आइपिएलमा आज विराट कोहली र रोहित शर्मा भिड्दै

डिसी नेपाल
१९ चैत २०७९ १५:०४

काठमाडौं । इन्डियन प्रिमियर लिग २०२३ सिजनको पाँचौं खेल आज बेंगलुरुमा खेलिनेछ। यो खेलमा रोयल च्यालेन्जर्स बैंगलोर र मुम्बई इन्डियन्सको टोली आमनेसामने हुनेछन् । घरेलु मैदानमा मुम्बईमाथि आफ्नो वर्चस्व कायम राख्न आरसीबीको मनसाय हुनेछ। यो खेल बेंगलुरुमा साँझ नेपाली समय पौने ८ बजेबाट सुरु हुनेछ ।

यो खेलमा मुम्बई टोलीका कप्तान रोहित शर्मा र आरसीबीका पूर्व कप्तान विराट कोहली आमनेसामने हुनेछन् । तर, फाफ डु प्लेसिसले आरसीबीको कप्तानी सम्हालिरहेका छन् । २०२० देखि बैंगलोरले मुम्बई विरुद्ध ५ मध्ये ३ खेल जितेको छ। अहिलेसम्म आइपिएल जित्न नसकेको आरसीबीले एम चिन्नास्वामी स्टेडियममा जितबाट सुरु गरेर घरेलु दर्शकलाई मुस्कुराउने मौका पक्कै दिन चाहन्छ।

रजत पाटीदार र जोस हेजलउड जस्ता खेलाडीबिना आरसीबी उत्रिनेछ । दुवै चोटका कारण पहिलो हाफ गुमाउने भएका छन् । अष्ट्रेलियाका ग्लेन म्याक्सवेल पनि पहिलो खेलमा उपलब्ध छैनन् । इंग्ल्यान्डका विल ज्याक पूरै सिजन बाहिर छन् । पाटीदारले गत वर्ष आठ खेलमा ५५.५० को औसतमा ३३३ रन बनाएका थिए । उनले पहिलो क्वालिफायरमा कुनै पनि भारतीय ब्याट्सम्यानको ब्याटबाट सबैभन्दा छिटो शतक बनाएका थिए।

आरसीबीले राष्ट्रिय टोलीबाट खेल्न न्यूजिल्याण्डमा रहेका श्रीलंकाका स्पिनर वानिन्दु हसरंगालाई पनि पर्खनुपर्नेछ। उनी सुरुका केही खेलबाट बाहिरिनेछन् । तर, न्युजिल्याण्डका माइकल ब्रासवेलको रुपमा आरसीबीले तल्लो क्रमका आक्रामक ब्याट्सम्यान पाएको छ । दिनेश कार्तिक पनि उपयोगी रन बनाउन माहिर छन्।

शीर्ष क्रममा रन बनाउने जिम्मेवारी कप्तान फाफ डु प्लेसिस र पूर्व कप्तान विराट कोहलीको हुनेछ। बलिङको रेखदेख हर्षल पटेल र मोहम्मद सिराजले गर्नेछन् । डुप्लेसिसले यसअघि दक्षिण अफ्रिकी टी–२० लिगमा ३६९ रन बनाएका थिए भने कोहलीले हालै अन्तर्राष्ट्रिय क्रिकेटमा असाधारण प्रदर्शन गरेका छन् । रिस टोपलीको आगमनसँगै आरसीबीको बलिङमा सुधार आएको छ ।

गत आईपीएलमा मुम्बई इन्डियन्स १४ मध्ये चार खेल जितेर अन्तिम स्थानमा थियो। आईपीएलको इतिहासमा सबैभन्दा सफल टोली र पाँच पटकको विजेता मुम्बईले त्यो प्रदर्शन बिर्सेर अगाडि बढ्ने लक्ष्य राख्नेछ।

फास्ट बलर जसप्रित बुमराह र जे रिचर्डसन चोटका कारण मैदान बाहिर छन् । यस्तो अवस्थामा टिमको आशा इंग्ल्यान्डका जोफ्रा आर्चरमा छ, जसले जेसन बेहरेनडर्फ र आकाश मधवालको साथमा फास्ट बलिङ सम्हाल्नेछन् । रन बनाउने जिम्मेवारी कप्तान रोहित शर्मा र अनुभवी सूर्यकुमार यादवको हुनेछ । इशान किशनले पारीको सहजकर्ताको भूमिका निर्वाह गर्ने अपेक्षा गरिएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *