एमालेभित्र ‘गुम्सिए’का पूर्वमाओवादीलाई फर्काउने प्रचण्डको रणनीति

शरद रिजाल
२९ चैत २०७९ १२:४२

काठमाडौं। नेकपा(एमाले) मा रहेका पूर्व माओवादी नेताहरु पछिल्लो समय गुमनाम देखिएका छन्। राजनीतिक सरगर्मी बढिरहेको बेला एमालेमा रहेर राजनीतिक भूमिकामै रहेका माओवादी पृष्ठभूमिका नेताहरु फुर्सदिलो देखिएका छन्।

एमाले र माओवादी केन्द्रबीच एकता भंग भएर अलग अलग पार्टी ब्यूँतिएपछि एमालेमा रहेका पूर्वमाओवादी नेताहरुले मौन छन्। उनीहरु एमालेमा अध्यक्ष केपी शर्मा ओलीको चेपुवामा परे पनि बाध्यतावश रहेको चर्चा हुन थालेको छ।

एमाले र माओवादी मिलेर ०७५जेठ ३ गते नयाँ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) गठन गरेका थिए। दुई वर्षपछि आन्तरिक किचलो उत्कर्षमा पुगेर विभाजनउन्मुख अवस्थामा सर्वोच्च अदालतको २०७७ फागुन २३ गतको फैसलाले औपचारिक रुपमा दुबै पार्टीलाई पूर्ववत् अवस्थामा पुर्‍याएपछि अलग भएका थिए।

नेता कार्यकर्ताहरु पनि आआफ्नै अलग पार्टीमा लागेपनि माओवादी धारका शीर्षस्थ नेताहरु एमालेमै रहेका थिए।

एमालेमा रहेका पूर्वमाओवादी नेताहरु रामबहादुर थापा बादल, टोपबहादुर रायमाझी, लेखराज भट्ट, गौरीशंकर चौधरी, मणि थापा, लिलबहादुर थापा र दावा तामाङ लगायतका शीर्ष नेताहरु एमालेमा रहेका छन्। सुुरुमा एमालेमै रहेका प्रभु साह भने बाहिरिएर अहिले नयाँ दल आम जनता पार्टी गठन गरेका छन्।

एमालेमा रहेका पूर्वमाओवादी अधिकांश नेताहरुले राजनीतिक सक्रियता बढाएका छैनन्। बरु सक्रियता बढाएका पुर्वमाओवादी नेता टोपबहादुर रायमाझी समेत पछिल्लो समय विवादित बनेका छन्।

एमालेभित्र सहज नभएको यथार्थ हो हामी गुम्सिएका छौं तर संगठित रुपमा के गर्ने भन्नेबारेमा निक्र्यौल गरिसकेका छैनौं।समाजवादी केन्द्र गठन निर्वाचन अघि नै तयारी गरिएको हो त्यसमा अझै हामीले सामूहिक निर्णय गरेका छैनौं।

उनी नेपाली नागरिकलाई भुटानी शर्णार्थी बनाएर अमेरिका पठाउने गिरोहमा संलग्न रहेको कतिपय सञ्चार माध्यमले समाचार प्रकाशित गरेपछि विवादमा तानिएका हुन्।

नेपालमा रहेका भुटानी शर्णार्थीहरुलाई तेस्रो मुलुक पुर्नवास हुने प्रक्रियामा नेपालीहरुलाई अवैध रुपमा समटेर अमेरिका लैजाने नेपाली गिरोहको सक्रियता खुलाशा भएको थियो।

समाचार अनुसार उक्त कार्यमा एमालेमा रहेका पूर्वमाओवादी नेता रामबहादुर थापा बादल र टोपबहादुर रायमाझीको पारिवारिक सदस्य मुछिएका छन्।

माओवादीबाट एमाले बनेका नेताहरुमध्ये टोपबहादुर रायमाझीले सक्रियता बढाएका थिए। उनी एमालेको दशौं महाधिवेशनबाट सचिवमा निर्वाचित भएका थिए।

यद्यपि पूर्वमाओवादी नेताहरु अन्यले समेत एमालेमा पदीय भूमिका पाए पनि सक्रियता देखाएका छैनन्। एमालेमा उपाध्यक्ष रहेका बादल गुमनाम देखिएका छन् ।तथापि एमालेमा अन्य पूर्वमाओवादीमध्ये टोपबहादुर रायमाझी तुलनात्मक रुपमा सक्रिय थिए।

गएको मंसिर ४ को निर्वाचनमा अर्घाखाँचीबाट निर्वाचित भएका उनी बलियो जनाधार भएका नेतामा पर्दछन्।माओवादी शान्तिप्रक्रियामा आएयता निरन्तर चुनावमा विजयी हुँदै आएका उनी जनतामाझ लोकप्रिय नेता हुन्। तर, पछिल्लो समय नेपालीलाई नक्कली भुटानी शणार्थी बनाएर अमेरिका लैजाने गिरोहमा उनकाे संलग्नता उजागर भएपछि विवादित बन्न पुगे।

एमालेमा रहेका पूर्वमाओवादी धारका नेताहरुको मौनता र निष्क्रियतलाई लिएर राजनीतिक बजारमा फेरि नयाँ समाजवादी केन्द्रमा संगठित हुने गृहकार्यमा जुटिरहेको बताइएको छ।

माओवादी केन्द्र, एकीकृत समाजवादी, बाबुराम भट्टराईको नेपाल समाजवादी पार्टीलगायतले समाजवादी केन्द्र गठनको तयारी थालेका छन्। गएको निर्वाचन अगावै थालिएको गृहकार्य बीचमा अवरुद्ध भएको थियो। अब उपनिर्वाचनपछि समाजवादी केन्द्र गठनको गुहकार्यलाई मूर्तरुप दिन अन्तिम तयारीमा जुटेको दलहरुले सार्वजनिक रुपमा बताइरहेका छन्।

यही परिवेशमा केही दिनअघि प्रधानमन्त्रीसमेत रहेका माओवादी केन्द्रका अध्यक्ष कैलाली जाँदा एमालेमै रहेका पूर्व माओवादी नेता हाल एमालेका सचिव लेखराज भट्टसँग भेटवार्ता समेत गरेका थिए। भट्टकै घर अत्तरियामा पुगेर भेटेका प्रचण्डले पारिवारिक भेटघाट भएको जनाएका थिए।

उनको भेटघाटलाई राजनीतिक कोणबाट निकै अर्थपूर्ण भएको बताइएको छ। लामो समय सम्म सहयात्रा गरेका प्रचण्ड र भट्टको राजनीतिक रुपमा अलग भएपछि तिक्तता निकै चुलिएको थियो। उनीहरुको तिक्तता बढेरै सार्वजनिक स्थलमा भेट हुँदा पनि दोहोरो वार्तालाप हुन नसकेको घटनासमेत बाहिरिएको थियो।

सोही तिक्ततालाई मत्थर गर्न भट्टकै निवासमा प्रधानमन्त्री प्रचण्ड पुगेको बताइन्छ। उनले विगतको भावनात्मक सम्बन्ध दर्शाएर भट्टलाई पार्टीमै फर्काउने रणनीतिमा लागेको माओवादी स्रोत बताउँछ।

पछिल्लो समय सुदूरपश्चिमा बर्चस्व रहेको एमाले नेता भीम रावल पार्टीमै फर्कने अवस्था आए भट्टलाई एमालेमा रहन असहज हुने माओवादीकोृ निष्कर्ष छ। एमालेको दशौं महाधिवेशनबाट असन्तुष्ट बनेका रावल पार्टी नेतृत्वको आलोचना गर्दै हिँडेका छन्। उनको असन्तुष्टिलाई सम्बोधन गर्ने भन्दै एमोले रावलसँग वार्ता गर्न समिति नै गठन गरेको छ।

एमाले नेतृत्वले रावललाई प्राथमिकता दिएको देखेर त्रसित रहेका भट्ट रावल एमालेमा जिम्मेवारीसहित फर्किए आफू कायम रहेको सुदूरपश्चिम ईन्चार्जको भूमिकाबाट विमुख हुनुपर्ने भयले सशंकित रहेको बताइन्छ। सोही एमालेको आन्तरिक राजनीति बुझेर माओवादीले पहल थालेको बताइएको छ।

एमालेमै उपाध्यक्ष रहेका बादल भने माओवादीमा फर्कने मनस्थितिमा छैनन्। उनी प्रचण्डलाई कुनै हालतमा फेरि नेतृत्व स्वीकार्ने पक्षमा नरहेको बादल निकट स्रोतको दाबी छ।

उनी प्रचण्डसँग राजनीतिक रुपमा असन्तुष्ट रहनुका पछाडि विगतका तिक्तताले समेत महत्वपूर्ण भूमिका निर्वाह गरेको बताइन्छ। विगतमा प्रचण्डले बादललाई पार्टी नेतृत्वको विरुद्धमा लागेर नेतृत्व हत्याउँन खोजेको भन्दे ‘लिनप्याओवाद प्रवृत्ति’ को आरोप लगाएका थिए।

सोही तिक्तताले माओवादीमा प्रचण्डलाई छाडेर धोबिघाट गठबन्धनबाट अर्का नेता बाबुराम भट्टराईलाई प्रधानमन्त्री बनाउन सघाएका उनले पार्टी बिभाजनपछि मोहन वैद्य नेतृत्वको पार्टीमा लागेका थिए। जनयुद्धकालमै चिढिएको सम्बन्धको कम्पन हालसम्मै कायम रहेको बताइन्छ।

जीवनको उर्जाशील समय माओवादी आन्दोलनमा ब्यतित गरेका उनले लामो राजनीतिक यात्राको थकानपछि जीवनको उत्तरार्धमा एमालेमा अध्यक्ष ओलीको चेपुवामा परेपनि बाध्य भएर विश्राम लिएको स्रोत बताउँछ।

एमालेमा रहेका पूर्वमाओवादी नेता मणि थापा एमालेभित्र पूर्वमाओवादीलाई सहज नभएको स्वीकार गर्दछन्। उनले अन्य दलले सुरू गरेको समाजवादी केन्द्र गठनको गुहकार्यमा तत्कालै सामेल हुनेबारे ठोस निर्णयमा भने नपुगेको बताए।

‘एमालेभित्र सहज नभएको यथार्थ हो हामी गुम्सिएका छौं तर संगठित रुपमा के गर्ने भन्नेबारेमा निक्र्यौल गरिसकेका छैनौं’, उनले एमालेमा रहेका पूर्वमाओवादीले सामूहिक निर्णयमा नपुगेको बताउँदै डिसी नेपालसँग भने, ‘समाजवादी केन्द्र गठन निर्वाचन अघि नै तयारी गरिएको हो त्यसमा अझै हामीले सामूहिक निर्णय गरेका छैनौं।’

उनले नयाँ र पुनर्संगठित पार्टी निर्माण गरिए प्रचण्डसँग सहयात्रा गर्न सकिने तर पुरानै अवस्थामा माओवादीमा फर्कने सम्भावना न्यून रहेको औंल्याए। उनले नेपालको सन्दर्भमा नयाँ विचार र कार्यक्रमसहितको कम्युनिष्ट पार्टी पुनर्गठनको अपरिहार्यता बढेकाले छलफलकै क्रममा रहेको प्रष्ट्याए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *