वर्क फ्रम रिह्याब

कपिल लोहनी
११ चैत २०७९ ७:१३

काठमाडौँको ठमेलस्थित एउटा कफीशपमा सागर एक कुर्सीमा एक्लै बसेर झ्यालबाट बाहिर हेर्दै कफीको चुस्की लिइरहेको हुन्छ। उ केही भावुक मुद्रामा छ। उसको मुहारले उ एक प्रकारको रणभुल्लमा परेको जस्तो देखिन्छ।

कार्यालयबाट थकित भएर फर्केको उ कफीशपमा नै टिकेर बसौँ वा ठमेलको कुनै बारमा गएर मदिराको चुस्कीमा डुबिहालौँ भन्ने कुराको द्विविधामा परेको छ। वास्तवमा आज जस्तो कफीको भरमा उसले कुनै पनि साँझको शुरुवात गरेकै थिएन।

उसको त हरेक साँझ मदिराले रङिगएको हुन्छ। तर आज उसले कुनै कुरामा कुनै ठोस निर्णय नै लिन लागेको जस्तो गरेर केही सोचिरहेको जस्तो पनि देखिन्छ।

युवावस्थादेखि नै रक्सी र गाँजाको लतमा परेको सागरले विगत ३० वर्षमा यस्तै कुलतले गर्दा निक्कै उतार चढावहरू भोगिसकेको छ। ज्यादै धनी जमीनदारको नाति तथा सुशिक्षित बाबुआमाको कान्छो छोरा उ सानैदेखि निक्कै लाडप्यारमा हुर्किएको थियो।

एकजना दाजु र दिदी विद्यालयको होस्टेलमा बसेर स्कूले पढाई सकिने वित्तिकै २ वर्ष नेपालको कलेजमा पढेर अमेरिकामा उच्च शिक्षाको लागि गएका थिए। उताको पढाई सकेर उनीहरू दुवैजना उतै घरजम गरेर बसे।

सागर भने दाजु र दिदीभन्दा केही पछि जन्मिएको तथा आमाबाबुले अलिक लाडप्यारमा हुर्काएकोले थोरै पुल्पुलिएको थियो र उसलाई आमाबाबुले पनि सकेसम्म आफैंसँग राख्न खोजेका थिए।

सागरका पिता खड्गबहादुर त्यतिबेलाका ठूलै राजनीतिज्ञ थिए र पटक पटक मन्त्री समेत भएका थिए। राजाको शासनकालका त्यतिबेलाको राजनैतिक व्यवस्थाको एक बलिया खम्बा नै थिए उनी।

विदेशमा अध्ययनको निम्ति जाँदा भेट भएकी नेपाली चेलीसँग विवाह वन्धनमा बाँधिएका खड्गबहादुरले पश्चिमा र नेपाली संस्कृति दुवैलाई सन्तुलित रूपमा राखेर जीवन निर्वाह गरिरहेका थिए।

गाउँका ठूलाठालु जमिन्दारका छोरा भएर पनि आफ्नै मर्जीले आफ्नो भन्दा फरक जातकी महिलासँग बिहे गरेका उनलाई कति समयसम्म त उनका बुवाले आफ्नो गाउँमा जान समेत निषेध गरेका थिए।

त्यसैले उनी एउटा सानो चारकोठे घर भाँडामा लिएर काठमाडौँमा डेरा गरेर बसेका थिए लामै समयसम्म। पछि भने बुढी आमाको ठूलो जिद्दी र विनम्र आग्रहले खड्गबहादुरका वृद्ध बुवाले उनीहरूलाई घरमा भित्राएका थिए।

रिह्याबबाट घर फर्केपछि भने उसलाई उता अमेरिकामा बसिरहने इच्छा नै मरेर गयो। उ त्यहाँको समाजमा भेटिने नेपालीहरूको सामु पूर्व-दुव्र्यसनी भनेर चिनिन चाहँदैन थियो। त्यसैले नेपालमा आएर कुनै राम्रो इलम शुरु गरेर इज्जतका सात बस्ने र वृद्ध हुँदै गएका आमाबाबुलाई पनि सुरक्षाको अनुभूति दिने सपना देखेर सपरिवार नेपाल फर्कियो।

सागरकी आमाले पनि आफ्नो पतिको घरको संस्कारसँग निकै छिटो परिचित भएर स्वजाती सरहकै बुहारी बन्न सफल भएकी थिइन् भने आफूले विदेशमा पढेर आर्जेको ज्ञानको सदुपयोग स्वरुप एक सरकारी अनुसन्धान केन्द्रको महत्वपूर्ण फाँटमा नै कार्यरत थिइन्।

शुरुका दिनमा डेरामा बस्दा त उनकै जागिरबाट घरखर्च र केटाकेटीको पढाई खर्च पनि चलेको थियो केही समयसम्म।

खड्गबहादुर त्यतिबेलाको नेपालको नीति निर्माणको उच्च तहमा पुग्न सफल भएका मानिस। केही गरेर देखाउँछु भन्ने दृढ संकल्प समेत मनमा राखेका र आफैं सम्पन्न र संस्कारी परिवारका सदस्य भएकाले उनी सस्तिएर कहिल्यै हिँड्दैनथे।

त्यसैले पनि उनको मान र प्रतिष्ठा त्यतिबेलाको समाजमा बलियो रूपले कायम थियो। आफूले सोचे जस्तो गरेर छोराले विवाह नगरेको भएपनि स्वच्छ छविका साथ समाजको सेवा गरिरहेकोमा खड्गबहादुरका जमिनदार बुवा र आमा आफ्ना छोरासँग खुशी नै थिए।

खड्गबहादुर राजनीतिको शिखरमा पुगेको बेलातिर उनको घरमा भेट्न आउनेहरूको बिहानदेखि साँझसम्म नै लर्को लाग्ने गर्दथ्यो। भान्सामा सधैं चिया र खाजा पाकिरहेको हुन्थ्यो भने गाउँबाट आउनेहरूको लागि भोजन र बस्ने व्यवस्था समेत नगरी चुनाव कसरी जित्नु।

घरको ठूलो आँगनमा साइकल चढेर र बल खेलेर आनन्द लिने सागरको वरीपरी घरमा काम गर्ने मानिसहरू र पिताका मोटर चालक सधैं उनलाई पहरा दिएर बसिरहेका हुन्थे।

खड्गबहादुर मन्त्री भएका बेलामा त घरमा प्रहरी र सेनाका सुरक्षाकर्मीहरूसँग पनि उ खेल्न पाउँथ्यो। सबैको लाडप्यारले गर्दा उ निक्कै पुल्पुलिइको थियो। उसको चरम बदमासी र ज्यादतीमा पनि सबैजना मुकदर्शक भएर बस्न वाध्य हुन्थे।

सागरको लागि विद्यालय जान भिन्दै मोटरगाडीको व्यवस्था गरिएको थियो। घरमा मात्र होइन, उ विद्यालयमा पनि निक्कै बदमासी गर्दथ्यो। तर पनि उसलाई सजाय दिन मास्टरहरू डराउँथे।

घरमा बुवालाई भेट्न आएका गन्यमान्य व्यक्तिहरूको चश्मा थुतेर लैजाने, टोपी फुकालिदिने तथा मोटरगाडीहरू कोरीदिने जस्ता बदमासी गर्दा पनि घरका सबैजना हाँसेर ‘त्यसो गर्नु हुन्छ बाबु?’ मात्र भन्थे। पीडित पाहुना पनि जवर्जस्ती हाँसेर केही नभएको भान गर्दथे।

घरमा काम गर्ने मानिसहरूको टाउकामा नानाथरीको आफ्नो बदमासी थोपर्ने र गाली खुवाउने, धोएर सुकाएका लुगाहरू सुटुक्क फोहरमा खसाली दिने, भर्खरै सफा गरेका कोठाहरू खुँदेर फोहर बनाइ दिने जस्ता अनेक प्रकारका बदमासी गर्न उसलाई छुट थियो।

घरमा ट्युसन पढाउन आउने कोही पनि शिक्षक एक महिना पनि टिक्दैनथे। छोडेर जाने बेलामा सबै शिक्षकको एउटै गुनासो हुने गर्दथ्यो-यो बालकलाई यसरी पुल्पुल्याएर राखेको छ, ठूलो भएर यस्तो कुसंस्कारले गर्दा उसले निक्कै हण्डर खानु पर्ने हुन्छ।

खड्गबहादुरले बेला बेलामा त सागरलाई हप्काउने पनि गर्दथे। उनले आफैंले विदेशमा अध्ययनको बेला जाँदा देखेका बाल सुधारगृहहरूको अवधारणा आफू सरकारमा हुँदा पेश गरेर यस्ता सुधार गृहहरू मुलुकका विभिन्न ठाउँहरूमा खोल्ने बारे काम पनि अगाडि बढाएका थिए।

त्यसैले बेला बेलामा छोरालाई तर्साउन उनले कड्केर ‘यसलाई बाल सुधारगृहमा लगेर भर्ना गर, त्यहाँको कडा नियम र अनुशासनमा बस्न परेपछि मात्र यो सुध्रन्छ’ भनेपछि आमासँग ‘म सुधारगृह जान्न, अबदेखि बदमासी पनि गर्दिन’ भनेर केही दिन सप्रेको अभिनय पनि गर्दथ्यो। तर छिटै उस्ताको उस्तै भइहाल्थ्यो।

राजधानीका कैयन् राम्रा विद्यालयमा राख्दा पनि उ टिकेर पढ्न नसके पछि खड्गबहादुरले उसलाई भारतको शिम्लामा रहेको एक स्तरिय बोर्डिङ स्कूलमा भर्ना गराए। पिताले भन्ने गरेको बाल सुधारगृह जस्तै कडा नियम भएको शिम्लाको विद्यालयमा भर्ना भएपछि भने उसले नाक रगडेर पढ्न करै लाग्यो।

केही समयपछि उताको विद्यालय प्रशासनले उसका बाबुलाई सागर अब निक्कै सप्रिँदै गएको र पढाईमा पनि ध्यान दिन थालेको कुरा लेखेर पठाएपछि बाबु आमा दुवैजना ज्यादै प्रसन्न भएका थिए। आखिर समय बित्न कति नै बेर लाग्छ र? हेर्दा हेर्दै उसले विद्यालयस्तरको पढाई सकेर नेपाल फर्कने दिन पनि आइहाल्यो।

कैयन् वर्षसम्म अनुशासनमा रहेर पढ्न परेको उसले नेपाल आउने वित्तिकै पुराना साथीहरूसँग भेट्नुका साथै नयाँ हमदर्द साथीहरू पाइहाल्यो। पैसा आमासँग ठगी हाल्थ्यो विभिन्न वहानामा। कलेजमा पनि आफ्नो पुरानो हर्कत छोडेन उसले।

ठूलो मोटरसाइकल चढेर कलेज जाने, कक्षामा बिरलै बस्ने, साथीहरूसँग एउटा कुनामा बसेर गाँजा तान्ने, होटेलमा गएर वियर र रक्सी पिउने, केटीहरू जिस्काउने, झैझगडा गर्ने आदि काम उसको दैनिकी भित्रै पर्न थालिसकेको थियो।

कलेजका केही विद्यार्थीहरूसँग मादक पदार्थको सेवन पश्चात छात्राहरूलाई हातपाई गरेको कुरामा झगडा परेर उ र उसका साथीहरू पटक पटक प्रहरीको फन्दामा पर्ने गरेका थिए। तर बाबु मन्त्री तथा सांसद भएकाले उ सजिलैसँग थुना मुक्त पनि हुन्थ्यो। यसो हुनाले उसको आँट पनि अझ बढ्दै गएको थियो।

बदमासीको बादशाह हुनुका साथै कुलतमा समेत लागेको भएता पनि पढाइमा भने उ प्रतिभाशाली नै थियो। काठमाडौँको कलेजबाट विज्ञान संकायमा प्रमाणपत्र तह सकेपछि भने उसको बुवा खड्गबहादुरले उसको उच्च शिक्षाको निम्ति अमेरिकामा नै पठाउने निधो गरे।

दाजु र दिदी पनि उतै घरजम गरेर बसिसकेको भएर उसलाई सजिलो पनि भयो। उता गएर पढ्न थाले पछि शुरुमा फाट्टफुट्ट वियर पिउने गरेता पनि उसले पढाइमा नै बढी ध्यान दिन थाल्यो। एवम् रितले उसले कम्प्युटर विज्ञानमा स्नातकोत्तर गरेर त्यतैको एक कम्पनीमा सफ्टवेयर इन्जिनियरको काम पनि पायो।

त्यस्तै बेलातिर उसको भेट उतै आफ्ना मातापितासँग बसेर पढिरहेकी छात्रा सुरुचीसँग आफ्नै दिदीको घरमा आयोजित पार्टीमा भयो। सुरुची पढाईमा ज्यादै जेहेन्दार थिइन् भने हेर्दा पनि कुनै सिनेमाकी हिरोनी भन्दा कम थिइनन्।

तर सागर पनि त कम्ता हेण्डसम कहाँ थियो र। अग्लो कद, गोरो वर्ण, खैरो कपाल र जुँगा तथा शरीर अनुसारको कपडा पहिरिन जानेको मानिस। पहिलो भेटमा नै दुवैले एकअर्कालाई मन पराए र उनीहरूको भेट बाक्लिँदै गएर बिहेमा नै परिणत भयो।

नेपालमा छँदा उ निक्कै बिग्रिएकोले उसका बाबुआमा पनि केही वर्ष सागर उता अमेरिकामा नै बसेर काम गरोस् भन्ने चाहन्थे। उता सुरुचीलाई भने उसको विगतको विध्वङ्सात्मक त्रृmयाकलाप बारे कुनै जानकारी थिएन तथा सागर निक्कै सप्रिसकेकोले पुरानो कुरा कोट्याइरहनु पर्ने कुरा पनि थिएन।

त्यसैले सागरका मातापिताले अमेरिकामा नै गएर उसको विवाह सुरुचीसँग गरिदिए। केही वर्षमा नै घरमा एउटी छोरी र छोरा पनि जन्मिहाले।

पछि पछि भने सागर आफ्नी पत्नी र बच्चाहरूसँग बेला बखत नेपाल आउने र त्यसरी आएको बेला गाउँमा जाने पनि गर्न थाल्यो। तर उ भारतमा पढ्दा नै उसका हजुरबुवाको निधन भइसकेकोले गाउँको घरमा बुढी हजुरआमा मात्र बस्थिन्।

बुढौली लाग्दै गएपछि उनी पनि बिस्तारै छोरा खड्गबहादुरसँगै शहरमा बस्न थालेकी थिइन्। यसरी पटक पटक नेपाल आउँदा सागरका पुराना साथीहरूसँग उसको फेरि भेट हुन थाल्यो।

अनि आज थोरै रक्सी, भोलि अलिक धेरै रक्सी र गाँजा अनि अबेलासम्म बाहिर गर्दा गर्दै उसकी पत्नीले उसको आनीबानी बुझ्दै जान थालिन्। अरु बेलाका महामानव उनी रक्सी खाएपछि दानव नै हुन्थे। बिस्तारै सागरको दानवीय रूप देखेर सुरुची र बच्चाहरू तर्सन थाले भने आमाबाबु पुनः निराशाको शिकार हुन थाले।

पछिल्लो पटक अमेरिका फर्किएपछि सागरको रक्सीको मात्रा फेरि बढ्दै गयो। एकाध पटक पिएर गाडी चलाएको तथा हुलदङ्गा गरेको आरोपमा उ त्यहाँको प्रहरीको फन्दामा पनि प¥यो तर पनि उ सप्रन सकेन।

दिउँसै पिउन थाले पछि उसले जागीर मात्र बचाउन नसकेको होइन कि, त्यहाँको समाजमा समेत टिकेर बस्न सकेन। पटक पटकको पक्राउ पश्चात एकचोटी त्यहाँको प्रहरीले उसलाई स्थानीय न्यायालयमा नै पेश गरेर मादक पदार्थबाट उन्मुक्ति दिलाउन र उसमा सुधार ल्याउन छ महिनाको लागि रिह्याव केन्द्रमा नै राख्यो। त्यहाँ उसले धेरै व्यावहारिक कुराहरू सिक्यो, ध्यान र स्वस्थकर खानपानले गर्दा उ निकै स्वस्थ पनि भयो।

रिह्याबबाट घर फर्केपछि भने उसलाई उता अमेरिकामा बसिरहने इच्छा नै मरेर गयो। उ त्यहाँको समाजमा भेटिने नेपालीहरूको सामु पूर्व-दुव्र्यसनी भनेर चिनिन चाहँदैन थियो। त्यसैले नेपालमा आएर कुनै राम्रो इलम शुरु गरेर इज्जतका सात बस्ने र वृद्ध हुँदै गएका आमाबाबुलाई पनि सुरक्षाको अनुभूति दिने सपना देखेर सपरिवार नेपाल फर्कियो।

सुरुची अति नै शालिन र सुसंस्कृत नारी भएकीले उनले आफ्नो पतिको निम्ति अमेरिकाको सबै सुखसयल छोडेर बालबच्चालाई पनि नेपालमा नै पढाउने हेतुले सागरसँग नेपाल फर्किइन्। सम्पन्न परिवारका उनीहरूलाई बेला बेलामा अमेरिका वा अन्य कुनै पनि मुलुकमा घुम्न जान कुनै मुस्किलातको सामना गर्नु पर्दैन थियो। जहिले चाहे पनि जान सकिहाल्थे।

पुर्खौली धन र बुवाको उच्च राजनैतिक जीवनको अगाडि सागरलाई दुख गरेर विदेशमा बसिरहनु पर्ने कुनै बाध्यता नै थिएन। नेपाल फर्के पछि केही समय आफ्नै कम्पनी खडा गरेर एकाध दर्जन प्रोग्रामरहरूलाई नोकरी दिनुका साथै कम्प्युटरको उच्च तालीम दिने कार्यको पनि थालनी गर्‍यो उसले।

बुवाकै राजनीतिक प्रभावले उसले कैयन् सरकारी कामहरू हात पार्न पनि सफलता पायो। त्यस्तै उसकी शिक्षित पत्नीले पनि एउटा कम्पनीमा आफ्नो अध्ययन मुताविकको उच्च पद पाइन्। खड्गबहादुर आफू जति नै धनी भए पनि राष्ट्रको सेवाको निम्ति आफू, आफ्नी पत्नी र छोराबुहारीले पनि कुनै इलम गरेर वा कतै नोकरी नै गरेर सकृय भएको हेर्न चाहन्थे। तर के गर्नु।

पुर्नजन्म पाएका सागरलाई साथीहरूले फेरी पनि छोडेनन्। बलेको आगो ताप्ने। उसको पैसाको पछि लाग्ने साथीहरूको संख्या बढ्दै गयो। यस पटक उसकी घरवालीले पनि केही कडा मिजासको प्रदर्शन गर्न थालेकी हुनाले सागरका साथीहरू घरमा भन्दा पनि उसको कार्यालयमा पुगेर भेट्न थाले। दिनहुँ साँझ फेरी रक्सीको महेफिल जम्न थाल्यो।

आज एक पेग, भोलि अर्को एक पेग भन्दा भन्दै फेरि सागरले लितिपिति नै हुने गरी रक्सी पिउन थाल्यो। रक्सीसँगै गाँजा पनि। यो क्रम बढेर दिउँसो पनि पिउने बानी लाग्न थाल्यो। उसको यो कुलतले बिस्तारै उसको व्यवसायमा नै असर पार्न थाल्यो।

सागरले कार्यालयको महत्वपुर्ण काम आफ्ना कर्मचारीहरूलाई छोडेर जाने तथा महत्वपूर्ण सभा तथा मिटिङहरूमा जान समेत छोड्न थाल्यो। आखिर विस्तारै उसको संस्थाको विश्वसनीयता नै घटेर धरासायी हुने बाटो समाउन थाल्यो भने राम्रा कर्मचारी पनि लाखापाखा लाग्न थाले।

केही समयपछि यो व्यवसाय पुरै बन्द भयो। पहिलेको त्यस्तो सुकुमार सागरको मुहारमा चाउरी पर्नुका साथै, दाँत झरेको तथा लुगामा पनि हेल्चक्यार्‍ईँ बढेपछि उसको व्यक्तित्वमा नै ह्रास आउन थाल्यो।

काम नभएर घरैमा बसेको सागरको रक्सीको लत झनै बढ्न थाल्यो। अब त उ बिहानैदेखि रक्सी धोक्न थालेको थियो। बुवाको उमेर बढ्दै गएको कारण उनी राजनीतिबाट टाढा हुँदै गएका थिए र छोराको यस्तो चाला देखेर ज्यादै दिक्क भएका थिए।

कति चोटी उनले सागरलाई सम्झाएर ‘सोसियल ड्रिङ्कर बन्, म पनि त्यस्तै हुँ। साँझमा एकाध पेग पिएर कुनै हानी हुँदैन। तर यसरी असामाजिक तत्व बनेर दुनियालाई हँसाउने र आफ्नै जीवन बर्वाद पार्ने काम गर्दा परिवारमा समेत असर पर्न जान्छ’ भनेर कति सम्झाउँदा पनि उसले बुझेर पनि आफूलाई सँभाल्न नसक्ने भइसकेको थियो।

एकचोटी उ आफैं एउटा पुर्नस्थापना केन्द्रमा भर्ना भएर केही महिना बस्यो र केही हदसम्म सप्रेर नै फर्कियो। उसको अध्ययन, डिग्री तथा कार्यदक्षताले गर्दा उसले एक विदेशी कम्पनीमा राम्रै नोकरी पनि पायो।

उसको कामबाट सो कम्पनीको मालिक निकै खुशी थियो। पछि पछि सागरको रक्सीको कुलत बारे हाकिमलाई थाहा हुँदै गयो। तर पनि उनले सागरलाई सम्झाउने र ठीक बाटोमा हिँडाउन धेरै प्रयास गरे।

सागर पनि आफ्नो भुल स्विकार गरेर अफिस समयमा नपिउने भएको भएता पनि साँझमा भने उस्तै झल्लु हुने गरी पिउने गर्दथ्यो। पिए पछि उ रेष्टुरेण्टका कर्मचारीलाई हातपाई गर्न पनि पछि पर्दैनथ्यो भने अन्य ग्राहकहरूसँग पनि झगडा गर्दथ्यो।

घरमा आमाबाबुको भव्य बङ्गलामा नबसेर परिवारको गालीबाट बच्न उ चौकीदार र काम गर्नेहरूको लागि बनाएको टहरोमा राति सुटुक्क आएर सुत्न थाल्यो र बिस्तारै उ एकजनाको मात्र बासस्थान नै त्यहीँ बन्न पुग्यो। बेला बेलामा उ आफ्ना हाकिम कहाँ गएर केही समय पुनः रिह्याबमा बस्नु पर्ने भयो।

बरु कम्प्युटरबाट नै सबै काम हुने भएकोले मलाई ‘वर्क फ्रम रिह्याब’को अनुमति दिनु भन्न जान्थ्यो। विश्वभर नै खासगरी कोभिडको महामारीले गर्दा ‘वर्क फ्रम होम’को व्यवस्था भइरहेकोमा यो कस्तो मानिस हो यसरी कतै नभएको ‘वर्क फ्रम रिह्याब’को लागी याचना गर्ने भनेर हाकिम नै छक्क पर्ने गर्दथ्यो।

तर पनि सागरको कामबाट खुशी रहेको हाकिमले ‘वर्क फ्रम रिह्याब’लाई उनीहरू दुईको बीचको गोप्य समझदारी मानेर उसलाई रिह्याबमा बस्न जानु पर्दा ‘वर्क फ्रम होम’को वन्दोवस्त गरिदिन्थे।

सागरले यसरी ‘वर्क फ्रम रिह्याब’ गरेको करिव आधा दर्जन चोटी भइसक्यो। उ गएर बस्ने गरेको रिह्याबका प्रशिक्षक, कर्मचारी र कतिपय दुव्र्यसनीले पनि उसलाई चिन्ने भइसके। केहीले त उ घर फर्कने बेलामा ‘सि यु अगेन’ भन्दा सागर आफैं मनमनै खुबै हाँस्ने गर्दछ किनकी उसलाई थाहा छ, एकदिन छिटै उ फेरी त्यहाँ बस्न पुग्छ भनेर।

केही दिन अघि सागर गएर बस्ने गरेको रिह्याबका निर्देशकले उसलाई बोलाएर एउटा खुबै राम्रो प्रस्ताव राखेछन्। सागरलाई ती निर्देशकले उ रिह्याबमा बस्दा वा नबस्दा पनि दुव्र्यसनीहरूलाई कम्प्युटर सम्बन्धि तालीम दिएर भविश्यमा केही काम गर्न सक्ने बनाइदिन आग्रह गरेछन्।

यो कुरा सागरलाई पनि खुबै जँचेछ। आज कफी पिएर बसिराख्दा पनि सागर यही प्रस्तावको बारेमा सोच्दै रहेछ। उसको शरीरले रक्सी माग्ने वा उसको मन भाँडिने मुख्य समय कार्यालयको समय पछिको केही घण्टा भएकोले आज उ के निश्कर्षमा पुगेछ भने, उसले सो रिह्याबमा प्रत्येक दिन कार्यालय समय पछि केही घण्टा त्यहाँका दुव्र्यसनीहरूलाई कम्प्युटर सिकाउने छ।

यो कुरा उसले तत्काल आफ्ना हाकिमलाई फोन गरेर सुनाउँदा, उनी पनि दङ्ग परेर सो रिह्याबको लागी केही सेट कम्प्युटर किनी दिने समेत प्रतिवद्धता जाहेर गरेछन्।

निकै हौसिएको सागर यो गुड न्युज आफ्नी पत्नी र बाआमालाई सुनाउन घर तिर लागेछ। तर धेरै चोटी धोखा पाइसकेका घरका मानिसलाई भने सागरले केही समयसम्म आफूले भनेको काम गरेर देखाए पछि मात्र विश्वास होला।

नेपालमा सागर जस्तै कैयन् धनाढ्य तथा शिक्षित र प्रतिभाशाली युवाहरू विभिन्न निकायहरूमा कार्यरत छन्। तिनीहरू मध्ये कैयन् व्यक्ति यसरी नै दुव्र्यसनमा डुबेका कुरा सुन्नमा आउँछ।

मुलुकका सम्वेदनशील क्षेत्रहरू जस्तै स्वास्थ्य, नागरिक उड्डयन र यातायात तथा सुरक्षा क्षेत्रमा समेत यस्ता व्यक्तिहरू भएको कुरा सुन्नमा आइरहन्छ। त्यसैले पनि लागु तथा मादक पदार्थको दुव्यशनबाट समाज, संस्था तथा परिवारलाई बचाउन सबै क्षेत्रबाट निरन्तर पहल हुन सके पुरै राष्ट्रलाई फाइदा पुग्ने थियो।

लेखक विकास अर्थशास्त्री र पूर्व बैंकर हुन्




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *