अन्नपूर्ण आधार शिविरमा हराएका भारतीय नागरिकको सेनाद्वारा उद्धार
काठमाडौं । नेपाली सेनाले अन्नपूर्ण हिमालको आधार शिविर क्षेत्रमा केही दिनदेखि हराइरहेका भारतीय नागरिक अनुराग मल्लुको उद्धार गरी पोखरा हुँदै काठमाडौँ ल्याएको छ ।
अन्नपूर्ण हिमाल आरोहणका क्रममा मल्लु यही वैशाख ४ गते दिउँसो २ः३० बजे क्याम्प–२ र ३ को बीचमा हिउँको खोचमा परी हराइरहेका थिए । अन्नपूर्ण हिमालको सफाइ अभियानमा जुटेको नेपाली सेनाको टोलीको सहयोगमा फेला पारी उनको आज बिहान उद्धार गरिएको हो ।
स्वास्थ्य गम्भीर अवस्थामा रहेका मल्लुलाई आधार शिविरमा ल्याएर सेनाको चिकित्सक टोलीले प्राथमिक उपचार गरेको र त्यसपछि पोखरास्थित मणिपाल अस्पताल हुँदै थप उपचारका लागि सेनाकै हेलिकोप्टरबाट काठमाडौँ ल्याइएको नेपाली सेनाका प्रवक्ता कृष्णप्रसाद भण्डारीले जानकारी दिए । उनको अहिले मेडिसिटी अस्पतालमा उपचार भइरहेको छ ।
Facebook Comment