मनाङको जित, जावलाखेल र खुमलटारको बराबरी

डिसी नेपाल
२४ चैत २०७९ १८:५७

काठमाडौं । राजधानीमा जारी सहिद स्मारक ए डिभिजन लिग फुटबलमा मनाङ मस्र्याङ्दी क्लवले फ्रेन्ड्स क्लबलाई पराजित गरेको छ ।

शुक्रबार ललितपुरस्थीत च्यासल मैदानमा भएको खेलमा मनाङले फ्रेन्ड्स क्लबलाई २–० गोल अन्तरले हराएको हो । मनाङको जितमा कोफी टिमोथी कुदोले दुई गोल गरे ।

खेलको ३४ औं मिनेटमा कोफीले गोल गर्दै मनाङलाई सुरुआती अग्रता दिलाएका थिए । त्यसपछि खेलको ५२ औं मिनेटमा कोफीले व्यक्तिगत दोस्रो गोल गर्दै मनाङलाई २–० को जित दिलाए ।

जितसँगै मनाङ अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । मनाङले ६ खेलमा १४ अंक जोडेको छ । फ्रेन्ड्स ४ अंक जोडेर १२ औं स्थानमा रहेको छ ।

त्यस्तै शुक्रबार नै एन्फा कम्प्लेक्स सातदोवाटोमा भएको खेलमा जावलाखेल युथ क्लब र एफसी खुमलटारले बराबरी खेल्दै अंक बाडेका छन् । जावलाखेल र खुमलटारले २–२ गोलको रोमान्चक बराबरी खेलेका हुन् । खेलको ३२ औं मिनेटमा एनकोटो मोसाबीले गोल गर्दै जावलाखेललाई सुरुआती अग्रता दिलाएका थिए ।

तर, ३५ औं मिनेटमा अविशेक लिम्बुले गोल गर्दै खुमलटारलाई १–१ गोलको बराबरीमा ल्याए । खेलको ६३ औं मिनेटमा मेसुके ओलुमोउले गोल गर्दा खुमलटार २–१ ले अघि रह्यो । तर खेलको ८६ औं मिनेटमा फोडे फोफानाले गोल गर्दै जावलाखेललाई २–२ गोलको बराबरीमा ल्याए ।

यस बराबरीसँगै जावलाखेलले ७ खेलमा १४ अंक जोडेको छ । खुमलटारले ७ खेलमा ७ अंक जोडेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *