वर्षभरमा निधन भएका विशेष पात्रहरू

कपिल लोहनी
२ वैशाख २०८० ७:४२

एकातिर विश्वमा हरेक वर्ष करोडौँको संख्यामा मानव शिशुहरूको जन्म हुन्छ भने मृत्यु हुनेको संख्या पनि करोडमा नै हुन्छ।

एक प्रकारले अन्य जीवित वस्तु जस्तै मानवजाति प्रत्येक दिन यस धर्तीमा हरिया दुवो उम्रेझैं धमाधम प्रकट भइरहेका हुन्छन् भने जीवनको अन्तावस्थामा भएकाहरूको पनि ठूलै संख्यामा अवसान हुँदै जान्छ।

विभिन्न स्थान र परिवेश अनुसार मानव जातिको औषत बाँच्ने उमेर फरक फरक हुने भएता पनि विज्ञान, प्रविधि र स्वास्थ्य सेवाको पहुँच बढ्दै गएकोले औषत उमेर पनि बढ्दै गएको छ। विकसित मुलुकहरूमा ८० वर्ष कट्नेहरूको संख्या बढ्दै गएको छ भने १०० वर्षभन्दा बढी बाँच्नेको संख्या पनि २०२२ मा झण्डै ६ लाख पुगेको छ।

हालैको एक अध्ययनले राम्रो खानपानमा बस्ने, नियमित व्यायाम गर्ने, धुम्रपान नगर्ने, तनाव रहित राम्रो वातावरणमा बस्न रुचाउने, चिन्ता नलिने, परिवारको स्नेह पाएका, सकारात्मक सोच बोकेका र खासगरी सानो काँटीको शरीर भएका मानिसहरू र त्यसमा पनि महिलाहरू बढी उमेरसम्म बाँच्ने देखाएको छ। तर पनि स्वास्थ्यका विभिन्न कारणवश, दुर्घटना तथा आत्महत्याका कारण, रोगव्याधीका कारण र लडाईँ, भिडन्त, हत्या, हिंसा आदिका कारण धेरै मानिसले कलिलै उमेरमा ज्यान गुमाउँदछन्।

हालैको कोभिड-१९को महामारीले पनि धेरै मानिसहरूको अकालमा मृत्यु हुन गयो।

विश्वमा प्रत्येक वर्ष जन्मने र मृत्यु हुनेको संख्या बराबर हुँदैन। जन्मने बढी हुन्छन् र मर्नेकोे संख्या करिव आधा नै कम हुन्छ, जसले गर्दा विश्व जनसंख्याको वृद्धि तिव्र रूपमा भइरहेको छ। नयाँ नयाँ वैज्ञानिक आविस्कार र स्वास्थ्य सेवामा विश्वभर भएका उपलब्धिहरूले गर्दा शिशु, वयश्क वा वृद्ध मृत्युदर घट्दै गएको छ।

सन् २०२२ मा विश्वमा १३ करोड ४० लाख शिशुहरूले जन्म लिए भने ती मध्ये अधिकांश बालबालिका एसिया र अफ्रिकामा जन्मेका थिए। त्यस्तै सन् २०२२ मा मर्नेहरूको संख्या विश्वभरमा ६ करोड ७१ लाख रह्यो।

यसरी सो १ वर्षमा मात्र विश्वमा ६ करोड ६० लाखले जनसंख्या वृद्धि भयो र हाल विश्वको जनसंख्या ८ अर्ब पुगेको छ। नेपाल २ अर्बभन्दा बढी यानी विश्वको २५ प्रतिशत जनसंख्या भएका दुई विशाल छिमेकीबाट घेरिएको छ- एकातर्फ उत्तरमा हिमालले जटिल भौगोलिक सिमाना बनेको छ भने अर्को तीन तर्फ पूर्व र पश्चिममा पहाडी र दक्षिणमा समथर र खुला सीमा छ।

करोडौं र अर्बौं मानिसहरूमा पनि निक्कै कम मानिसहरूले आआफ्ना क्षेत्रमा केही छाप छोडेर आफू मरेपनि धेरैको सम्झनामा आफ्नो नाम छोडेर जान सफल भएका हुन्छन्।

त्यस्ता व्यक्तिहरूको मृत्युले बाँच्नेहरूको मनमा एक प्रकारको दुख र वेदना छोडेर गएको हुन्छ भने त्यस्ता व्यक्तिहरूका कामबाट प्रभावित भएर धेरैले आफ्नो जीवनशैलीमा पनि त्यस्तै गुणहरू प्रवाह गर्ने कोशिश गरेका हुन्छन्।

सन् २०२२ र वि.सं. २०७९ मा यानी विगत १६ महिनामा विश्वमा र नेपालमा धेरै हस्तीहरूको निधन हुन गयो। कोही लामो आयुसम्म बाँचेर बिदा भए भने कतिको कम आयुमा नै दुखद निधन भयो।

आजको यो आलेखमा हामी विश्वका र नेपालका त्यस्ता हस्तीहरू जो सन् २०२२ को जनवरी देखि सन् २०२३ को अप्रिलसम्ममा हामीबाट सँधैको निम्ति टाढा भएर गए, तिमध्ये केहीको बारेमा चर्चा गर्नेछौं।

सन् २०२२ जनवरीमा नेपाली मुलका सुप्रसिद्ध भारतीय गायक कुमार सुब्बाको निधन हुन गयो। उनका कैयन् कालजयी गीतहरू नेपालीहरूको मनमस्तिस्कमा गुञ्रिहेका हुन्छन्।

खासगरी ‘अनि देउराली रुन्छ’ नाटकका सबैजसा प्रख्यात गीतहरू उनैले गाएका हुन्। अमेरिकी सांगीतिक ब्याण्ड ‘द भेन्चर्स’का रिद्म गितार वादक डन विल्सनको ८८ वर्षको उमेरमा सोही वर्षको जनवरी २२ को दिनमा वाशिङ्ग्टनमा निधन भयो भने यही महिना नेपालका सांसद रहेका डा. दुवसु थापाको कोभिडका कारण निधन हुन गयो। नेपालका पुराना उद्योगपति लक्ष्मीदास मानन्धरको पनि ९७ वर्षको वयोवृद्धावस्थामा जनवरी २०२२ मा निधन भयो।

२०२२ को जनवरीमा भारतका सुप्रसिद्ध कत्थक नाचका गुरु पण्डित बिर्जु महाराजको निधन ८४ वर्षको उमेरमा भएको थियो।

त्यस्तै कैयन पटक एम्मी, ग्रामी र ओस्कार अवार्ड जित्न सफल विश्व विख्यात गीत रचयीता तथा संगीतज्ञ मेरिलिन बर्गम्यानको ९३ वर्षको उमेरमा सोही वर्षको जनवरीमा ९३ वर्षको उमेरमा लसएन्जलसस्थित आफ्नै घरमा निधन भयो।

अमेरिकाका प्रख्यात हाँस्य कलाकार बब सागेट २०२२ जनवरी ९ का दिन ६५ वर्षको उमेरमा फ्लोरिडामा आफ्नो कलाकारिताको प्रस्तुतीपश्चात ओल्र्याण्डोस्थित रिट्ज कार्लटन होटेलमा मृत अवस्थामा भेटिएका थिए।

भारतमा सन् १९२९ मा जन्मेर विश्वभर ‘संगीतकी साम्राज्ञी’को रूपमा परिचित सुप्रसिद्ध गायिका लता मङ्गेस्करको २०२२ को फेब्रुअरीमा ९२ वर्षको उमेरमा पोष्ट कोभिडको जटिलताका कारण निधन भयो।

१४ वर्षको उमेरदेखि गीत गाउन थालेकी तथा पछिसम्म ‘दिदी’को नामले सबैले आदर गर्ने ‘भारत रत्न’द्वारा विभूषित लतादिदीले आफ्नो जीवनभरमा करिव २,००० फिल्मका हजारौँ गीत रेकर्ड गराइन्।

बलिउडका प्रख्यात संगीतकार बप्पी लाहिरीको निधन पनि सोही महिनामा हुन गयो भने फेब्रुअरीमा नै भारतको औद्योगिक घराना बजाज समूहका अध्यक्ष राहुल बजाजको ८३ वर्षको उमेरमा क्यान्सरको कारण मृत्यु भयो।

नेपालका एक जुझारु अधिवक्ता, राजनीतिज्ञ, मानव अधिकारवादी तथा अभियन्ता र नेपाल बार एसोसिएसनका प्रथम अध्यक्ष प्रेमकृष्ण पाठकको निधन फेब्रुअरी २०२२ मा भयो भने सोही महिना नेपाली साहित्यका प्रखर समालोचक र वरिष्ठ साहित्यकार डा. तारानाथ शर्माले पनि यो धर्तीबाट सदाका निम्ति बिदा लिए। ताना शर्माको निधनको एक महिना पछि नै अति इमान्दार र कर्तव्यनिष्ठ बामपन्थी नेता कृष्णराज वर्माको ९१ वर्षको उमेरमा निधन भयो।

निधन हुनुभन्दा केही समय अघिसम्म उनी निक्कै तन्दुरुस्त र सक्रिय थिए। सोही महिना अर्का युवा हस्ती, प्रखर लेखक तथा राजनैतिक विश्लेषक प्रो. धु्रवकुमारको असामयीक निधन हुन गयो। २०२२ फेब्रुवरीमा नेपालका सुप्रसिद्ध लोक गायक तथा हाँस्य कलाकार जयनन्द लामाको निधन भयो।

२०२२ को अप्रिल महिनामा ९१ वर्षका कुटनीतिज्ञ तथा चिनियाँ भाषाका ज्ञाता बासुदेव तुफान पनि यस धर्तीबाट बिदा भए भने नेपालमा टेनिस खेलको विकासमा ठूलो योगदान गरेका खेलाडी तथा प्रशिक्षक हेम लामाको ९३ वर्षको उमेरमा निधन भयो।

अल जजिरा टेलिभिजन च्यानलकी प्रख्यात मध्यपूर्व रिपोर्टर शिरिन अबु अक्लेहको ५१ वर्षको उमेरमा प्यालेस्टाइनको पश्चिमी किनारास्थित जेनिनमा इजरायली र प्यालेस्टाइनी भिडन्तको बेला २०२२ को मे महिनामा इजरायली सुरक्षाकर्मीको गोलीबाट दुखद निधन भयो। जेरुसलममा सन् १९७१मा जन्मिएकी अमेरिकी-प्यालेस्टाइनी नागरिक उनी विगत २५ वर्षदेखि अल जजिराको सम्वाददाताको रूपमा कार्यरत थिइन्।

आफूपनि भुटानी शरणार्थीको रूपमा नेपाल पसेका डा. भम्पा राईले झापाका शरणार्थी शिविरहरूमा निक्कै समय चिकित्सकीय सेवा पु¥याएका थिए। उनको ७४ वर्षको उमेरमा २०२२ को जुन महिनामा दमकमा निधन भयो। निधन भन्दा केही समय अघि घरबारविहीन डा. राईलाई दमक नगरपालिकाले एक आवासको पनि व्यवस्था गरिदिएको थियो।

भारतका प्रख्यात गायक भुपिन्दर सिंह (भुपेन्द्र)को २०२२ जुनमा ८२ वर्षको उमेरमा कोलोन क्यान्सर र पोष्ट कोभिडको जटिलताका कारण निधन भयो। विश्वकै विख्यात गीत रचयीता तथा गायिका ओलिभिया न्यूटन जोनको गत अगस्ट महिनामा ७३ वर्षको उमेरमा स्तन क्यान्सरसँगको लामो युद्ध पश्चात क्यालिफोर्नियास्थित आफ्नै घरमा निधन भयो भने सोही महिना पेरेस्त्रोइका तथा ग्लास्तनोस्तका प्रवद्र्धक तथा सोभियत संघका अन्तिम राष्ट्रपति मिखाइल गोर्भाचोभको ९२ वर्षको उमेरमा निधन भयो।

नेपालको वाणिज्य नीतिका ज्ञाता तथा लामो समय प्रशासकीय जिम्मेवारी लिएर बसेका दुर्गाप्रकाश पाण्डेको गत अगस्टमा नै निधन भयो। त्यस्तै प्रखर वक्ता तथा समाजवादी नेता र वुद्धिजिवी प्रदीप गिरिको ७५ वर्षको उमेरमा सोही महिनामा निधन भयो। भारतका विख्यात अर्थशास्त्री अभिजित सेनको पनि सोही महिना ७२ वर्षको उमेरमा हृदयाघातका कारण निधन भयो।

२०२२ सेप्टेम्बर ८ तारिखमा बेलायतकी महारानी एलिजावेथ द्वितियाको ९४ वर्षको उमेरमा निधन भयो। उहाँले बेलायतको इतिहासमा नै सबैभन्दा बढी समयसम्म शासन गर्नु भएको थियो।

विश्वभर अति नै लोकप्रिय महारानी एलिजावेथ द्वितियाले नेपालको २ पटक राजकीय भ्रमण गर्नुभएको थियो। गत सेप्टेम्बर महिनामा नै फ्रान्सेली चलचित्र निर्देशक जीन लुक गोडार्डको ९२ वर्षको उमेरमा निधन भयो।

नेपालका ख्यातिप्राप्त संगीतकार तथा नेपाली सेनाका अवकासप्राप्त व्याण्ड गुल्म प्रमुख जेनरल शुभबहादुर सुनामको गत सेप्टेम्बर महिनामा मृगौलाको उपचारको क्रममा ७० वर्षको उमेरमा निधन भयो।

त्यस्तै भारतका प्रख्यात हाँस्य कलाकार राजु श्रीवास्तवको सोही महिना ५८ वर्षको उमेरमा हृदयाघातबाट मृत्यु भयो। सोही महिना भारतका सनातन धर्म गुरु शंकराचार्य स्वामी स्वरुपानन्द सरस्वतीको ९९ वर्षको उमेरमा निधन भयो।

वरिष्ठ संस्कृतिविद्, लेखक तथा साहित्यकार ‘शताव्दि पुरुष’ सत्यमोहन जोशीको १०२ वर्षको उमेरमा २०२२ अक्टुवरमा निधन भयो। नेपालका सबै जातजाति र भाषाभाषीलाई समेटेर एउटा राष्ट्रिय संस्कृति बनाउनु पर्ने र यसरी सबैमा सांस्कृतिक सद्भाव उजागर गरेर राष्ट्रिय एकतामा वृद्धि गर्नु जरुरी भएको कुरामा उनी सदा दृढ रहेका थिए।

भारतका वरिष्ठ राजनीतिज्ञ तथा उत्तर प्रदेशका पूर्व मुख्यमन्त्री मुलायमसिंह यादवको २०२२ को अक्टुबरमा ८३ वर्षको उमेरमा निधन भयो। प्रसिद्ध भारतीय सामाजिक अभियन्ता श्रीमती इला भट्को गत नोभेम्बरमा ८९ वर्षको उमेरमा निधन भयो। त्यस्तै सोही महिनामा प्रसिद्ध बलिउड/टेलिभिजन कलाकार श्रीमती तवस्सुम गाभिलको ७८ वर्षको उमेरमा निधन भयो।

बीसौँ शताब्दिको अन्ततिर र एक्काइसौँ शताब्दिको प्रारम्भको समयमा चीनलाई प्रभावकारी नेतृत्व प्रदान गरेका नेता जियाङ जेमिनको गत ३० नोभेम्बर २०२२ मा ९६ वर्षको उमेरमा ल्युकेमियाको कारण साङ्घाई शहरको एक अस्पतालमा निधन भयो। भारतका प्रधानमन्त्री नरेन्द्र मोदीकी माता श्रीमती हिरावेन मोदीको गत डिसेम्बरमा १०० वर्षको उमेरमा निधन भयो।

विश्व विख्यात बडी विल्डर तथा प्रथम अश्वेत ‘मिस्टर अमेरिका’ क्रिस डिकर्सनको ८२ वर्षको उमेरमा डिसेम्बर २३ तारिखमा फ्लोरिडामा मुटुको व्यथाका कारण निधन भयो।

विश्वकै फुटबल इतिहासमा सर्वाधिक चर्चित ब्राजिलियन फुटबलर पेलेको निधन ८२ वर्षको उमेरमा डिसेम्बर २९ तारिखमा यानी विश्वकप फुटबल समापन भएको केही समय पछि हुन गयो। उनी कोलन क्यान्सरबाट पीडित थिए।

पोप बेनेडिक्ट सोह्रौँ जो २००५ देखि २०१३ सम्म क्रिस्चियन धर्मका सर्वोच्च गुरु यानी पोप थिए, उनको निधन गत डिसेम्बर ३१ मा ९५ वर्षको उमेरमा भयो। पोपको पदबाट राजीनामा दिने उनी पहिलो व्यक्ति थिए र उनले स्वास्थ्यको कारण देखाएर अवकास लिएका थिए।

रक गायनका सम्राट एल्भिस प्रेस्लीकी एक मात्र छोरी लिजा मेरी प्रेस्लीको गत जनवरी १२, २०२३ मा ५४ वर्षको उमेरमा निधन भयो। गायन क्षेत्रमा निक्कै नाम कमाएकी लिजा आफ्ना अति ख्याती प्राप्त पिता एल्भिस र अभिनेत्री माता पे्रस्सिलाकी एक मात्र सन्तान र सम्पूर्ण सम्पत्तिकी हकदार थिइन्। नेपालका एल्भिस भनेर चिनिने प्रख्यात रक गायक माइक खड्काको पनि ६८ वर्षको उमेरमा गत फेब्रुअरी २३ तारिखका दिन निधन भयो।

गत २०२३ को फेब्रुअरीमा पनि केही प्रख्यात हस्तीहरूको निधन भयो। ती मध्ये पाकिस्तानका पुर्वराष्ट्रपति परवेज मुसर्रफ तथा नेपालका विद्वत व्यक्तित्व हिमालयशमशेर राणा (९५), डा. मथुराप्रसाद श्रेष्ठ (८८) र श्रीमती ग्रेटा  राणा (८२) को निधन भएको थियो।

गत मार्च महिनामा नेपालका प्रसिद्ध अन्तर्राष्ट्रिय स्तरका फुटबल खेलाडी तथा प्रशिक्षक डम्बर सिँह गुरुङको ७१ वर्षको उमेरमा निधन भयो। सोही महिनामा स्वरकी धनी तथा प्रख्यात रेडियो समाचार वाचिका श्रीमती कृष्णा ताम्राकारको ८६ वर्षको उमेरमा निधन भयो।

विगत १ वर्षमा विश्वमा विभिन्न प्रकारका घटनाहरू घटे। रुस र युक्रेनको युद्धले पुरै युरोप र अमेरिका रुसलाई बहिस्कार गर्ने तथा युक्रेनलाई सघाउने कार्यमा लागे भने चीन, भारत र अन्य केही मुलुकले तटस्थ बसेर भित्र भित्र रुसकै समर्थन गरेको आभास दिए।

उता टर्की र सिरियामा गएको महाभूकम्पले ठूलो धनजनको नोक्सानी त भयो नै तर गृहयुद्धमा जकडिएको सिरियालाई पुरै विश्वले कुनै सहयोग गरेन। त्यस्तै अफगानिस्तानबाट एकतर्फी रूपमा अमेरिका र पश्चिमा मुलुक फर्किदिनाले सो मुलुक पुनः अँध्यारो युगमा पुग्न वाध्य भयो।

यसरी मानवताको कुनै कदर नै नगर्ने तर आफूलाई सभ्य र सम्भ्रान्त भन्ने अमेरिका र युरोप पुरै विश्वमा नाङिगन पुगे। चीनले व्यापारमा उछिन्ने डरले अमेरिका तथा युरोपका केही मुलुक र उनका पिछलग्गु राष्ट्रहरूले चीनलाई निरन्तर नाकाबन्दी र आयात तथा लगानी वहिस्कार गरिरहे भने ताइवानको मुद्दामा चीन निक्कै सख्त रूपमा पेश भइरहेको अवस्था छ।

यो वर्ष जनसंख्याको हिसाबले भारतले चीनलाई उछिन्यो र चीनको जनसंख्या करिव ८ लाख ५० हजारले घट्नुका साथै युवाको तुलनामा ज्येष्ठ नागरिकको संख्या बढ्न थालेर त्यहाँ अब मजदूरी महँगीन थालेकोले उत्पादन पनि पहिलेको दाँजोमा महँगो हुने भयो।

युद्ध र महामारीका कारण विश्वमा निकै विकराल रूपमा मन्दी छाएको छ भने दक्षिण एशियामा पाकिस्तान र श्रीलङ्का नराम्ररी मन्दीको चपेटामा पर्न गए।

अर्कोतर्फ इरान र अरब राष्ट्रहरूबीच सम्बन्ध सुधार हुँदै जानु र सिरियालाई पनि अरब लिगमा पुनः प्रवेश गराउने कार्यको थालनी हुनुका साथै चीनसँग दक्षिणपुर्वी एशिया, जापान र अष्ट्रेलिया तथा केही ठूला युरोपेली मुलुकले समेत राम्रो सम्बन्ध राख्न खोजेकोले आउँदा दिनहरू पुरै अँध्यारा चाहिँ पक्कै छैनन्। अफ्रिका महादेशको आर्थिक विकासक्रम पनि सकारात्मक तवरले अघि बढ्नु राम्रो कुरा हो।

यो सब सन्सनीपूर्ण वातावरणबाट बेखवर र बेमतलव नेपालको राजनीति र पत्रकारिता क्षेत्र चुनाव, अपवित्र गठवन्धन, खुट्टा तानातान, मालिकको चाकडी र आदेश पालना, प्रदेशको नामाकरण, जातपात, छुवाछुत, भ्रष्टाचार, नातागोताको नियुक्ति, साझा कार्यक्रम, नागरिकता, राष्ट्रघात, विकास निर्माणमा ढिलासुस्ती, अभाव र भाँडभैलोमा नै रुमल्लिइरहेका छन्।

झिना मसिना मुद्दाहरूलाई ठूलो बनाउने, विकास आयोजनाहरू सम्पन्न हुन निकै धेरै समय लगाउने र सम्पन्न भएका आयोजनालाई पनि सञ्चालन गर्न नसक्ने, चरम फजुल खर्ची, अव्यावहारिक वजेट र योजनाको निर्माण, पार्टीका अयोग्य र भ्रष्ट झोलेहरूलाई महत्वपूर्ण पदमा आसिन गराउने जस्ता काममा नै सरकार व्यस्त हुने गरेको र मुलुकका प्रमुख पत्रपत्रिका समेत त्यस्ता कुराको समर्थन गर्ने र आफूलाई फाइदा हुने समाचार बनाएर पत्रकारिताको सिद्धान्त विपरित हिँड्ने कार्य भइरहेको अवस्था छ।

आर्थिक विकासलाई पाखा लगाएर मुलुकलाई धरासायी बनाउँदै लगेपछि लामो प्रयास पश्चात भएको राजनीतिक र सामाजिक रुपान्तरण पनि दिगो भएर रहन सक्दैन।

त्यसैले राजनैतिक पार्टी, नेता, अर्थ तथा योजनाविद्, कर्मचारीतन्त्र र सबै सम्वद्ध पक्षहरूले अबको यानी २०८० को दशकलाई ‘विकास र निर्माणको दशक’को रूपमा मन, वचन र कर्मसहित अघि बढाए हाम्रो मुलुक अझै पनि समृद्ध हुन कुनै किसिमले गाह्रो हुने थिएन होला।

लेखक विकास अर्थशास्त्री र पूर्व बैंकर हुन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *