पहिलो खेलमै घाइते भएका केन विलियमसन आइपीएलको पूरै सिजनबाट बाहिर
काठमाडौं । हार्दिक पाण्ड्याको कप्तानीमा रहेको गुजरात टाइटन्सलाई इन्डियन प्रिमियर लिग २०२३ सिजनमा ठूलो धक्का लागेको छ। न्युजिल्यान्डका कप्तान केन विलियम्सन घुँडाको चोटका कारण पूरा सिजन बाहिर भएका छन् ।
आईपीएल शुक्रबार भव्य उद्घाटन समारोहको साथ सुरु भयो। यसपछि सिजनको पहिलो खेलमा गुजरात टाइटन्सले चेन्नई सुपर किंग्सलाई ५ विकेटले पराजित गरेको थियो । यस खेलमा केन विलियम्सन घाइते भएर प्रतियोगिताबाट बाहिरिएका थिए । गुजरात फ्रेन्चाइजीले विलियमसनलाई २०२३ को मिनी लिलामीमा २ करोड भारुमा किनेको थियो ।
यो घटना खेलमा चेन्नई सुपर किंग्सको इनिङ्सको १३ औं ओभरमा भएको हो । यस ओभरमा ओपनर ऋतुराज गायकवाडले एरियल शट खेले, जसमा विलियमसनले क्याच लिने प्रयास गरे । बाउन्ड्रीमा हावामा उफ्रिए पनि विलियम्सनले क्याच लिन सकेनन् तर टोलीका लागि केही रन अवश्य बचाए ।
तर यही क्रममा विलियम्सनको घुँडामा चोट लागेको थियो । उनलाई तुरुन्तै मैदानबाट बाहिर निकालियो । त्यसपछि उनको स्थानमा साई सुदर्शनलाई इम्प्याक्ट खेलाडीको रुपमा मैदानमा उतारिएको थियो । सुदर्शनले पनि इम्प्याक्ट खेलाडीको रुपमा ब्याटिङ गरे । अहिले यही चोटका कारण विलियम्सन प्रतियोगिताबाट बाहिर भएका छन् ।
Facebook Comment