जित्ने (रास्वपा) नमात्तिनु र हार्ने (पुराना पार्टी) नआत्तिनु
कांग्रेस/एमाले :
इतिहास बोकेका यी ठूला पार्टीहरु सक्किनु भन्दा सच्चिनु राम्रो हुन्छ देशका लागि। र यिनीहरुको अस्तित्व अबका दिनमा आफूलाई कति समयानुकूल सच्याएर अघि बढ्न सक्छन्, जनताको मन जित्न सक्छन् भन्ने कुरामा निर्भर रहने छ।
यिनीहरुबाट जनता आजीत भइसके, अब त्यति सजिलै फक्किने वाला पनि छैनन्। इतिहास भजाएर त्यसको ब्याज खाने होइन बरु उल्टै हिजो खाएको ओकल्नु पर्ने जस्तो अबस्था छ। अब यिनीहरुको प्रतिस्पर्धा नयाँ पार्टी रास्वपासित हुनेछ।
तर यसमा प्रष्ट हुनु पर्ने कुरा के छ भने रास्वपाको प्रगतीले एमालेलाई भन्दा बढी नोक्सानी या संकट नेपाली कांग्रेसलाई हुने वाला छ। यसको सैद्धान्तिक र ब्यबहारिक दुवै कारण छ।
साथै मेरो अनुमान अब नेपालमा उदारवादी बुर्जुवा प्रजातान्त्रिक धारको नेतृत्व रास्वपातिर जान सक्छ जसले कांग्रेसको अस्तित्व संकटमा पर्ने छ। अर्कोतर्फ बामपन्थी धारको नेतृत्व एमालेसित रहनेछ। तर यो कति बलियो हुनेछ भन्ने कुरा भोलिका उसका ब्यबहारहरुले नै तय गर्ने छन्।
पुरानो रेडिकल कम्युनिस्ट या उग्र बामपन्थको अस्तित्व बर्तमान बिश्व राजनीति र जनतामा आएको चेतनाले पनि संभव छैन, तसर्थ यो लाइन अब पूर्णतः लोप भएर जानेछ।
तर सुधारिएको कम्युनिस्ट या मदन भण्डारीले देखाएको जनताको बहुदलीय जनवादको बाटोमा हिँड्ने कम्युनिस्टहरुले आफूलाई जनता सामु अरु भन्दा अब्बल सिद्ध गर्न सके यिनको नेपालमा अझ पनि राम्रै भविश्य छ।
हिजोको माओबादीलगायतका बाम शक्तिहरु पुरानैं उग्र बामपन्थी बाटोमा जाने कि एमालेकै बाटोमा भन्ने बिषयमा बिभाजित र कन्फ्युजनको अबस्थामा छन्। पहिलो उग्रताको बाटो लिनेहरु सकिने छन् र दोश्रो बाटो लिनेहरु एमालेमा समाहित हुने छन् यदि एमालेले सहज बातावरण दिन सक्यो भने।
तर एमाले बाहेक कसैले यो धारको प्रतिनिधित्व गरेर अस्तित्वमा आउन सक्छ भन्ने कुरामा बिश्वाश गर्न सकिँदैन। निश्कर्ष के हो भने यदि हिजोका दिनमा कांग्रेस र एमालेले आफैंले बोकेको सिद्धान्त अनुकुल हिँडिदिएका भए मात्र पनि आज अरु कुनै पार्टीको अस्तित्व हुने थिएन, अमेरिकामा जस्तो २ पार्टी हुने थियो।
माओवादी/राप्रपाः
यी दुई पार्टीहरु, एउटा उग्र बामपन्थी र अर्को उग्र दक्षिणपन्थी शक्ति आफ्नो अस्तित्व संकटमा छन्। अव कुनै उपाय छैन। किनकी यिनीहरुको जन्म नेपालमा ठूला जिम्मेवार पार्टीहरुले ४६/४७ को जन आन्दोलन या पञ्चायती ब्यबस्थाको अन्त्यपछि जनअपेक्षा अनुसार सुशासन दिन नसकेका कारण भएको थियो। अर्थात् कांग्रेस एमालेले राम्रो गर्न सकेका भए आज यी दुवै हुने थिएनन्।
यिनीहरुलाई बिकल्प दिनेगरी अगाडि आएर ठूलो धक्का दिने अबसर हिजोका दिनमा आएको पनि थियो तर यिनले त्यो अबसर गुमाइ सकेका छन् र त्यो अबसर अहिले रास्वपाको हातमा आइसकेको छ।
रास्वपाः
रवि लामिछानेले नेतृत्व गरेको यो पार्टीतर्फ जनताको आकर्षण र आशा देख्दा हामी सबैलाई झड्का लागेको छ। जनतामा भएको चरम निराशाबीच आशाको संचार गराएको छ, यो नं अहिलेको लागि ठूलो विषय हो।
तर प्रश्न उठेको छ स्वभाविक रुपमा यो अप्रत्याशित जस्तो घटनाले कि के साँच्चै यो दिगो होला? या रास्वपाको पार्टीको रुपमा कस्तो भविश्य होला? यसबाट आत्तिएकाहरुले जबर्जस्त र गलत तरिकाबाट यसलाई रोक्न खोज्दा यो झन मौलाएको हुँदा अब सायद यसको अस्तित्व स्विकार गरेर स्वस्थ प्रतिस्पर्धाबाटै अघि बढ्ने बिकल्प रोज्लान् सबैले।
तसर्थ अब यो पार्टीको भविश्य पनि अरुको जस्तै यिनका भोलिका ब्यबहारहरुले नैं निर्धारण गर्नेछन्। यिनलाई गल्ती गर्ने छुट अरुलाई जति पनि छैन किनकी यिनीहरु आफूलाई बिकल्प र समाधान भनेर आएका हुन् र सबैको नजर यिनी माथि नै बढ्ता रहने छ।
सरकारमा गयो गल्ती गर्यो या नगर गल्ती गर्याे हैन कि जाने नजाने उसको निर्णय हो हाम्रो काम जहाँ रहेर भए पनि कस्तो पर्फमेन्स गर्याे भन्नेमा हुनु पर्छ।
मेरो सुझाव छ कुनै जिम्मेवारी उठाएर पूरा गर्न नसक्ने जस्तो परिस्थितिमा जिम्मेवारी नैं नलिनु बुद्धिमानी हुन्छ। बिस्तारै गर्ने छुट छ तर गल्ती गर्ने छुट छैन, अर्थात अरु पुराना पार्टी जस्तै हुने छुट रास्वपालाई छैन।
देश बनाउने हो भने निम्न कुराहरुमा आम सहमति बनाउ
१. बहुमतको सरकार। मिलिजुली बन्द गर। जस्तो कि गत चुनावमा कांग्रेस ठूलो दल भएको हुनाले उसलाई निर्वाध ५ वर्ष सरकार चलाउन दिइएको भए कमसे कम स्थिरता हुने थियो र कांग्रेसले मौका पाउँदा के गर्याे भनेर जनताले अर्को चुनावमा मतद्वारा जवाफ पनि दिने थियो। सहज र सरल उपायबाट देश चलाउने कि गन्जागोल? यही गंजागोलमा भ्रष्टाचार र बेथिती मौलाएको हैन?
२. अनावश्यक पद र सुबिधाहरु सिर्जना गरेर कार्यकर्ता भर्ती केन्द्र बनाएर देशलाई लुटी राखिएको छ, जसका कारणले जनताले परिवर्तनको अनुभूती गर्न नपाएका हुन्। जसका कारणले भ्रष्टाचार मौलाएको हो, ब्यबस्था परिवर्तन भए पनि अबस्था परिवर्तन नभएको हो।
राजा हटे पनि सामन्तवाद कायम रहेको हो। तसर्थ यस्ता कुराहरुमा आमुल परिवर्तन होस्। ब्यापक कटौती गर्न जरुरी छ। सामाजिक सेवा या राजनीतिक कामबाट मान्छेले जस र इज्जत पाउने तर आर्थिक लाभ होइन भन्ने मान्यता स्थापित गर्नु पर्दछ।
तीन तहको सरकारमा भर्ती भएका भोका कार्यकर्ताहरुलाई अब यो देशले धान्न सक्दैन। सबैलाई रोजगारी दिन र बिदेशिने क्रमलाई समेत रोक्न देश भित्रै उद्योग धन्दाको बिकाश गर्नु पर्दछ।
३. संविधानको सर्बोच्चता र कानुनी राज्य। सिस्टममा देश चल्नु पर्याे। अहिलेको अराजकता र सानालाई ऐन ठूलालाई चैन बन्द हुनु पर्याे। अहिले रवि लामिछानेको हकमा सकृय भए जस्तै कानुन सबैको हकमा बराबरी लागू हुनु पर्याे। अनि बन्छ देश।
४. जान्ने र लोकप्रियलाई छान्ने। नेताको निगाहमा या कसैको पार्टीमा कति योगदान छ भनेर मात्र हेर्ने तर उसको पर्फमेन्स कस्तो होला भन्ने कुरामा नजरअन्दाज गर्ने कुराको बदला निश्चित मापदण्डमा आधारित नियुक्ति र सरुवा बढुवा। चुनावमा उठ्न अमेरिकामा जस्तो प्रइमरी इलेक्सन।
५. बिदेशिन बाध्य गराइएकालाई घृणा हैन मायाँ बाँड र तिनलाई छिटै आफ्नै देश फर्किएर अझ राम्रो जीन्दगी बाँच्न सकिन्छ भन्ने बिश्वाश सिर्जना गर्ने खालका काम गर र बिदेशिने क्रमलाई रोक्न ठूलो पहल गर। परिस्थितिले जहाँ भए पनि नेपाल आमाका सबै सन्तानलाई एउटै नजरको ब्यबहार र ब्यबस्था गर, बिदेशमा रहेकालाई पनि मताधिकारमा समेत सामेल गर।
Facebook Comment