नेपालको नीति, थिति र राजनीति

शंकरप्रसाद रिजाल
१३ वैशाख २०८० ६:४५

संसारको सृष्टि नीति र थिति र सेवामा अडिएको छ। यदि कोही यसबाट टाढै बस्न चाहन्छ भने यसको यो संसारमा कुनै महत्व हुँदैन।
यदि कुनै देशमा नीति थिति सेवा र सहकार्य हुँदैन, त्यो देशको महत्व संसारमा रहँदैन, चाहे जतिसुकै अर्काले लेखेका किताब पढेर डिग्री हासिँल गरेको किन नहोस्।

पढे लेखेका तर सोच र संस्कारमा कुनै परिबर्तन नआउने वा ल्याउन नचाहने व्यक्तिको पनि यस संसारमा खाने बस्ने जस्ता पशुकार्य बाहेक केही नहुने सर्वथा सिद्ध विषय हो।

नीतिकै कुरा गर्ने हो भने यो ल्याटिन भाषाको ‘एथिका’, अंग्रेजी भाषाको एथिक्स र नीतिशास्त्रको नैतिकता, आचार नीति, नीतिबन्ध, आचार बिचार र आचारसंहिताबाट आएको शब्द हो जसले के राम्रो के नराम्रो भन्ने कुराको जानकारी दिन्छ।

यो एक मानव पक्षको ब्यबहार रिती रिवाजमा आधारित छ। यही नीतिको आधारमा नै संसारमा राम्रो र नराम्रोको प्रतिफल निस्किन्छ। व्यक्ति राम्रो भए परिवार, परिवार राम्रो भए समाज, समाज राम्रो भए राष्ट्र र राष्ट्र राम्रो भए संसारको लागि उदाहरणीय देखिन्छ।

यसको ठिक बिपरित नीति वा आचरण,सोच र ब्यबहार, संस्कार र संस्कृति नराम्रा भएका र लोभी पापी, छलकपट गर्नमा सिपालु, स्वार्थी र घमण्डी छन् भने बाँचेकै अवस्थामा पनि समाजको अगाडि जिउँदो लाश सरह यस धर्तीमा बसिरहेका हुन्छन्, चाहे ती राजनीतिज्ञ, ब्यापारी, उद्योगपति, सेवा प्रदायक वा अरु कुनै पनि विधामा लागेकाहरु किन नहुन्।

त्यस कारण जसले राम्रो नीति र नैतिकताको अबलम्बन गरेका हुन्छन् तिनैले नै आफ्नो थिति राम्रोसँग बसाली परिवार र समाजमा राम्रोसँग बस्ने गरेका हुन्छन्। यस्ता व्यक्तिले गरेको राजनीति, सेवा र जनताप्रतिको आस्था कमसेकम ९० प्रतिशत स्वस्थ रहेको हुन्छ।

यस्ता व्यक्तिले चलाएको राजनीति पनि कुशल, अनुशासनपूर्ण र बिना कुनै भेदभावरहित भइ आदर्श राजनीति हुन जान्छ। परिवार बिग्रिने घर भित्रको नीतिले हो। परिवारमा जेठो बाठो बेस मानिसले भनेको कुरा सबैले अनुशरण गरेमा परिवारको थिति राम्रो र मजबुत हुन्छ।

तर जब छलछाम गर्ने, एकले अर्काको कुरा नमान्ने, आफैं जान्ने सुन्ने हुने, ठूलो हुने, अर्काको कुनै वास्था नगर्ने, नीति नियममा नबस्ने भएमा घरको नीति थिति र सहयोग र सेवा सम्पूर्ण कुराको परिस्थिति उदास र निरस बन्न जान्छ।

यही नै कुरा राष्ट्रमा पनि लागू हुन्छ। जुन देशको नीति नियम नैतिकतामा अडेको हुन्छ र जहाँ सारा आफ्ना जनताका लागि राज्य सत्तामा बस्ने नेताले आफ्ना जनताका लागि हरेक कुराको सुख सुविधा प्रदान गर्न सधैं दत्त चित्त भएर लागि परेर रहेका हुन्छन् त्यो देशको नीति थिति र राजनीति तिनवटै चिज राम्रो र स्वस्थसँग चलिरहेको हुन्छ।

यही कुरालाई अंगीकार गरी कैयौं समस्याको बाबजुदपनि भारत, चीन, अमेरिका, बेलायत, फिलिपिन्स, मलेसिया, सिंगापुर, जापान र युरोपका देश उन्नतिको शिखरमा पुगेका छन्। जनताहरु अनगिन्ति सुविधाबाट सम्पन्न भएर बसेका छन्।

रेल गाडी सडक यातायात, खानेकुराका सामान, होटेल रेस्टुरेन्ट सबै कुराबाट भरपुर छन्। चिकित्सा, कृषि, उर्जा, वैज्ञानिक उन्नति, शिक्षा, सामाजिक थिति, सरकारले दिनुपर्ने सुबिधाबाट उनीहरु खुसी छन्।

यस्तो नीति थिति र सवल राजनीति भएका देशहरु सबै बिकसित श्रेणीमा रहेका छन्। तर नेपाल एक त्यस्तो देश हो जहाँ नीति,थिति र राजनीति तिनवटै नभएको पनि होइन। यो देशको नीति सनातन धर्ममा र बेदबेदांगमा आधारित रहेकोले अरु देशको भन्दा अझ विशिष्ट र गहिरो छ।

थितिको बारेमा पनि यो देशको पारिवारिक, सामाजिक र राष्ट्रिय एकता बिशिस्ट प्रकारको छ। परिवारमा बाजे देखि नाति नातिनासम्म सँगै बसी ठुला र जेठा मान्छेले भनेको सानाले अनुशरण गर्ने र सानाले ठूला आफन्तबाट माया र आशीर्वाद लिने चलन रहेकोले थितिको कुनै कमी छैन।

यस कुरामा हामी पूर्वीय सभ्यतामा निकै धनिमानी गनिन्छौं। राजनीतिमा पनि त्यस्तो नराम्रो थिएन। राणा शासनमा पनि धेरथोर नीति थिति रहेकै थियो। धेरै ठूला ठूला नीति तथा थितिका कार्यक्रम नभएता पनि जनतालाई राम्रोसँग राखेकै थिए त्यो बेलाको समय अनुसार।

मुलुकी ऐन, तहशिल्को कार्यालय, कौशी तोषाखाना, मालअड्डा, सरकारी कार्यालय, त्रिचन्द्र कलेज, दरबार हाइस्कुल आदि खोलेर देशको शासन गरिरहेका थिए। कैयौं दरबारहरु बनाए।

तर त्यही बेलामा गतिलो योजना ल्याएर बिकासको गतिलाई अगाडि बढाउनु पर्नेमा विदेशको देखासिखीमा दरबार र महल बनाउन पट्टी लागेर केही गल्ती गरेकै मानिन्छ। २००७ सालसम्म जसो तसो मन्द गतिमा चलेकै थियो। तर गतिहीन अवस्थामा भने थिएन।

२००७ सालपछि देशमा प्रजातन्त्र आएपछि शुन्य भएको राजनीतिमा तरंग आयो। धेरै नेता अगाडि बढेर देशमा भैरहेको नीति थिति र राजनीतिलाई अझ दरिलो पार्न सबै जनता लागे। देशको नीति थिति र राजनीतिलाई सुदृढ पार्न राजा त्रिभुवन पनि सडकमा ओर्लिएकै हुन्।

देशमा अनेकौं उतारचढाव भई २०१५ सालमा देशमा प्रथम निर्वाचित प्रधानमन्त्री बिपी कोइराला बन्न पुगे। तर अकस्मात २०१७ सालमा राजा महेन्द्रले भित्री कुरा बुझी सम्पूर्ण नीति थिति र राजनीतिलाई अझ सवल र सुदृढ बनाउन शासन सत्ता आफ्नो अन्तर्गत लिइ राज्य शासन चलाउन थाले।

निर्दलीय पञ्चायती व्यवस्था कायम गरी २०२७ सालसम्म शासन गरे। त्यो बेलामा नेपालमा हरेक कुरामा अत्यन्त धेरै नीति नियम र राजनीतिमा थिति बसेकै थियो। नीति थिति र राजनीतिले कोल्टो फेरेको भनेकै सबैभन्दा बढी उनैको पालामा थियो।

जे भएपनि अरु देशको अगाडि यो देशको नीति थिति र राजनीति दर्बिलो थियो। त्यस्तै राजा वीरेन्द्रको सुरुदेखि २०४७ साल सम्म पनि देशको नीति थिति र राजनीति केही बिग्रेको थिएन, बरु बिस्तारै बिकसित भइ गइरहेको थियो।

तर २०४७ साल लगत्तै पछि देशमा नेतामा भुत चढ्न थाल्यो। सबै मिलेर व्यबस्था र राजाको बिरोध सुरु भयो। प्रजातन्त्रप्रेमी राजा वीरेन्द्रले बहदलीय व्यवस्थाको घोषणा गरे।

तर प्रजातन्त्र पुनस्र्थापना पछि देशको स्थितिमा कुनै सुधार भएन बरु बिग्रिन थाल्यो। योग्य मान्छेहरु पाखा लाग्दै गए। नीति भासिँदै गयो। आफ्नो मान्छे चाहे जतिसुकै अयोग्य होस् ठूला ठूला पदमा भर्ति गर्दै गए।

हरेक विधाको नीति थिति र राजनीतिमा ह्रास आइ लथालिंग बन्न पुग्यो। सरकारी सेवामा रहेकाले प्रत्येक कार्यालयमा ट्रेड युनियन स्थापना गरी कार्यालयको नीति र थितिलाई बेथितिमा पुर्याएर एकदम कमजोर रुपमा ल्याए।

देशमा एक किसिमको भाँडभैलो थपिँदै गयो। हरेकले आफ्नो जिम्मेवारी बहन गर्न छोडे।

माओबादीको जनयुद्ध चर्कियो, हजारौं नेपालीको अनावश्यक ज्यान जानु, २०५८ सालमा राजा वीरेन्द्रको भयानक वंशनास हुनु, राजनीति ध्वस्त हुनु र नेताहरुले जथाभावी गर्नु र पैसाको लागि मरी मेट्नु, अत्यन्त स्वार्थ बन्नु, नियम नीति र थितिलाई आफनो अनुकुल बनाई देशको राजनीतिलाई समेत बजारमा बेचेर हरेक नीति थिति र राजनीतिलाई मूल्यहीन बनाई हिँड्ने यी आजका नेता, कार्यकर्ता र कर्मचारितन्त्रका ठेकेदारहरु नै हुन्।

आज देशमा यही नीति थिति र राजनीतिको अभावले भ्रष्टाचार चरम चुलीमा पुगेको छ। माथिबाट तल नराम्ररी बिग्रिएर गइरहेकोले देशमा अहिले नीति थिति र राजनीति दिउँसै लाल्टिन बालेर खोज्नु पर्ने बेला आएको छ।

नीतिको नैतिकता हराउनु, थितीको बेठेगान हुनु र राजनीतिको हरिबिजोग हुनु आफैंमा एउटा देशको र नेपाली जनताको ठूलो अभिसाप बन्न गएको छ।

झन् २०६२/०६३ देखिको विस्तृत शान्ति सम्झौताको परिणामले राम्रो दिशा निर्देश गर्लाकि भनी नेपाली जनताले सोचेका थिए तर ती सब आशा आज राज्य सत्तामा बस्ने सम्पूर्ण नेताले टुकुचाको खोलामा बगाए।

तसर्थ आजका नेताबाट अब देश नेपालमा नीति थितीको र राजनीतिको सुधार हुन्छ भन्ने कसैले पनि विश्वास गरेका छैनन्। यस्तो सोच र संस्कारलाई समयानुकुल बदल्न नसक्ने निष्कर्ष निकाली देशमा अहिले भविष्यका कर्णधारलाई नीति थिति र राजनीतिको सोच र संस्कारको नविनतम् मार्गदर्शन प्रदान गर्न राष्ट्रिय प्रजातन्त्र पार्टीबाट ज्ञानेन्द्र शाही आइसकेका छन् भने राष्ट्रिय स्वतन्त्र पार्टीबाट रवि लामिछाने, डा. स्वर्णिम वाग्लेजस्ता जोशिला र पढे लेखेका अर्थविज्ञ उप चुनाव जितेर आएका छन्।

नेपालको नीति नियम रिती थिति र राजनीतिलाई अब मार्गदर्शन गर्ने भनेको नयाँ युवा पिँडीले नै हो। जघन्य अपराध गरी १७ हजार निहत्था नेपालीको हत्या गरी नेपालको राजनीतिलाई गिजोल्ने प्रयास भइरहेको छ।

तसर्थ देशले आज हरेक चुनावमा हरेक नयाँ व्यक्तिको विजयी भएको हेर्न चाहन्छ। ताकि नेपालको नीति, थिति र राजनीति द्रूततर गतिमा विकसित भइ देशले छिट्टै हरेक क्षेत्रमा निकास पाओस्। आज देशले हरेक विषयमा नयाँपन खोजेको छ।

नयाँ सोच, नयाँ जाँगर, नयाँ युवक युवती, नयाँ प्रतिभा,नयाँ प्रविधिको बिकास, नयाँ नीति नयाँ थिति र नयाँ राजनीति अनि समष्टिमा नयाँ नेपाल र नेपाली खोजेको छ। यी सबै चिजहरु संस्कार र सोच रहेका मानिसबाटमात्र सम्भव छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *