निर्मलाले न्याय कहिले पाउने ?
केही समय अगाडि म राष्ट्रिय युवा परिषदको वार्षिक कार्यक्रम कार्यन्वयनको सिलसिलामा गृह जिल्ला सल्यान गएको थिएँ।
राष्ट्रिय युवा नीति २०७२ जारी भए पश्चात युवा नीतिलाई कार्यन्वयनका लागि नेपाल सरकार राष्ट्रिय युवा परिषदले समग्र युवाका बहु-आयामिक विकासका लागि युथ भिजन २०२५ जारी गरेको थियो।
जसले युवा विकासका लागि पाँच खम्बे आधारस्तम्भ कायम राखी सन् २०२५ सम्म सो कार्यन्वयनका लागि विधिन्न वार्षिक कार्यक्रमको व्यवस्था गरी देशैभरी गतिविधि गर्दै आइरहेको छ।
युथ भिजन २०२५ का पाँच आधारस्तम्भ हरु क्रमशः
-गुणस्तरीय र व्यावसायिक शिक्षा
– रोजगारी, उद्यमशीलता र सिप विकास
– स्वास्थ्य र सामाजिक सुरक्षा
– परिचालन, सहभागिता र नेतृत्व विकास
– खेलकुद र मनोरञ्जन गरि परिषदले सो अनुरुपको कार्यक्रम कार्यन्वयन गर्दै आइरहेको छ।
माथि उल्लेखित आधारस्तम्भ मध्ये चौँथो आधारस्तम्भ परिचालन, सहभागिता र नेतृत्व विकास अन्तर्गत परिषदले नमुना युवा संसद अभ्यास कार्यक्रम देशैभर एक जिल्ला एक स्थानीय तह वर्षेनी गर्दै आइरहेको छ।
नमुना युवा संसद अभ्यास अन्तर्गत परिषदले संघीयताको मर्म र संविधानले व्यवस्था गरेको विधायिकाको व्यवस्थाअनुरुप स्थानीय तहमा गाउँ/नगर सभा तथा प्रदेशमा प्रदेश सभा तथा संघमा संघीय संसदको अभ्यास गराइन्छ।
जसबाट युवाले संसदीय अभ्यास, कानुन निर्माण तथा छलफलदेखि पारित सम्मको अभ्यास गर्दछन् भने अर्कोतर्फ कार्यपालिकाको अभ्यास पनि गर्ने गर्छन्। राष्ट्रिय युवा परिषदको म एक प्रशिक्षको रुपमा देशका विभिन्न भागका युवाहरुलाई नमुना युवा संसदको अभ्यास गराउने गर्छु।
यसै सन्दर्भमा मैले करिव २ हजार युवाहरुलाई स्थानीय तहको सरकार सञ्चालनको अभ्यास सफलतापुर्वक सम्पन्न गरिसकेको छु।यसै क्रममा म देशका विभिन्न भागमा जाँदा परिषदको कार्यक्रम सँगसँगै अन्य कुरामा पनि ध्यान राख्ने गर्छु।
समाजको चेतनास्तर, कुरीति ,तथा अन्य अन्धविश्वासमा मौलाएका बिकृति विरुद्व केहि हदसम्म व्यक्तिगत तथा सरोकारावालासँगको सहकार्यका जनचेतामुलक कार्यक्रम गर्न पछि हट्दिन।
कक्षा आठमा पढ्दै गर्दादेखि बाल क्लवमार्फत सल्यानमा वाल विवाह विरुद्व गरेका गतिविधिले ल्याएको परिवर्तन अझै पनि ताजै छन्। बाल विवाह बाल अधिकार, महिला अधिकार, मानव अधिकारको मात्रै हनन नभएर समाज विकासको पनि बाधक हो भन्ने विषय मैले सानैमा अनुभव गरेको थिए।
सँगैका पढ्दै गरेका साथि बाल बिवाहका कारण धेरै पढाइ छोड्न बाध्य हुन्थे भने कोही जीवन सार्थकताका लागि आर्जन गर्नुपर्ने ज्ञान, सिपबाट विमुख हुँदा झेल्नुपरेका आर्थिक, सामाजिक, तथा शारीरिक समस्याबाट निम्तिएका दर्जनौँ समस्याहरु नजिकबाट नियालिरहेको थिएँ।
त्यतिमात्रै हैन कक्षा ९/१० मा पढ्दै गर्दा कति साथीहरु बालबिवाहका कारण सानैमा पढाइ छुट्दा घरको जिम्मेवारीको भारी बोक्नुपर्दा कालापहाड र खाडी पसेका साथीहरुका दुःखका वेदना पनि राम्रोसँग देखेको थिएँ।
सानै उमेरमा हातमा समाज,देश र आफ्नो भविष्य कोर्न कलम समाउनु पर्ने हातमा अनिश्चित, अदृश्य जिम्मेवारीको बोझिलो जीवन जिउन बाध्य छन्। यस्तै विषयमा चेतना र रोकथामका थुप्रै प्रयास गर्दा पनि सरकारी संयन्त्रबाटै उपेक्षा गरिन्थ्याे।
तर पनि म सबैसँग सहकार्य गरेर यस्ता बिकृति विरुद्व लागिरहेको छु। नमुना युवा संसद अभ्यास कार्यक्रमको लागि सल्यान बागचौरमा काठमाडौंबाट जानुभन्दा पहिले बाल विवाह विरुद्धको जनचेतना अभिवृद्धि का लागि नेपाल प्रहरी केन्द्रीय कार्याल नक्सालबाट जिल्लामा गर्न सकिने कार्यबारे प्रहरी प्रवक्तासँग लामो छलफल पछि प्रहरीकै सरकार्यमा जिल्लामा केही कार्यक्रम गर्ने योजना बनाएको थिएँ जसमा प्रहरी केन्द्रीय कार्यालयबाट भरपुर सहयोग पाएको थिए।
केन्द्रीय कार्यालय र जिल्ला प्रहरी कार्यालय सल्यानको सरकार्यमा शहिद नेत्रलाल बहुप्राविधिक शिक्षालयमा प्राविधिक धार अध्ययनरत १०० भन्दा बढी विद्यार्थीबीच प्रहरी निरीक्षक, जिल्ला अस्पताल डाक्टर तथा अन्य समाजिक व्यकित्वकाबीचमा बाल अधिकार, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कानुन,नेपालले बाल अधिकार संरक्षण सन्दर्भमा अन्तराष्ट्रिय स्तरमा जनाएका प्रतिवद्धता, नेपालको संविधान २०७२ का व्यवस्था अन्तर्गतका कानुन, ऐन, नियम तथा सरकारी एवम् गैरसरकारी क्षेत्रबाट भएका प्रयास बारे छलफल प्रारम्भ गर्याैं ।
सहभागी विद्यार्थी यसरी सबैक्षेत्रका व्यक्ति सम्मिलित सभा देखेर कोही अचम्मित थिए भने कोही धैर्यतापूर्वक विषयवस्तुवारे गम्भिर भएर सुनिरहेका थिए। कोही भने अलिकति प्रहरी तथा सरकारवाला प्रति विश्वास नरहेको भावहरु अनुहारले प्रकट गरिरहेका थिए।
अन्तरक्रिया तथा छलफलको कार्यक्रमलाई मैलै अघि बढाइरहेको थिए। त्यस क्रममा प्रहरिले आफ्ना प्रयास, कानुनी पाटा र सामाजिक जीवनमा बाल बिवाहका कारण हुन सक्ने जोखिम बारे प्रष्ट पारे पछि क्रमशः डाक्टरले स्वास्थ्य क्षेत्रमा हुन सक्ने जोखिम तथा चुनौतीका विषयमा खुलेरै बताएका थिए। सोही क्रममा मैले पनि केही धरातलीय अवस्थाबारे साथीहरुबीच सन्दर्भ सामाग्रीहरु जोडिरहेको थिए।
जिल्लामै सायद यो पहिलो कार्यक्रम थियो जसमा विशेषज्ञ डाक्टर, प्रशासन, सामाजिक व्यक्तित्व तथा अन्य विषयविज्ञ सम्मिलित अन्तरक्रिया तथा छलफल। कार्यक्रमको अन्तिम समयमा सहभागी विद्यार्थीहरुले विषयविज्ञलाई आफूलाई लागेका जिज्ञासा तथा प्रश्नहरु सोधिरहेका थिए।
त्यही क्रममा पछिल्लो तिरबाट एकजना बालिकाले प्रहरी निरीक्षकतर्फ केन्द्रित हुँदै बालिकाहरु ग्रामीण समाजमा अझै पनि थुप्रै हिंसा तथा हिंसाजन्य क्रियाकलापहरु सहेर बस्नुपर्ने अवस्था रहेको विद्यमान परिस्थितिमा बलत्कार पछि हत्या गरिएकी निर्मलाले न्याय नपाएको विषय उठाउँदै निर्मलाको हत्यारा कहिले पत्ता लाग्छ भन्दै प्रश्न गरेकी थिइन्। जसमा उनीलाई चित्त बुझाउने गरी प्रहरीले आश्वस्त पार्न सकिरहेका थिएनन्।
यस्ता खाले हिंसा र अपराधका शृङ्खला अन्य गर्न समुदाय प्रहरी साझेदारी सँगसगै तिनै तहका सरकार जिम्मेवार ढंगले प्रस्तुत हुन जरूरी देखिन्छ।
विकासलाई भौतिक रुपमा मात्रै हेर्ने सरकारको रणनिति फेरिएना र समाजको चेनताअनुसारको नीति तथा कार्यक्रम तर्जुमा गरी कार्यन्वयनको चरणमा नगए राज्य धेरै पछाडी पर्ने संकेत सामाजिक परिवेशले जनाइरहेको छ।
Facebook Comment