‘समाजवादी केन्द्र’ गठनको गृहकार्य ओझेलमा, कहाँ पुग्यो दलहरुको तयारी?

शरद रिजाल
२४ चैत २०७९ ७:२५

काठमाडौं। नेपालमा समाजवादी आन्दोलनको पक्षधर बताउँदै आएका कतिपय वाम राजनीतिक दलहरुले थालेको समाजवादी केन्द्र गठनको तयारी पछिल्लो समय ओझेलमा परेको छ।

सत्तारुढ नेकपा (माओवादी केन्द्र), माधव नेपालको नेकपा (एकीकृत समाजवादी) र बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी लगायतका दलहरुबीच समाजवादी केन्द्र निर्माणको चर्चा कुनै समय निकै चुलिएको थियो।

यसैमा बामदेव गौतम नेतृत्वको नेकपा (एकता अभियान) र पछिल्लो समय उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी पनि छलफलमा थपिएका थिए।

गएको मंसिर ४को संघ तथा प्रदेश निर्वाचन अघिदेखि नै चर्चामा आएको नीतिगत रुपमा समाजवादको निर्दिष्ट लक्ष्य बोकेर हिँडेका यिनै दलहरुको समाजवादी केन्द्र निर्माणको चर्चा पछिल्लो समय सेलाएको हो।

गएको निर्वाचनको पेरिफेरीमा निकै तातेको यो विषय पछिल्लो समय खासै चर्चामा आएको छैन। समाजवादी केन्द्र निर्माणलाई चुनाव अगावै पूर्णता दिने गरि गृहकार्य थालेका यी दलहरु आजभोलि समाजवादी केन्द्र गठनमा तदारुकता देखाएका छैनन्।

नेपालको राजनीतिमा विभिन्न समूहमा विभाजित कम्युनिष्ट घटकहरुको पुर्नएकताको तयारी स्वरुप थालिएको समाजवादी केन्द्र निर्माणको यात्रा अवरुद्ध भएको चर्चा चलेको छ ।

समाजवादका आआफ्नै ब्याख्या र मान्यताले समेत समाजवादी केन्द्र गठनले मूर्तरुप लिन नसकेको बताइन्छ ।

उसो त नेपालको संविधानको अनुसूचीमा नै सर्वस्वीकार्य रुपमा समाजवादोन्मुख राज्यव्यवस्था उल्लेख गरिएको छ। तथापि सबैजसो दलले स्वीकार गरेको समाजवादी व्यवस्थामा एकरुपता भने छैन। समाजवादबारे सबैका मान्यता पृथक छन्।

कम्युनिष्ट इतरका आफूलाई प्रजातान्त्रिक दाबी गर्ने दलहरुको समेत घोषित नीति समाजवाद नै रहेको छ। नेपाली कांग्रेसले समेत घोषित रुपमा प्रजातान्त्रिक समाजवादको पक्षधरता दर्शाएको छ। यस्तै कतिपय अन्य गैरकम्युनिष्ट पार्टीले समेत घोषित नीति समाजवाद बताइरहेका छन्।

तर, वामपंथी पृष्ठभूमिका दलहरुको मान्यता गैर वामहरुको भन्दा फरक छ। उनीहरु समाजवादको दार्शनिक आधार माक्र्सवादलाई मान्ने गर्दछन्। उनीहरुले वैज्ञानिक समाजवादको वकालत गर्ने गर्दछन्।

तीनै घोषित रुपमा कम्युनिष्ट विचारधारा अंगाल्ने दलहरु समाजवादी केन्द्रको तयारीमा जुटेका थिए। यद्यपि समाजवादी केन्द्र गठनको भूमिकामा देखिएका बाबुराम भट्टराईले कम्युनिष्ट विचारधारा परित्याग गरेका हुन्।

यिनै समाजवादी केन्द्रको तयारी थालेका दलहरुबीच समाजवादको सबैका आआफ्नै ब्याख्या र मान्यता रहेका छन्। कम्युनिष्ट घटकहरुले आफूलाई वैज्ञानिक समाजवादका अनुयायी बताउँछन्। उनीहरु वर्गविहीन अर्थात विभेद र शोषणरहित समाजवादको पक्षपाती हुन्छन्।

तर, कम्युनिष्ट विचारधारा नै परित्याग गरेर हिँडेका डा.बाबुराम भट्टराई यसमा सहमत छैनन्। उनले विगतको कम्युनिष्ट पार्टीले अंगीकार गरेको राज्य नियन्त्रित स्टालीनकालीन समाजवाद आजको युग सापेक्ष नहुने बताउँदै आएका छन्।

कम्युनिष्ट हरुले अंगीकार गरेको शास्त्रीय मूल्यमान्यताकोे पुरातन समाजवादी व्यवस्था असफल भएकाले सबैले अपनत्व गर्ने उदार अर्थव्यवस्थासहितको समुन्नत समाजवादको वकालत भट्टराईले गर्दै आएका छन्।

अर्का कम्युनिष्ट पृष्ठभूमिकै जसपाका अध्यक्ष रहेका उपेन्द्र यादव समेत बाबुरामको मान्यतामा नीतिगत रुपमा सहमत भएर पार्टी एकता गरेका थिए तर यी दुबै एउटै पार्टीमा रहन सकेनन्। अहिले अलग भइसकेका छन्।

आपसमा मिल्न नसकेर अलग भएका दलहरुको फेरि नयाँ ढंगको एकता प्रक्रियाले पछिल्लो समय खासै परिणाममुखी भएको छैन। तथापि छलफल भइरहेको नेताहरु बताउँछन्।

नेकपा (माओवादी केन्द्र) का महासचिव देव गुरुङले नयाँ समाजवादी केन्द्र गठनबारे छलफल भइरहेको जानकारी दिए। उनले समाजवादी धारका पार्टीहरुबीच छलफल भइरहेको बताउँदै तत्काल समाजवादी मोर्चा घोषणाको तयारी भइरहेको जनाए।

उनले डिसी नेपालसँग भने, ‘छुट्टाछुट्टै छलफल हुँदैछ। माधव नेपाल, बाबुरामजी, विप्लव र उपेन्द्र यादवसँग पार्टीको निरन्तर छलफल भइरहेको छ। तत्कालै पार्टी एकता बाबुरामजी बाहेक अरुसँग सम्भव छैन। अरुसँग समाजवादी मोर्चा बन्छ।’

उनले माओवादी धारका विप्लवसँग पनि छलफल जारी रहेको जनाउँदै तत्काल बाबुराम भट्टराई नेतृत्वको नेसपासँग उपनिर्वाचन पछि एकताको संभावना प्रबल रहेको र अन्यसँग मोर्चा बनाएर अघि बढ्ने मोटामोटी सहमति भएको बताए।

बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीसँग एकतापछि पार्टीको नाम समेत परिवर्तन हुने संभावना रहेको महासचिव गुरुङले औंल्याए।
उनले भने, ‘बाबुरामजीको पार्टीसँग एकता गर्ने सहमति भइसकेको छ। तर नाम लगायत अन्य विषयबारे छलफल भइरहेको छ। अझै यकीन भएको छैन। उपनिर्वाचनपछि थप छलफलले परिणाम आउँला।’

उनका अनुसार बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पाटीसँग तत्काल एकता र अन्यसँग समाजवादी मोर्चा घोषणा गर्ने तयारी भइरहेको छ।
घोषित रुपमा समाजवाद स्थापनाको एउटै उद्देश्यमा एकाकार भएर दलहरुले गठन गर्ने भनिएको समाजवादी केन्द्रले समाजवादी आन्दोलनमा टेवा पुर्‍याउने अपेक्षा नेताहरुले गरेका छन्।

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाललेसमेत केही दिनमै समाजवादी मोर्चा घोषणा हुने जनाएका थिए। उनले बुधबार पार्टीको केन्द्रीय प्रचार विभागले आयोजना गरेको सम्पादकहरुसँगको अन्तरक्रिया कार्यक्रममा सरकारमा सम्मिलित केही दल र अन्य वाम घटक मिलेर समाजवादको यात्रा तय गर्न समाजवादी मोर्चा घोषणा गर्न लागेको बताएका थिए।

तर, समाजवादी केन्द्र या मोर्चाले एक आपसमा मिल्न नसकेर विभाजित बनेका दलहरु फेरि एकताको तयारी गरेपनि नीतिगत प्रष्टता नगरेरै गरिने एकता या मोर्चा फलदायी नहुने र त्यसले समाजवादी आन्दोलनमा कुनै भूमिका निर्वाह नगर्ने वामपंथी राजनीतिका जानकार तथा नागरिक अगुवा श्याम श्रेष्ठ बताउँछन्।

विचारमा संकट आएर विभाजित बनेका दलहरु पुर्नएकताको तयारी गरेपनि त्यसले देशको समाजवादी व्यवस्था निर्माणमा कुनै प्रभाव नपार्ने उनको भनाइ छ।

‘उहाँहरुको समाजवाद कस्तो प्रकृतिको हो। त्यसमा नै स्पष्टता छैन। वैज्ञानिक समाजवाद हो या अन्य ठोस कार्यक्रम विना गरिने टालटुले एकता दिगो हुन सक्दैन’, उनले डिसी नेपालसँग भने, ‘माक्र्सवादी धरातल बेगरको समाजवादले सबैलाई न्यायोचित नहुने अवस्था त नेपालमा अहिल्यै पनि छ। त्यसमा कुनै स्पष्टता नभएरै गरिने एकताले उहाँहरुलाई शक्ति आर्जन गर्न लाभ भएपनि देशलाई केही हुँदैन।’

नेपाली जनताले समाजवादको अनुभूत नयाँ गठन गरिएपछिको समाजवादी केन्द्रबाट नहुने उनले ठोकुवा गरे। अहिलेको विद्यमान यवस्थालाई कायम गर्दै थप मलजल गर्ने समाजवादी केन्द्रको आवश्यकता नरहेको उनले औंल्याए।

उनले भने, ‘नेपालमा आवश्यक वैज्ञानिक समाजवाद हो। जहाँ गाउँ र शहरबीचको विभेद, मानसिक र शारिरीक श्रमबीचको विभेद, श्रमिक र पुँजीपति वर्गबीचको विभेदमुक्त व्यवस्था हो। तर उहाँहरु आर्थिक उपार्जन गर्दै नयाँ वर्ग निर्माण गरिरहनु भएको छ र त्यसो गर्नेलाई टेवा पुर्‍याइरहनुभएको छ। पुँजीपति वर्गमा रुपान्तरितहरुबाट कसरी आउँछ समाजवाद?’

दलहरुको समाजवादी केन्द्र गठनले देशमा समाजवादी व्यवस्था निर्माणमा कुनै भूमिका निर्वाह गर्न नसक्ने उनको ठहर छ। उनले पुँजीवादी प्रवृत्ति अंगीकार गर्दै त्यसैमा लिप्त भएका दलहरुबाट मोर्चा या केन्द्र जे बनेपनि समाजवादको आशा गर्न नसकिने जिकिर गरे।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *