विश्व बैंकको आगामी अध्यक्ष अजय बंगा हुने, जुन २ बाट पाँच वर्षको कार्यकाल सम्हाल्ने

डिसी नेपाल
२१ वैशाख २०८० १६:११

काठमाडौं । भारतीय-अमेरिकी व्यापारी तथा मास्टरकार्डका पूर्व प्रमुख अजय बंगा विश्व बैंकको अध्यक्षमा नियुक्त भएका छन्।

विश्व बैंकले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “विश्व बैंकका कार्यकारी निर्देशकहरूले आज अजय बङ्गलाई बैंकको अध्यक्षमा निर्वाचित गरेका छन्। उनले जुन २, २०२३ देखि पाँच वर्षका लागि कार्यभार सम्हाल्नेछन्।”

यस वर्षको सुरुमा, फेब्रुअरी २३ मा अमेरिकी राष्ट्रपति जो बाइडेनले आफ्नो मनोनयन घोषणा गरे।

अजय बंगाले एक दशकभन्दा बढी समयदेखि चर्चित क्रेडिट कार्ड कम्पनी मास्टरकार्डको नेतृत्व गरेका छन्। अहिले उनी अमेरिकाको प्राइभेट इक्विटी कम्पनी जनरल एट्लान्टिकको उपाध्यक्षका रुपमा कार्यरत छन् ।

बङ्गाको अनुभवले बैंकलाई जलवायु परिवर्तनसँग सम्बन्धित विषयमा निजी क्षेत्रसँग मिलेर काम गर्न मद्दत पुग्ने केही विज्ञहरू बताउँछन् ।

अमेरिकी नागरिकता लिएका अजय बंगाको जन्म भारतमा भएको हो । यहीँबाट उनको करियर सुरु भएको थियो । उनका बुबा आर्मीमा अफिसर थिए ।

मास्टरकार्डमा आबद्ध हुनुअघि उनले नेस्ले र सिटीग्रुपमा काम गरेका थिए । २०२१ मा मास्टरकार्डबाट सेवानिवृत्त भएपछि, उनी निजी इक्विटी फर्म जनरल एट्लान्टिकमा सामेल भए र अहिले यसको उपाध्यक्ष छन्।

उनी जनरल एट्लान्टिकको ३.५ बिलियन डलरको जलवायु कोषको सल्लाहकार बोर्डमा पनि छन्।

बंगाले सेन्ट्रल अमेरिकाका लागि साझेदारीको सह-अध्यक्षको रूपमा ह्वाइट हाउससँग नजिकबाट काम गरेका छन्।

यस कार्यक्रमको उद्देश्य मध्य अमेरिकामा निजी क्षेत्रको लगानीलाई प्रवर्द्धन गर्नु हो, ताकि अमेरिकातर्फ आउने आप्रवासीहरूको भीडलाई नियन्त्रण गर्न सकियोस्।

सेन्टर फर ग्लोबल डेभलपमेन्टका उप कार्यकारी अध्यक्ष अमान्डा ग्लासम्यानले बङ्गाको दशकौंको अनुभवले विश्व बैंकमा विशेष गरी अमेरिकी कांग्रेसका रिपब्लिकन सदस्यहरूमा विश्वास बढाउने बताइन्।

रिपब्लिकन सदस्यहरू प्रायः अन्तर्राष्ट्रिय संगठनहरूको आलोचना गर्दै आएका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *