पपुवा न्यु गिनीमाथि नेपालको जित, सोझै विश्वकप छनोट पुग्ने सम्भावना कायमै
काठमाडौं । आइसीसी विश्वकप लिग २ अन्तर्गत आज भएको खेलमा नेपालले पपुवा न्यु गिनीलाई ५२ रनले पराजित गरेको छ । कीर्तिपुर मैदानमा भएको खेलमा नेपालले पपुवा न्यु गिनीविरुद्ध महत्वपूर्ण जित निकालेको हो । सोझै विश्वकप छनोटमा पुग्न नेपालले यो सिरिजका सबै खेल जित्नुपर्नेछ । नेपालले दिएको २ सय ९८ रनको लक्ष्य पच्छ्याएको पीएनजी ४७.१ ओभरमा २४५ रनको स्कोरमा अलआउट भएको हो ।
टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ४९.१ ओभरमा अलआउट हुँदै २९७ रन बनाएको थियो । यो नेपालको एकदिवसीय इतिहासमै सबैभन्दा ठूलो स्कोर हो । नेपालका लागि ओपनर आसिफ शेखले शतकीय इनिङ खेले । ११० बल खेलेका उनले ११० नै रन बनाए ।
कुशल भुर्तेलले ४५ रन बनाए । भीम सार्कीले ४४ रन, कप्तान रोहित पौडेलले ३० रन, आरिफ शेखले १५ रन, ज्ञानेन्द्र मल्लले ११ रन बनाए । पपुवा न्यूगिनीका लागि सेमो कमियाले पाँच, रिले हेकुरले तीन र अलेइ नावले एक विकेट लिए।
पपुवा न्युगिनीका लागि टोनी उरा र नर्मन भनुवाले अर्धशकत बनाए। उराले ४४ बलमा नौ चौका प्रहार गरे गर्दै ५० रन बनाए भने भनुवाले ५५ बलमा तीन चौका र चार छक्का प्रहार गर्दै ६० रन बनाए। त्यस्तै, कप्तान अशद भालाले ४२, किप्लिन डोरिगाले २६, रिले हेकुरले २० र चार्ल्स अमिनीले १४ रन बनाए। अन्य खेलाडीले दोहोरो अंक पनि जोड्न सकेनन्।
नेपालका लागि सन्दीप लामिछानेले चार, दीपेन्द्रसिंह ऐरीले दुई र कुशल मल्लले एक विकेट लिए। यो जितसँगै नेपालको दुई अंक थपिएको छ। लिग-२ को अंक तालिकामा पाँचौ स्थान रहेको नेपालको ३४ अंक पुगेको छ। अब एक खेल जितेमा नेपालको एकदिवसीय वरियता कायम रहनेछ।
Facebook Comment