छैटौँ बाह्रखरी कर्पोरेट गल्फ वैशाखमा हुने

डिसी नेपाल
१९ चैत २०७९ २१:१३

काठमाडौं । बाह्रखरी मिडिया प्रालिको आयोजनामा छैटौँ बाह्रखरी कर्पोरेट गल्फ तथा आर्थिक परिसंवाद वैशाखमा हुने भएको छ ।

बाह्रखरी मिडिया प्रालिले आज यहाँ पत्रकार सम्मेलन गरी एनसेल बाह्रखरी गल्फ तथा आर्थिक परिसंवाद छैटौँ संस्करण वैशाख ९ गते काठमाडौँमा आयोजना गर्न लागेको जानकारी दिएको हो । पत्रकार सम्मेलनमा बाह्रखरी मिडियाका अध्यक्ष प्रतीक प्रधानले नेपालका व्यावसायिक र आर्थिक क्षेत्रका अग्रणी व्यक्तित्वलाई एकै थलोमा ल्याएर खेल प्रवर्द्धन र आर्थिक गतिविधि अभिवृद्धि गराउने उद्देश्यले उक्त प्रतियोगिता आयोजना गर्न लागिएको जानकारी दिए ।

“गल्फ प्रतियोगिता कर्पोरेट व्यक्तित्वबीच र आर्थिक परिसंवाद आर्थिक क्षेत्रका देशभरका विशिष्ट व्यक्तित्व, अर्थविद्, बैंकर र उद्यमीबीच हुनेछ”, अध्यक्ष प्रधानले भने । उक्त गल्फ प्रतियोगितामा काठमाडौँ, धरान, विराटनगर, वीरगञ्ज, चितवन, पोखरा, बुटवल, नेपालगञ्ज, धनगढीसहित केही विदेशी कर्पोरेट १०० भन्दा बढी खेलाडीले भाग लिने उनको भनाइ छ ।

हरेक वर्ष गल्फ खेलको माध्यमबाट आर्थिक र सामाजिक सचेतना अभिवृद्धि गराउन देशका फरक–फरक स्थानमा कर्पोरेट गल्फ प्रतियोगिता गर्दै आएको उक्त मिडियाले पहिलो र दोस्रो प्रतियोगिता गोकर्ण गल्फ कोर्स, तेस्रो सगरमाथा क्षेत्रमा, चौथो पोखरा र पाँचौँ धरानमा सम्पन्न गरिसकेको छ । सोही दिन हुने आर्थिक परिसंवादमा भने एक जना विज्ञबाट वर्तमान देशको आर्थिक अवस्थाका बारेमा कार्यपत्र प्रस्तुत गर्ने र विभिन्न विज्ञ तथा प्रमुख व्यक्तिको सम्बोधनपछि सरकारका प्रतिनिधिले जवाफ दिने कार्यक्रम रहेको छ ।

यस वर्ष आयोजना हुने एनसेल बाह्रखरी गल्फ तथा आर्थिक परिसंवाद कार्यक्रममा गल्फ खेलाडीसहित एक हजार पाँच सय पाहुनाको उपस्थिति रहने आयोजकले जनाएको छ । कर्पोरेट गल्फ प्रतियोगितामा प्रथम हुने खेलाडीलाई प्रदान गरिने सुनको बलसमेत आज सार्वजनिक गरिएको छ ।

देशको आर्थिक क्षेत्रका दिग्गज व्यक्ति सम्मिलित हुने र देशको आर्थिक दिशानिर्देश गर्ने परिसंवाद तथा प्रतिष्ठित क्षेत्रका व्यवसायीले प्रतिस्पर्धा गर्ने गल्फ प्रतियोगिताको उद्घाटन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गर्ने आयोजकले जनाएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *