रुपैयाँमा व्यापार गर्ने भारतको प्रस्ताव रूसले मानेन
काठमाडौं । रुपैयाँमा व्यापार गर्ने विषयमा भारत र रुसबीच जारी वार्ता असफल भएको छ । महिनौंसम्मको वार्तापछि पनि भारतले रुसलाई रूपैयाँमा व्यापार गर्न मनाउन नसकेपछि द्विपक्षीय व्यापारलाई रुपैयाँमा मिलाउने प्रयास स्थगित भएको छ ।
यस विषयमा प्रत्यक्ष जानकारी भएका दुई भारतीय अधिकारीले समाचार एजेन्सी रोयटर्सलाई यो जानकारी दिएका छन् । दुई देशबीच रुपैयाँमा व्यापार गर्ने प्रयास असफल भएको अधिकारीहरूले बताएका छन् ।
रुसबाट सस्तो तेल र कोइला खरिद गर्ने भारतीय आयातकर्ताका लागि यो ठूलो झट्का हुनेछ। भारतका यी आयातकर्ताहरू भारत र रसियाबीच स्थायी रूपैयाँ भुक्तानी प्रणाली स्थापना हुने पर्खाइमा थिए ताकि उनीहरूको मुद्रा रूपान्तरण लागत कम होस्।
भारत र रुसबीचको व्यापार घाटा बढ्दै गएको छ । यसअघि भारतले रुसबाट जति हतियार किन्ने गर्दथ्यो, त्यति नै मूल्यका सामान रुसमा निर्यात गर्दथ्यो । तर युक्रेनमा रुसले आक्रमण गरेपछि रुसबाट भारतको आयात ४०० प्रतिशतले बढेको छ भने निर्यात करिब १४ प्रतिशतले घटेको छ । यो व्यापार घाटा कम गर्न दुवै देशले रुपैयाँमा व्यापार गर्ने वार्ता सुरु गरेका थिए तर अहिले असफल भएका छन् ।
भारतसँग रुपैयामा भुक्तान प्रणाली अपनाएमा रुससँग वर्षेनी ४० अर्ब रुपैयाँभन्दा बढी रकम जम्मा हुने रसियाको विश्वास रहेको एक भारतीय अधिकारीले बताए । उनले यति धेरै पैसा जम्मा गर्दा रुसलाई कुनै फाइदा नहुने रुसको विश्वास रहेको बताए ।
भारतीय रुपैयाँलाई अन्य देशको मुद्रामा पूर्णरूपमा परिणत गर्न सकिँदैन। विश्व निर्यातमा भारतको हिस्सा २ प्रतिशत मात्रै रहेकोले देशहरू भारतीय रुपैयाँ आफूसँग राख्न चाहँदैनन् ।
जुलाई २०२२ मा, भारतीय रिजर्व बैंकले रुपैयामा भुक्तानी संयन्त्र घोषणा गरेको थियो। त्यसयता भारतले रुससँगको व्यापारका लागि कयौं पटक रुपैयाँमा पैसा तिरेको छ । जसका कारण भारतको अर्बौं रुपैयाँ रुसी बैंकमा छ ।
रुसले त्यो पैसा अन्तर्राष्ट्रिय व्यापारमा प्रयोग गर्न सक्दैन किनभने पश्चिमाहरूले यसमा प्रतिबन्ध लगाएका छन्। यस्तो अवस्थामा उसको बैंकमा रहेको रुपैयाँको मूल्य घट्दै गएको छ । भारत र रुसले स्थानीय मुद्रामा व्यापार सहजीकरण गर्ने कुरा गरे तर निर्देशिकालाई औपचारिकता दिइएको छैन।
भारतले रुससँगको अधिकांश व्यापारका लागि डलर तिर्ने गरेको छ । तर अहिले व्यापारको केही अंश युएईको मुद्रा दिरहाममा पनि भुक्तान भइरहेको छ । अर्का भारतीय अधिकारीले भने कि रुस आफ्नो बैंकमा पैसा राख्न चाहँदैन। ऊ चाहन्छ भारतले उसलाई चिनियाँ मुद्रा युआन वा अन्य मुद्रामा तिर्नुपर्छ ।
Facebook Comment