नेपालले ओमानमाथि शानदार जित हात पार्दाका गर्विला क्षणहरु (फोटो फिचर)

डिसी नेपाल
८ वैशाख २०८० १८:४३

काठमाडौं। एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगिताअन्र्तगत आज भएको आफ्नो दोस्रो खेलमा नेपालले ओमनलाई पराजित गरेको छ ।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा आज भएको खेलमा नेपालले ओमनलाई ८४ रनले पराजित गर्दै विजयी भएको हो । यसजितसँगै दुई खेल खेलेको नेपालले चार अङ्क जोडेको छ । नेपालले आफ्नो पहिलो खेलमा मलेसियालाई ६ विकेटले पराजित गरेको थियो ।

खेलमा नेपालले जितको लागि दिएको तीन सय ११ रनको लक्ष्य पच्छ्याएको ओमन ४६ दशमलव ३ ओभरमा सबै विकेट गुमाउँदै दुई सय २६ रनमा समेटियो । ओमनका खेलाडी अकिब इलियास क्रिजमा व्याटिङ गर्न नआई घाइते भएपछि उनी रिटायर्ट आउट भए र नेपालको जित सुनिश्चित हुन पुग्यो ।

ओमनको लागि मोहम्मद नदिमले सर्वाधिक ६५ रनको योगदान दिए । ८४ बल खेलेका उनले सात चौका र एक छक्काको मद्दतमा ६५ रन बनाएका हुन् । यसैगरी सन्दिप गौडले ४६ रनको योगदान दिए भने कस्यप प्रजापतिले २५ तथा फायज बुट्टले १९ रन बनाए ।

बलिङतर्फ नेपालका सन्दिप लामिछाने र करण केसीले समान तीन/तीन विकेट लिए भने दीपेन्द्रसिंह ऐरीले दुई तथा ललित राजवशीले एक विकेट झारे ।

त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर तीन सय १० रनको योगफल बनाएको हो । यो नेपालले एक दिवसीय खेलमा हालसम्मकै उच्च योगफल बनाएको हो । यसअघि घरेलु मैदानमा भएको आइसिसी विश्वकप क्रिकेट लिग २ मा नेपालले पपुवा न्युगिनीविरुद्धको खेलमा दुई सय ९७ रन थियो ।

नेपालका लागि कुशल मल्लले शतकीय पारी खेले । ६४ बल खेलेका उनले सर्वाधिक एक सय आठ रनको योगदान गरे । उनले १० छक्का र ९ चौकाको मद्दतमा एक सय आठ रनको योगदान गरेका हुन् । खेलको सुरुआती समयमा उत्कृष्ट हुन नसकेको खेलमा नेपालका मध्येक्रमका ब्याटरले राम्रो साझेदारी गरेपछि नेपाल बलियो स्थितिमा पुुगेको थियो ।

नेपाली टोलीको स्कोर शून्य रनमा रहँदा दुवै ओपनरलाई गुमाएको नेपालले २८औँ बलमा रनको खाता खोलेको थियो । तेस्रो विकेटका लागि कप्तान रोहितकुमार पौडेल र भिम सार्कीले ५४ रनको साझेदारी गरेका थिए । कप्तान रोहितले २३ रन बनाउँदा भिम ३३ रनमा आउट भए ।

पाँचौ विकेटका लागि कुशल मल्ल र आरिफ शेखले ७५ रनको साझेदारी गरेका थिए । आरिफ २९ रन बनाउँदै आउट भएका थिए । यसैगरी सोमपाल कामीले ४८ बलमा ६३ रनमा अविजित रहे । सोमपाल कामीले ४९ बलमा ७ चौकाको सहयोगमा अर्धशतक बनाएका हुन । त्यस्तै करण केसीले १५ बलमा २९ रन बनाउँदै अविजित रहे ।

बलिङतर्फ ओमानका लागि आयान खानले दुई विकेट लिए भने बिलाल खान, कलिमुल्लाह खान, जिशान मकशुद, फायाज बट र जतिन्दर सिंहले समान एक/एक विकेट झारे ।

तस्वीरः नेपाल न्युज बैंक




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *