दक्षिण कोरियाका पूर्व तानाशाहका नातिले हजुरबुवाको गल्तीको लागि माफी मागे
काठमाडौं । दक्षिण कोरियाका तानाशाह चुन डू-ह्वानका नाति चुन वू-वोनले शुक्रबार पत्रकार सम्मेलन गरे। यसमा, चुन वू-वोनले आफ्ना हजुरबुवाले गरेको अपराधको लागि सार्वजनिक रूपमा माफी मागेका छन्। उनले भने – मेरो हजुरबुवाले तानाशाह हुँदा ठुलो अपराध गर्नु भयो, पापी र हत्यारा हुनुहुन्थ्यो ।
वास्तवमा, दक्षिण कोरियामा १९८० मा, लोकतन्त्रलाई समर्थन गर्ने मानिसहरूले सेनाको तानाशाही विरुद्ध प्रदर्शन गरे। उनीहरूलाई कुचल्नका लागि तत्कालीन दक्षिण कोरियाका तानाशाह चुन डू ह्वानले ग्वाङ्जुमा २०० जनाको नरसंहार गराए ।
चुन वू वोन आफ्नो हजुरबुवाले गरेको अपराधको लागि माफी माग्ने परिवारको पहिलो सदस्य हुन्। ग्वान्जुका जनताले वर्षौंदेखि चुन वू वोनको परिवारसँग माफी माग्न माग गर्दै आएका थिए। आफ्नो हजुरबुबाले गरेको अपराधको लागि माफी मागेपछि, चुन वूले आफ्नो हजुरबुबाको आदेशमा मारिएकाहरूको चिहानको भ्रमण गरे।
सैन्य तानाशाही विरुद्धको प्रदर्शनमा मारिएकाहरूको परिवारले चुनको माफी स्वीकार गरे। पत्रकार सम्मेलनमा एकजनाले उनलाई अँगालो हालेका थिए ।
बीबीसीका अनुसार सन् १९८० को दशकमा दक्षिण कोरियामा सेनाको तानाशाही विरुद्ध हजारौं मानिस सडकमा उत्रेका थिए । प्रदर्शनको ९ औं दिनमा, दक्षिण कोरियाको ग्वान्जुमा सैनिकहरूले गोली चलाउन थाले। रिपोर्टका अनुसार सैनिकहरूले मानिसहरूलाई निर्ममतापूर्वक कुटपिट र यौन दुर्व्यवहार गरेका थिए।
प्रदर्शनलाई दबाउन हेलिकप्टरबाट समेत गोली प्रहार गरिएको थियो । सेनाले आफ्ना जनतालाई लडाकु विमानबाट पनि बमबारी गरेको थियो । उक्त अवधिमा भएको प्रदर्शनमा मृत्यु हुनेको संख्या २०० भन्दा बढी रहेको सेनाको नरसंहारमा बाँचेकाहरू बताउँछन् ।
२०१८ मा, सरकारले नै आधिकारिक रूपमा माफी मागेको थियो। सरकारले आन्दोलनरत महिलालाई सैनिकले बलात्कार गरेको स्वीकार गरेको थियो ।
१९८८ मा, दक्षिण कोरियामा चुन डु ह्वानको तानाशाही समाप्त भयो। त्यसपछि सन् १९९६ मा भ्रष्टाचार र देशद्रोहको अभियोगमा उनलाई जेल पठाइएको थियो । तर, पछि राष्ट्रपतिले उनको सजाय माफी दिएका थिए । बीबीसीका अनुसार चुन डू ह्वानले जीवनभर आफ्नो अपराधको लागि माफी मागेनन्। उनको २०२१ मा ९० वर्षको उमेरमा निधन भएको थियो ।
Facebook Comment