर्न सकेनन्। आफ्ना कार्यकर्तालाई आफू जस्तै झोले नेता बनाउने काम बाहेक। हजारौं मानिसहरुले भ्रष्टाचार, अन्याय, अत्याचार गर्दा पनि मुकदर्शक भएर हिँड्ने प्रधानमन्त्री नेपाली जनताले खोजेको होइन।

हजारौँ युवायुवती आय आर्जनका लागि बिदेसिन बाध्य हुनु पर्ने र दही चिउरा बाँडे जस्तो पासपोर्ट बाड्ने प्रधानमन्त्री हामीले खोजेको होइन। उनको पालामा देशमा कसले कति रोजगार पाए, कति उद्योग कलकारखाना खोलिए, कति राष्ट्रका राष्ट्राध्यक्षहरुको भ्रमण नेपालमा भयो, त्यो महत्वपुर्ण कुरा हो।

राजनीतिलाई कमण्डलु बनाएर भिख माग्दै हिँड्ने राजनीति यो देशले खोजेको होइन। हामीले खोजेको लि कुआन यु जस्ता नेता खोजेको हो जसले बेजानको सिंगापुरलाई ज्यान दिएर संसारको आगाडि धाक देखाउन सफल भए। तर केपी ओलीबाट राजनीति निर्माणमा नभई खाली छलकपट, इश्र्या, रिस, घमण्ड, जोश र ठट्टा बट्टाको राजनीतिमात्र हुन गयो।

त्यस्तै नेपालको राजनीतिमा गिरिजाप्रसाद कोइरालापछि उदाएका कांग्रेस नेता शेरबहादुर देउवा हुन्, जो नेपाली कांग्रेसको धेरै वर्ष अगाडिदेखि राजनीतिमा रजगज जमाएका व्यक्ति हुन्। भनिन्छ उनी बेलायतको शिक्षा बोकी नेपाल आएका थिए।

तर उनको राजनीतिक शैली हेर्ने हो भने उनको सम्पूर्ण राजनीतिक जीबन हाँसो लाग्दो छ। नेपालको राजनीतिमा एक होइन, दुई होइन, तीन होइन, पाँच पटकसम्म प्रधानमन्त्री बनेका व्यक्तिले देशको राष्ट्रिय हितका के काम गरे भन्दा एउटा पनि देखाउन लायकको छैन र खाली आफ्नो स्वार्थ पूर्तिका लागि कहिले एमालेसँग, कहिले माओबादी पार्टीसँग गला मिलाई सार न तत्वको राजनीति गर्ने सत्ताभोगी नेता हुन्।

उनी अमेरिकाको राजनीतिमा चुर्लुम्ब डुबेका छन् तर नेपालको राजनीतिमा उनी शून्य गतिमा छन्। उनको राजनीतिको खासै तात्विक परिणाम नेपालको राजनीतिमा कहिले देखा परेन। उनी शुद्ध कांग्रेस पटक्कै होइनन्।

किनकि माओवादी नेताको टाउको माग गर्ने नेता आज उनै माओवादीको काखमा लुटूपुटु गरी सारा आफ्ना पार्टीका नेता कार्यकर्तालाई माओबादी बिचारधाराको जल छर्किइ त्यत्रो चुनावको बेला पनि आफ्ना सारा कार्यकर्तालाई माओवादी बनाई माओवादीको हसिँया हथौडामा मत खसाल्न लगाउने शेरबहादुर देउवाको राजनीतिलाई के राजनीति मान्न सकिन्छ र? उनको राजनीति पश्चिमको हातमा र प्रधानमन्त्रीको पद चाहीँ ज्योतिषको हातमा रहेको छ।

पाँच पटकसम्म प्रधानमन्त्री भएका शेरबहादुर देउवाको राजनीति पुरै अमेरिकाको निर्देशन अनुसार चलेको देखिन्छ। किनकि उनी राजनीतिका माहिर खेलाडी पक्कै होइनन्। कसैको सहारामा राजनीति गर्ने नेताहरुको चाल गति र छक्कापन्जाको राजनीति कांग्रेस भइ माओवादी जस्तो उग्र विचारधारा बोकेका नेताहरुसँग काँधमा काँध मिलाई आज्सम्मपनि राजनीति गरी जनता झुक्याई रहनु के राजनीतिको बिषय बस्तु हो र?

समष्टिगत रुपमा उनमा सही राजनीति गर्ने र देशलाई सही बिकासको गतिमा लैजाने खुबी पटक्क छैन। यस्ता कर्मले हैन भाग्य र ज्योतिषको आशीर्वाद अनुसार प्रधानमन्त्री भइ पारिवारिक एश आराममा मग्न भई हिड्ने र पार्टीको राजनीतिमा पनि कुनै उल्लेखनीय योगदान पुर्याउन नसक्ने र तीसौं बर्ष सम्म पनि एकनासको टिठ लाग्दो राजनीति गरी हिँड्नेको राजनीतिलाई कसले राम्रो भन्न सक्छ?

पाँचपटक प्रधानमन्त्री बने तापनि देशमा एउटा पनि खाइलाग्दो सुधार गर्न नसक्ने, उल्टो माओवादीले ध्वस्तपारी बचेका केही उद्योग कलकारखाना पनि कौडीको मुल्यमा बेची बन्द गरी देशलाई उद्योग बिहीन बनाइ देशका होनहार युवायुवतीलाई विदेश धकेलिइ आफू सधैं रजगजको जीवन बिताई बस्ने व्यक्तिलाई सफल र जानकार राजनीतिज्ञ भन्न सक्दैनौं।

नेपालको राजनीतिका अर्का आलोकाँचा नेता माधवकुमार नेपाल हुन्, जो भित्रभित्रै आफू जन्मेको पार्टीलाई धारासाही बनाइ छुट्टै राजनीतिको चुल्ठो समाती पार्टीभित्र सधैं हाबी भइ देशलाई सधैं एकै अवस्थामा राखी छोड्ने राजनीतिका छक्कापन्जाका खेलाडी हुन्।

थोरै राजनीतिको ज्ञान भएका तर त्यही ज्ञान भित्र बीसौं बर्षसम्म फन्को मारी विभिन्न जालसाजीको राजनीति गरी आफुलाई अब्बल दर्जाको राजनीतिज्ञ सम्झने नेता हुन्।

एउटा सानो रिसमा पार्टीनै छोडी २०/२२ जनाको जत्था बनाई एमालेकै विचारधाराको हुबहु पार्टी खोली जनता हँसाउने र फेरि पाए राष्ट्रपति बन्ने धुनमा लाग्ने नपाए फेरि कांग्रेसका राष्ट्रपतिको उम्मेदवारीलाई समर्थन गर्ने र गोलमटोलको राजनीतिमा सधैं भ्यागुताको शैलीमा हिँडेर बुढो र पाको भइ जग हँसाइ गर्ने एक राजनीतिक व्यक्ति हुन्। छलछाम कै क्रममा चुनावमा हारेपनि प्रधानमन्त्री बन्न पुगेका र बनाइएका व्यक्तिको राजनीति कस्तो होला भन्ने सहजै अनुमान गर्न सकिन्छ।

यसरी गतिहीन राजनीति गर्दै आफूलाई भुरे वैभव बनाउने उनको राजनीतिलाई कुन दर्जाको गोरखा दक्षिण बाहुको तक्मा भिराउने हो थाहा छैन।

समष्टिगत रुपमा भन्ने हो भने यी दूरदृष्टि विहीन ४ नेताको राजनीतिक यात्राबाट सुरु भएको नेपालको राजनीति उन्नती र बिकास शून्य छ। यी नेताको कार्यकालमा कतै केही विकास भएको देखिँदैन, बरु बिग्रिँदै गएको महशुस हुन्छ।

यी राजनीतिशास्त्र नपढेका नेताहरुले गरेको राजनीति अरु केही होइन, आलोपालो गरी प्रधानमन्त्रीको पद पड्काउने नै हो। चाहे प्रचण्ड, शेरबहादुर, ओली र माधव नेपाल नै किन नहुन्। देशको आम चुनाव जस्तो गरिमामय चुनावमा एक्लै आफ्नो सिद्धान्त अनुसार जनताको मत लिन नसक्ने यस्ता नेताहरुबाट नेपालको बिकास र उन्नती संभव छैन।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *