रौतहटको गढीमाईमा दुई पक्षबीचको झडपमा गोली चल्यो, एकजनाको मृत्यु
काठमाडौं। रौतहटको गढीमाई–८ मा गोली चल्दा एक जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख एसपी वीरबहादुर बुढामगरका अनुसार राम ईश्वर पक्षले चलाएको गोली लागेर गम्भीर घाईते भएका राजकुमार राय यादवको वीरगञ्जस्थित नारायणी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ।
रौतहटको गढीमाई नगरपालिका–८ धोबिनिया गाउँमा सडक बनाउने विषयमा दुई पक्षबीच झडप भएको थियो। स्थानीय रामईश्वर राय र राजकुमार यादव पक्षबीच सडक फराकिलो गर्ने विषयमा झडप हुँदा राजकुमार पक्षधरले ढुङ्गा मुढा गर्न थालेपछि राम इश्वर राय यादव पक्षले गोली चलाउदा राजकुमार रायको मृत्यु भएको थियो।
उनीसँगै खुट्टामा गोली लागेर घाइते भएका निरज यादव र झडपमा ढुङ्गा लागेर घाईते भएका स्थानीय राम प्रताप यादव, कपिलदेव राय यादव सहित चार जनाको गरुडा स्थित ग्रान्डी अस्पतालमा उपचार भइरहेको छ। झडपमा संलग्न नौ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
Facebook Comment