रोजगारी सिर्जनामा मुख्यमन्त्री अधिकारीको जोड

डिसी नेपाल
१० चैत २०७९ १६:४४

गण्डकी। गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री खगराज अधिकारीले युवालाई विदेश पलायन हुनबाट रोक्न देशमै रोजगारी सिर्जना गर्नुपर्ने बताएका छन्।

पोखराको लेकसाइडमा खुलेको होटल पौवाको आज उद्घाटन गर्दै उनले राजनीतिक अस्थिरता रहेसम्म मुलुक समृद्ध नबन्ने धारणा राखे।

“समृद्ध नेपाल, सुखी नेपालीको लक्ष्य हासिल गर्न देशमा उद्योग, व्यवसाय फस्टाउनुपर्छ, रोजगारीको वातावरण सिर्जना गर्नुपर्छ”, मुख्यमन्त्री अधिकारीले भने। सामूहिक लगानीमा जोड दिँदै राज्यले व्यवसायमैत्री नीति ल्याउनुपर्ने उनको भनाइ छ। उनले नेपालमा सेवामूलक व्यवसायको पनि उत्तिकै भविष्य रहेको बताए।

होटल पौवा प्रालिले रु १० करोडको लगानीमा पोखरामा आतिथ्य सेवा विस्तार गरेको हो। लेकसाइडमा सञ्चालनमा आएको उक्त होटल पौवाको एघारौँ शाखा हो। यसअघि बुटवल, भैरहवा, धनगढी, दाङ, जुम्ला, पाल्पा, गुल्मीलगायत ठाउँबाट होटल पौवाले सेवा दिँदै आएको थियो।

आतिथ्य सेवामा प्रालिले हालसम्म झन्डै रु ६० करोड लगानी गरिसकेको होटलका प्रबन्ध निर्देशक विष्णु ज्ञवालीले बताए। होटलका देशभरका शाखामा गरी तीन सय बढीले रोजगारी पाएको उनको भनाइ छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *