ओझेलमा परेको तालः बीसहजार

कपिल लोहनी
९ वैशाख २०८० ७:०४

नेपालमा कुन कुन तालहरू छन् भनेर कसैले सोध्यो भने हाम्रो मनमा झट्ट आउने नामहरू फेवा, रारा, रुपा र बेगनास हुन्। तर यी बाहेक पनि दर्जनौं अति सुन्दर तालतलैया पनि छन् नेपालमा भन्दा धेरै मानिसहरू छक्क पर्दछन्।

हामी आफैं पनि सबै तालहरू बारे अनभिज्ञ नै छौं भने कैयन्का नाम सुनेको भएता पनि हामी आजसम्म पुगेका छैनौं। तिनै मध्येको एउटा सानो तर सुन्दर ताल ‘बीस हजार’को हालैमात्र भ्रमण गरेपछि म आफैंलाई पनि एक प्रकारको अति नै आनन्दको महसुस हुन गयो।

नयाँ वर्षको आगमनसँगै केही दिन चितवनतिर घुम्न जाने विचारले हामी केही साथीभाई हौसिई हाल्यौं। शुरुमा पोखरा जाने योजना बुन्दा बुन्दै त्यहाँ जाने मोटर बाटोको नाजुक अवस्थाका कारण हाम्रो योजना चितवनतर्फ मोडिन पुग्यो।

काठमाडौंको नागढुङ्गादेखि नौबिसेसम्म र त्यहाँबाट मलेखुसम्मको बाटो चौडा गर्ने काम छेउ छेउमा मात्र गर्दै बीचको राम्रै अवस्थाको बाटोलाई हाल नछोएकोले निर्माण कार्य पनि भइरहेको र बाटो पनि सुचारु भइरहेको अवस्था देख्दा मनमा एक प्रकारको सन्तोषको अनुभूति भयो।

यसको ठीक विपरित मुग्लिङ-पोखरा र नारायणगढ-बुटवल खण्डको राजमार्ग चौडा पार्ने निहुमा विगत केही वर्षदेखि पुरै राजमार्ग हिँड्नै नहुने गरी भत्काइएको छ।

यसरी वर्षौंसम्म यात्रुहरूलाई सकस दिँदा पनि सरकार र प्रशासन मुकदर्शक नै भएर बसेको देख्दा ठूलो आश्चर्यमा परेका हामी हाल निर्माणाधीन नागढुङ्गादेखि मलेखुसम्मको बाटोमा सहज रूपमा यात्रा गर्न पाउँदा भने सरकारले मुग्लिङ-पोखरा र नारायणगढ-बुटवल राजमार्गको मर्मत-सुधारमा भएको जस्तो गल्ती नहोस् भनेर केही सावधानी अपनाएको होकी जस्तो महसुस भएको छ।

धेरै दिनदेखि काठमाडौंको कोलाहलमा रहन वाध्य भएका हामी चितवनको रामनगरको जङ्गल पस्ने वित्तिकै नै आनन्दित मुद्रामा पुगिसकेका थियौँ भने झनै नारायणगढ बजार पुगेर त्यहाँ हालै बन्दै गरेको ६ लेनको बाटो हुँदै पुर्वतर्फ लाग्न थालेपछि त अझ बढी रमाइलो महसुस भयो।

त्यसमाथि अझैपनि गर्मी बढीसकेको रहेनछ। मौषम एकदम अनुकुल प्रकारको। काठमाडौं भन्दा बिल्कुलै भिन्न परिवेश। खुला र होलो वातावरण। मच्छरले आफ्नो रूप नदेखाइसकेको अवस्था।

भरतपुरको चौबिस कोठीबाट पूर्वतिर लागेपछि हाकिमचोक नाघेर टिकौलीको जङ्गल शुरु हुने ठाउँ आइपुगेपछि दक्षिणतर्फ बीसहजार तालतिर जाने संकेतसहितको गेट आउँछ।

यस्तै टिकौलीको जङ्गल कटेर टाँडी शुरु हुने वित्तिकैको सिँचाई गेटबाट दक्षिणतर्फको बीसहजार तालतिर जाने संकेतसहितको गेटबाट पनि हामी सो तालमा पुग्न सक्दछौं।

महाभारत पर्वत श्रृङ्खलाको काखमा अवस्थित चितवन राष्ट्रिय निकुञ्जभित्रको मध्यवर्ती क्षेत्र (वरण्डाभार वन क्षेत्र) मा रहेको बीसहजार ताल पुग्न हामी भने टिकौलीको जङ्गल शुरु हुने ठाउँको भरतपुर महानगरपालिकाको दक्षिण-पूर्वी किनाराको तराई वोटलर्स नेपाल (कोकाकोला कारखाना) निरैबाट दक्षिणपट्टि लाग्यौं।

किनकी बीसहजार तालको अवलोकन पश्चात हामी त्यहाँबाट करिव ७ किलोमिटर उत्तरमा रहेको लेक ट्वान्टी थाउजेण्ड रिजोर्टमा एक रात बस्न जाँदै थियौं।

राष्ट्रिय निकुञ्जलाई घेरेर काँडे तारबार लगाइएको तथा करिव २० मिटरको खाली चौर पुरै बाटो भरी छोडिएको यो खुला ठाउँमा साँघुरो सडक बनेको भएपनि निक्कै टाढासम्म कालोपत्रे भइसकेको रहेछ।

सालका ठूला ठूला रुखहरू सडक किनारमा भएकाले सकेसम्म रुख नकाटी बनाइएको सडकको बीच बीचमा पनि रुख बचाएर कालोपत्रे गरेको देख्दा निक्कै खुशी लाग्यो।

एकातिर यसरी रुखको बचाउ गर्ने काम भइरहेको छ भने अर्को तर्फ ठूला पार्टीका नेता भनाउँदा केही धमिराहरू लाखौं पुराना रुख काटेर विमानस्थल तथा अन्य परियोजना बनाउने भनेर एकोहोरो रट लगाएर उफ्रिरहेका छन्।

यही साँघुरो तर मनोरम सडकबाट करिव १५ मिनेट यानी १५ किलोमिटर जति भित्रसम्म मोटर गाडीमा अघि बढेपछि भने सडकको देबे्रपट्टि बीसहजार तालको मुलद्वार जनाउने ठूलो वोर्ड देखिन्छ। यो तालमा जाने अन्य बाटाहरू पनि छँदैछन्।

मुलद्वारमा भएको चौकीमा हामी ४ जना र मोटरगाडीको पास बनाउन ३७५ रुपैया तिरेपछि हामी भित्र जङ्गलमा जान पाउने भयौं। एक व्यक्तिको २५ रुपैयाँ शुल्क लाग्ने रहेछ। बाँकी मोटरगाडीको।

चितवन राष्ट्रिय निकुञ्ज भित्रै जानु पर्ने भएकोले जङ्गली जनावरहरूसँग आमने सामने हुन सक्ने भएको हुँदा त्यो बाटोमा पैदल हिँड्न भने दिइँदैन रहेछ र यदि वन्यजन्तु देखिएमा पनि २५ मिटरको दूरीबाट शान्त तवरले अवलोकन गर्न प्रवेश पत्रमा निर्देशन छापिएको रहेछ।

करिव १० मिनेटको मोटर यात्रा पछि भने हामी सेनाको पोष्ट अगाडि पुग्यौं र पार्किङस्थलमा गाडी राखेर हाम्रो पास देखाएर हामी देब्रेपट्टिको काठेपुल तरेर बीसहजार ताल परिसरमा पस्यौं।

सालका बडेमानका रुखहरू छिचोल्दै केही भित्र गएपछि हामी अकस्मात कुनै कथाको स्वर्गमा नै पुगेजस्तो महसुस हुने सुन्दर ताल तथा हरियालीमा पुग्यौं। ज्यादै नै सुन्दर यो तालको अवलोकन गर्न हामीसहित अन्य केही व्यक्तिहरू पनि आएका थिए।

आकाशमा हवाइजहाजबाट यो तालमा हेर्दा २०,००० लेखिएको जसरी नागबेली हुँदै पानी बग्ने गरेकोले यसको नाम बीसहजार ताल राखिएको एकथरी जन भनाई छ भने मुलुकभर हजारौँ सिमसार क्षेत्र भएकाले पनि यसलाई बीसहजार भनिएको अर्का थरीको कथन छ।

त्यस्तै टिकौलीको प्रवेशद्वारबाट यो तालमा पुग्न करिव २०,००० पाइला हिँड्नु पर्ने भएकोले पनि यस्तो नाम राखिएको अर्को थरी जन विश्वास छ।

ठाउँ ठाउँमा हरियो रङ्ग लगाइएका सिमेन्टका बेन्चहरू राखिएको तथा व्यवस्थित शौचालय पनि बनाइएको तालको त्यो अगाडिको क्षेत्र निक्कै सफा सुग्घर थियो। त्यहाँ फोहर नगर्न तथा आफूले गरेको फोहर आफैंसँग लग्न पनि प्रवेश पत्रमार्फत  निर्देशन गरिएको थियो।

तालमा रुख तथा आकाश र बादलको छायाँ देखिने। सो शान्त तालको किनारामा केही पुराना डुङ्गाहरू बेवारिसे रहेको हामीले देख्यौं। राप्ती नदीबाट खगेरी नहर हुँदै पसेको पानी र वर्षतको पानीबाट बनेको यो तालमा गोही पनि हुँदा रहेछन्।

त्यसैले होला त्यहाँ डुङ्गा चलेको पनि देखिएको थिएन। तर हामीले पोस्टरहरूमा देख्ने गरेका सुन्दर विदेशी प्राकृतिक दृश्यहरू भन्दा यो ठाउँको दृश्य कुनै हिसाबले पनि कम थिएन। तालको किनाराहरू तथा ताल बाहिरको क्षेत्रमा लडेर बसेका धेरै रुखहरू हामीले देख्यौं।

त्यस्ता प्राकृतिक तवरले लडेका र भाँचिएका रुख तथा तिनका हाँगाले पनि एक प्रकारको सौन्दर्य प्रदान गरिरहेको भएता पनि हामीकहाँ यथोचित नियम नभएकोले त्यस्ता काठ र रुखपात त्यहाँबाट नहटाइएको हुन सक्छ।

भित्री मधेशमा करिव ३,२०० हेक्टरमा फैलिएको रामसार क्षेत्रभित्र १०० हेक्टरमा फैलिएको यो बीसहजार ताल नदीबाट बनेकोले नागबेली आकारको छ। सन् २००३ मा यस क्षेत्रलाई अन्तर्राष्ट्रिय महत्वको रामसार सूचीमा सूचीकृत गरिएको रहेछ।

घना वन क्षेत्रभित्रको विशाल सिमसार कुण्ड भएकोले यहाँ बाघ, भालु, गैंडा, हात्ती, बँदेल, दुम्सी, हरिण, मृग आदि पानी पिउन आउँछन् भने चील, गिद्ध, विभिन्न प्रजातीका चरा, हाँस, माछा, सर्प, अजिङ्गर, गोही आदि पनि पाइन्छन्।

त्यस्तै सालको रुखदेखि लिएर यहाँ विभिन्न प्रकारका १५४ प्रजातिका वनस्पति समेत प्रचुर मात्रामा पाइन्छन्। ती मध्ये ४७ प्रजातीका रुख, ४४ प्रजातिका लहरे विरुवा, ५४ प्रकारका घाँस र ९ प्रकारका बनमारा विरुवा पनि यहाँ पाइन्छन्।

एक प्रकारको भुसुना जस्ता प्रजातिले हाम्रो मुखको वरिपरि आएर निक्कै असहज बनाएका थिए। यो सिमसार क्षेत्रमा विभिन्न प्रकारका वस्तुहरू भेटिने भएकोले यसको वरिपरी बोटे, माझी, मुशहर, कुमाल, दराई, चेपाङ, थारु आदि जातिहरू बसोवास गर्दछन् र वनबाट खर काटेर छाना छाउने र माछा तथा गँगटा पनि सिमसार क्षेत्रबाट नै पक्रेर ल्याउने गर्दा रहेछन्।

चरापे्रमीहरूको लागि यो ताल एक उपयुक्त गन्तव्य हुन सक्दछ। पौष-माघ महिनाको जाडोमा यहाँ रुसको साइवेरियादेखि चराहरूको बथान आएर केही समय बसेर, बचेरा काढेर जाने गर्दछन्। यो तालमा वर्षभरीमा २७३ प्रजातिका चराहरू आउने जाने गर्दछन्।

यहाँ ३७ प्रकारका किराफट्याङ्ग्रा, ३० प्रकारका उभयचर र सरिसर्पक जीव तथा २५ प्रजातिका माछा र अन्य जिवाणुहरूको बास भएकोले र हरियाली तथा पानीको प्रचुरताका साथै शान्त वातावरण र मनुश्यको कम आवत जावतले गर्दा र नजिकै खाद्यान्नको विशाल खेती हुने गरेकोले पनि चराहरू आकर्षित भएका होलान्।

विश्वमा नै लोपोन्मुख १४ थरीका जीवजन्तु यहाँ पाइन्छन्। बीसहजार तालकै सहायक तालको रूपमा त्यहाँ कुमाल ताल लगायत अन्य ससाना दर्जनौँ तालहरू पनि छन्।

नेपालमा सिमसार क्षेत्र धेरै भएपनि दिनानुदिन यस्ता क्षेत्रको अतिक्रमण गरेर पानी सुकाएर रुख कटान गर्दै पुरेर प्लटिङ गर्ने र घर बनाउने निक्कै शक्तिशाली गिरोह रहेको तथा तिनको पहुँच राजनैतिक वृत्त र सरकारी संयन्त्रसम्म फैलिएकोले तिनलाई कुनै कार्वाही हुँदैन भन्ने कुरा पनि बेला बेलामा सुन्नमा आउँछ।

ताल, पोखरी, नदी किनारलगायतका क्षेत्र मिचेर विकासको बहानामा विभिन्न खाले निर्माण गरेर अकुत पैसा कमाउने खेला भइरहे पनि सम्बन्धित क्षेत्र मुकदर्शक भएर मौन बसिरहेको देखिन्छ।

तर अब भने स्थानीय सरकार र नागरिक समाज पनि जागेर त्यस्ता सिमसार क्षेत्र तथा वनजङ्गल जोगाउने अभियानमा नै लागेकाले आउँदा दिनहरूमा भने त्यस्ता ठाउँको बचाउ हुनेछ भन्ने कुरामा केही विश्वस्त हुने बाटो पनि बनेको छ।

हालै पूर्वी तराईको एउटा जिल्लामा सिमसार क्षेत्र मासेर १०० बिघा भन्दा बढी जमीन भूमाफियाहरूले मिचेर आफ्नो नाममा गरेको कुरालाई त्यहाँको स्थानीय र प्रदेश सरकारले समेत निक्कै सम्बेदनशील तवरले लिएकोले अब त्यसरी सिमसार र वन क्षेत्र मिच्न नसकिने कुरा प्रमाणित भएको छ।

त्यस्तै सर्लाहीको बागमती नगरपालिकाका मेयर भरत थापाले आफ्नो विशेष अग्रसरता र स्थानीय बासिन्दाको अथक परिश्रम तथा मेहनतले एक कृतिम तालको निर्माण गर्न लगाएका रहेछन्। भारतीय र आन्तरिक पर्यटक तथा नगरवासीलाई सो तालमा आकर्षित गराएर नगर विकासको लागि यथेष्ट आम्दानी जुटाउने आशा गरेका छन् उनले।

यसरी कृतिम तालको त विकास भइरहेको बेलामा प्राकृतिक तालहरू मास्न त अब स्थानीय बासिन्दाहरूले नै दिँदैनन् होला, किनकी उनीहरूले यस्ता क्षेत्रको महत्व राम्ररी बुझ्दै गएका छन्।

हिमालमा पनि जलवायु परिवर्तनको प्रभाव तिव्र रूपले पर्न थालेकोले हिमाल नाङ्गा र हिमरहित काला बन्दै गएका छन् भने त्यहाँ भएका हिउँ जम्ने ठाउँहरू हिउँ पग्लेर पोखरी वा ताल जस्ता भएका छन्।

तर यस्ता तालहरू लामो समयसम्म रहँदैनन्। यस्तो क्रम बढ्दै जाने हो भने यसरी हिउँ पग्लेर बनेका ताल पनि सुक्दै पुरै हिमालय मरुभूमि हुन पनि कुनै समय लाग्दैन। पाकिस्तान र भारतका कैयन् हिमाली क्षेत्र सुख्खा हुँदै गएर त्यहाँ पानीको हाहाकार मच्चिन थालेको छ भने कतिपय ठाउँहरू मरुभूमि जस्ता नै हुन थालिसकेका छन्।

बीसहजार तालको आनन्ददायी भ्रमण पश्चात फर्कने क्रममा त्यहाँको सेनाको पोस्टसँगै अवलोकनकर्ताहरूको लागि राखिएको पिउने पानीले मलाई आफ्नो बचपनको समयतिर डोर्‍यायो।

आजभन्दा ४० वर्ष अघिसम्म पनि काठमाडौंका विभिन्न मठमन्दिर, सार्वजनिक स्थल र सेनाका ब्यारेक बाहिर पानी पिउन चाहनेहरूका लागि चिसो पानीको प्रवन्ध गर्न माटाका बडा बडा घ्याम्पाहरू जमीनमा गाडेर राखिएका हुन्थे र तिनलाई छायाँ दिन तीनको माथि खरको छत पनि बनाइएको हुन्थ्यो। हाम्रा घरमा पनि त्यतिबेला माटाका गाग्री र सुराही हुन्थे।

तिनैबाट चिसो पानी सारेर हामी प्यास मेटाउँथ्यौं। बीसहजारी तालको ढोकामा त्यस्तै माटाका घ्याम्पाबाट पानी निकालेर पिउँदा पहिलेकै समयको याद आउने नै भयो।

बीसहजार तालबाट फर्किएर निकुञ्जको बाहिर आएपछि हामी त्यहीँ नजिक अवस्थित एल.टी.के. (लेक ट्वान्टी थाउजेन्ड) रिजोर्टमा एक रात बस्न गयौं।

पारिवारिक वातावरण भएको सो रिजोर्टमा बसेर निक्कै हरियालीको बीच आधुनिक पौडी पोखरीमा पौडी खेल्नुका साथै अमेरिकानो कफीको मज्जा लिन पाउँदा अर्कै मज्जा आयो भने त्यहाँको अर्गानिक सागसब्जी, फापरको ढिँडो तथा त्यतै उब्जाउ गरिएको सेतो तथा खैरो चामलको भात, गहुँको रोटी र त्यहीँ पालिएको गाईको घिउ, मही, दही र दुध खान पाउँदा मन साह्रै प्रफुल्लित भयो।

अर्को दिन सौराहाको भ्रमण, मनकामना माताको दर्शन र केवलकार तथा कुरिनटारको रिभर साइड रिजोर्टमा बास तथा बाह्रसिंगे वियर फ्याक्ट्रीको भ्रमण आदि पश्चात घर फर्किएपछि केही समयको निम्ति धेरै उर्जा सञ्चय भएको महसुस भयो।

लेखक विकास अर्थशास्त्री र पूर्व बैंकर हुन्




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *