म देश टुक्र्याउन दिन्न
‘जोड्नेलाई मात्र थाहा हुन्छ त्यसको मूल्य र पीडा। मेरा साना दुखले अर्ज्याकाे मुलुक होइन’ भनेर पृथ्वीनारायण शाहले त्यसै बोलेका थिएनन्। त्यो उनले पाएको कष्टको सार बोलेको थियो।
एकीकरण अभियानका सम्पूर्ण योद्धाहरुको रगत र बलिदानको सार बोलेको थियो। एकीकृत राज्यलाई टिकाएर लैजाँदैनन् कि भन्ने चिन्ता बोलेको थियो। उनमा नेपालको विगत बोलेको थियो।
विशाल नेपाल टुक्रिँदै टुक्रिँदै बाउन्न चौपन्न राज्यमा छरपस्ट भएको नेपाललाई भरखर अलिकति जोडेको छ जम्न नपाई तोड्ने हुन् कि भन्ने चिन्ता बोलेको थियो। टुक्रिएको भारतलाई मुगलहरुले गाँस बनाएको देखेका थिए।
भर्खरै अंग्रेजहरुले बास जमाउँदै राज गरिरहेको देखेका थिए। फुटेकाहरुलाई पालो पालो निल्न अंग्रेजहरुलाई कति सजिलो भएको थियो, उनले यो दृश्य नजिकबाट भारतलाई हेरिरहेका थिए।
पृथ्वीनारायणमा नेपाल भक्ति थियो। यही भक्तिले नै उनमा नेपाल शक्तिको भोक जागेको थियो। नेपाललाई एकीकृत नगराई नेपाल शक्तिको कुनै गुन्जायसै हुन सक्तैनथ्यो।
भर्खरै उनले नेपाल शक्तिको आधार खडा गरेका थिए। यो अधुरै थियो। यसमाथि आन्तरिक प्रहार सुरु भै सकेको थियो। थप काम गर्न उनले सकेनन् उनलाई स्वास्थ्यले साथ दिएन।
पृथ्वीनारायण शाहले नेपाल परिवार र दरबारको लागि जोडेका थिएनन्। उनले नेपाल नेपालीको लागि नै जोडेका थिए। नेपालीको मौलिक धर्म सँस्कृतिको रक्षा र प्रवर्धनको लागि जोडेका थिए। उनले परिवार र दरबारको लागि जोडेका थिए भने सबै जातको फूलबारी भनेर उद्घोष गर्ने थिएनन्।
उनले गरेको नेपाल एकीकरणलाई अवमूल्यन गर्नेहरु उनले भूगोल मात्रै जोडेका थिए भनेर आफ्नो निकृष्टता जाहेर गर्छन्। उनले भूगोल पनि जोडे भावना पनि जोडे। उनले यति बलियोसँग नेपाली भावना जोडेका थिएनन् भने संग्लो नेपाल कहाँ रहन सक्थ्यो अहिले सम्म।
उनले भूगोल मात्रै जोडे भनेको के हो? मानवरहित भूगोल मात्रै? यो कुतर्कमा कुनै दम छैन। हो उनले माटाको धन पनि जोडे जनताको मन पनि जोडे। एकताकाको बलियो विशाल नेपाल कालान्तरमा छिन्नभिन्न भएको थियो। त्यही छिन्न भिन्न भएको नेपाललाई जोडे।
नेपालीले मेरो नेपालको सीमाना भनेर झण्डा गाडेर मेरो नेपाल नभनी कसरी माटो जोडिन्छ? त्यसैले नेपाली भावनाले जोडेको नेपाल हो, नेपाली एकता र रगत पसिनाले जोडेको नेपाल हो। मात्र यही भावनालाई पृथ्वीनारायणले नेतृत्व दिएको हो व्यवस्थापन गरिदिएको मात्र हो।
भूगोल मात्रै जोडे भन्नुको कुनै तुक छैन। यो जनता र जनताको शक्तिालाई नदेख्ने जनताको योगदानलाई नकार्ने र अवमूल्यन गर्ने नेपाली जनता र नेपाल विरोधीहरुको कुत्सित मनासाय र दुर्भावना बाहेक केही पनि होइन। यसो भन्नेहरु फिरंगीका सुँगा मात्र हुन् जो फिरंगीको रणनीतिक स्वार्थको पिन्जरामा बसेर फिरंगीको दानामा रमाएर फिरंगीको भाषा ओकल्छन्।
पूर्ववर्ती राजाहरु जस्तो राज्यलाई भाइअंश बाँड्ने सामन्ति सोच र व्यवहार पृथ्वीनारायण शाहले देखाएनन्। जस्तो यक्ष मल्लले छोराहरुलाई राज्य बाँडेर यस्तो गल्ती गरेका थिए। त्यस्तै मणि मुकुन्दसेनले पनि यस्तै गल्ति गर्न पुगेका थिए। ठूलो सेन राज्य पनि विभाजित भएर यसरी नै बाँडियो।
उनीहरुले राज्यलाई राजपरिवार भन्दा माथि सोचेनन्। त्यसैले उनीहरुले बलिया भएर पनि इतिहास रचेनन्। फरक पृथ्वीनारायण शाहले राज्यलाई राजपरिवार भन्दा माथि सोचे र नै एकीकरणको इतिहास रच्न सफल भए। नेतृत्व दूरदर्शी फराकिलो हुनु र नहुनुको अर्थ र महत्व यही भेटिन्छ।
नेपालीले मेरो नेपालको सीमाना भनेर झण्डा गाडेर मेरो नेपाल नभनी कसरी माटो जोडिन्छ? त्यसैले नेपाली भावनाले जोडेको नेपाल हो, नेपाली एकता र रगत पसिनाले जोडेको नेपाल हो। मात्र यही भावनालाई पृथ्वीनारायणले नेतृत्व दिएको हो व्यवस्थापन गरिदिएको मात्र हो।
पृथ्वीनारायण शाह र उनका प्रिय चार भाइहरु समेतलाई उनले पाँच पाण्डवको अवतार भनेका थिए। दलमर्दन शाह,महोद्दमकीर्ति शाह, शुरप्रताप शाह र दलजित शाह पृथ्वीनारायणका भाइहरुको नाम हो।
भाइहरुको बीचमा कति बलियो एकता र आत्मीयता थियो भन्ने प्रमाण पृथ्वीनारायणले पाँच पाण्डवको अवतार भनेकोलाई मान्न सकिन्छ। यी पाँचै भाइले नेपाल एकीकरणको लडाईमा ठूलै पराक्रम देखाएका थिए। यी सबैले निस्वार्थ भएर यद्ध मैदानमा सहभागिता दिएका थिए।
युद्ध भइन्जिेल त जित्ने र देश बढाउने मात्रै सोचे भाइहरुले। जव युद्ध सकियो अनि देश घटाउने तर राजा बढाउने मात्र सोच्न थाले पृथ्वीनारायणका भाइहरु। उनीहरुले युद्धको ज्याला राज्य माग्न थाले।
अर्थात् उनीहरुले भरखरै एकीकरण भएको राज्यलाई पाँच भाइका लागि अलग पाँच राज्य बाँडेर पाँचैजना राजा हुने प्रस्ताव अघि सारे। तर राष्ट्रनिर्मातालाई यो मञ्जुर हुन सकेन।
उनले भाइहरुलाई राज्य अविभाज्य हो यो घर अंश जस्तो दाजुभाइमा अंश बाँड्ने वस्तु होइन भनेर धेरै सम्झाए। तर भाइहरुले एकीकरणमा आफ्नो पनि योगदान भएकोले योगदानको कदर गर्दै अलग राज्य र राजगद्दी पाउनै पर्छ भनेर पृथ्वीनारायणलाई हैरानी दिइरहे।
राजा पृथ्वीनारायण शाहले भाइहरुलाई बोलाएर हामी सबैको बलले एकीकरण हुँदै गरेको मुुलुक पुन टुक्र्याएर यो अभियानलाई निरर्थक बनाएर हिजोका राजाहरुले गरेको गल्ति दोहर्याउनु हुँदैन। यो काम अझै धेरै बाँकी छ। हामीले पश्चिमतिर एकीकरण अभियान बढाउने योजना बनाउनै छ।
हामीले गंगाजीमा साँध लगाए पछि मात्र विश्राम लिनु पर्दछ। हामी फेरि टुक्रे राज्यका राजा हुने लोभमा गयौं भने हामी सबैलाई छेवैमा आएको फिरंगीले पालो पालो गाँस बनाउदै सबै नेपाललाई निल्छ। उसले हाम्रो भूमि, सम्पति पनि निल्छ र हाम्रो धर्म संस्कृति पनि निल्छ।
त्यसैले हामी कोही भाइले पनि जानेर नजानेर फिरंगीलाई सजिलो बनाउने नीति विचार लिनु हुँदैन। ठूलो नेपाल जोडेर सबै नेपाल जोगाउन सकेउँ भने मात्र हामी सबै जोगिने छौं र हाम्रो सबै धमै संस्कृति र सम्पति पनि जोगिने छ।
हामी राजपरिवारको भाइ भाइ को एकता बलियो भयो भने दुनियाँको एकता पनि बलियो हुन्छ। यसरी सबैको एकता बलियो भयो भने मुलुकको शक्ति बलियो हुन्छ। बलियो शक्ति भएको मुुलुकलाई कसैले पनि आँखा लगाउन सक्तैन, छुन सक्तैन।
नेपालको एकीकरणलाई सम्पन्न नगरी हामीले विश्राम लिनु हुँदैन र मुलुक टुक्र्याउने कुरा भन्नु त परै जाओस् सोच्नु पनि पाप लाग्छ। मुलुक ठूलो भएपछि सबैले कामको जिम्मा पाउन सकिहालिन्छ। यिनै र यस्तै भावना माथि बगेर पृथ्वीनारायण शाहले भाइहरुलाई सम्झाउने प्रयास गरे बारम्बार।
पृथ्वीनारायणले एकीकरणको महत्व जति बुझेका थिए शायद उनका भाइहरुले त्यति बुझेका थिएनन् कि अथवा राजा हुने महत्वकाँक्षाले गर्दा बुझपचाएका थिए।
व्याक्तिगत स्वार्थलाई राष्ट्रिय स्वार्थको मातहत राख्नुपर्ने तर उनीहरुले ठिक विपरित राष्ट्रिय स्वार्थलाई व्याक्तिगत स्वार्थको मातहत राख्ने सोच बनाए। केही समय राजा पृथ्वीनारायणले संझाएकोलाई सम्झे जस्तो गर्ने तर उनीहरुको निजी महत्वकाँक्षा र स्वार्थी भावनाले उनीहरुलाई चुप रहन दिएन।
राज्यलाई भाइ अंश बाँडेर उनीहरुलाई राजा बनाउनै पर्ने माग छोड्नै सकेनन्। यसमा फरक यति मात्र हो कोही गरम थिए कोही नरम थिए। कोही उग्र भएर लागेका थिए कोही घुसघुसे भएर। अब राष्ट्रनिर्माता पृथ्वीनारायण शाहलाई सह्य भएको थिएन।
उनले देश टुक्र्याएर राजा हुन चाहने सबै भाइहरुलाई बोलाएर स्पस्ट भाषामा बोले सुन भाइहरु हो, राजकुमारहरु हो नेपालका राजा पृथ्वीनारायण शाहको अन्तिम बोली हो म यसमा फेरि दोहर्याएर बोल्ने छैन।
यो राजाको हुकुम हो म नेपाल देश टुक्रयाउन दिन्न। फेरि पनि देश टुक्र्याउने कुरा लिएर आयौ भने तिमेरको गर्धन टुक्रयाइ दिन्छु। यसबाट देखिन्छ कि पृथ्वीनारायण शाह विशाल नेपाल बनाइराख्न र नेपाललाई एक ढिक्का बनाइराख्न कति दृढ थिए।
दरबार भित्रको होस् कि दरबार बाहिरको होस् देशको हित विपरित हिड्न खोज्नेहरुलाई आफ्नो स्वार्थको लागि देश टुक्रयाउन सोच्नेहरुलाई उनी अलिकति पनि सहानुभूति नराखी कठोर रुपमा प्रस्तुत हुन्थे।
यो सबैका लागि सधैका लागि निजी स्वार्थको लागि देशलाई घात गर्ने राष्ट्रघातीहरु प्रति कस्तो नीति लिनु पर्छ भन्ने सन्देश पृथ्वीनारायण शाहले दिएका छन्। परहरुको इशाराले होस् या आफू भित्रको दुरासयले होस् राष्ट्रघात गर्नेहरु माथि निर्मम भएर जानु पर्दछ। पृथ्वीविचरले यही भन्छ।
Facebook Comment