बलिउड अभिनेत्री अमिषाविरुद्ध अदालतद्वारा वारेन्ट जारी
मुम्बई, २४ चैत । बलिउड अभिनेत्री अमीषा पटेल आगामी फिल्म ‘गदर २’का कारण चर्चामा छिन् । लामो समयपछि उनी फिल्ममा कमव्याक गर्दैछिन् । यही बीच राँची सिभिल कोर्टले अभिनेत्रीविरुद्ध वारेन्ट जारी गरेको छ ।
उनीमाथि चेक बाउन्स र धोखाधडीको आरोप छ । अदालतले बिहीबार अभिनेत्री र उनको बिजनेस पाटर्नरविरुद्ध वारेन्ट जारी गरेको हो । अदालतले पटक पटक तारीख दिए पनि अमीषा र उनको वकिल अदालत पुगेका छैनन् । अभिनेत्रीको यो रवैयामाथि कोर्टले दुःख व्यक्त गरेको छ ।
अब मुद्धाको आगामी सुनुवाई अप्रिल १५ मा हुनेछ । यो मामलामा अभिनेत्रीमाथि अढाई करोड रुपैंयाँ धोखाधडीको आरोप छ । राँची जिल्लाका हरमू निवासी अजयकुमार सिंहले अमीषा र उनका बिजनेस पाटर्नरविरुद्ध धोखाधडीको मुद्धा दर्ता गराएका थिए ।
अजयका अनुसार अमीषाले फिल्म ‘देसी म्याजिक’ को अफर दिँदै अजयलाई फिल्ममा लगानी गर्न आग्रह गरेकी थिइन् । त्यसपछि अजयले अढाई करोड रुपैंयाँ अमीषाको खातामा पठाइदिएका थिए ।
फिल्मको सुटिङ सन् २०१३ मा हुनुपर्ने थियो । तर सुटिङ भएन । त्यहीबेला अजयले अमीषालाई पैसा फिर्ता माग्दा अमीषा र उनको मेनेजरले फिल्मको काम पुरा गरेपछि व्याजसहित पैसा फिर्ता गर्ने आश्वासन दिएका थिए ।
अमीषाले लामो समयसम्म पैसा नदिएपछि अक्टोबर २०१८ मा अजयलाई अढाई करोड र ५० लाखको दुई चेक दिएकी थिइन् । तर चेक बाउन्स भएपछि उनले अमीषाविरुद्ध उजुरी दिएका हुन् ।
Facebook Comment