सुडान विवाद: वार्ताका लागि दुवै पक्ष साउदी अरेबिया पुगे

डिसी नेपाल
२४ वैशाख २०८० १६:१९

काठमाडौं । सुडानको सेना र अर्धसैनिक र्‍यापिड सपोर्ट फोर्सका प्रतिनिधिहरू आपसमा वार्ता गर्न पहिलो पटक साउदी अरेबिया पुगेका छन् ।

शनिबार जेद्दाहमा वार्ता सुरु हुने तय भएपनि भेटवार्ता भएको हो वा दुवै पक्षका प्रतिनिधि को हुन् भन्नेबारे केही भन्न सकिने अवस्था छैन ।

यो वार्ता अमेरिका र साउदी अरेबियाको सहयोगमा भइरहेको छ । केही हप्ता अघिदेखि सुरु भएको युद्धविराम प्रभावकारी हुन सकेको छैन ।

दुवै पक्षले हिंसा र युद्धबाट प्रभावित जनतालाई आवश्यक सहयोग पाउनका लागि मानवीय युद्धविरामका लागि वार्ता गर्ने बताएका छन् । यस अवधिमा संघर्ष अन्त्यका लागि वार्ता नहुने उनीहरूको भनाइ छ ।

साउदीका विदेशमन्त्री फैसल बिन फरहानले दुवै पक्षका प्रतिनिधिलाई स्वागत गरेका छन् । उनले वार्ताले द्वन्द्व अन्त्य गर्ने र सुडानलाई सुरक्षा र स्थायित्वतर्फ फर्काउने विश्वास व्यक्त गरे।

सुडानमा जारी द्वन्द्वमा हालसम्म १०० सर्वसाधारणको मृत्यु भएको र १ हजार १ सय घाइते भएको अनुमान गरिएको छ ।

सुडानमा सन् २०२१ देखि नागरिक सरकारलाई सत्ता हस्तान्तरणको माग गर्दै संघर्ष चलिरहेको छ । मुख्य विवाद सेना र अर्धसैनिक बल ‘आरएसएफ’ को एकीकरणको हो।

पछिल्लो हिंसा धेरै दिनको तनाव पछि आएको हो। आरएसएफका जवानहरूलाई आफ्नै लागि खतरा भएको भन्दै सेनाले गत साता आफ्नो तैनाथी परिवर्तन गरेर नयाँ प्रणाली सुरु गरेको थियो। यसप्रति आरएसएफ जवानहरूमा आक्रोश छ। वार्ताबाट समस्या समाधान हुन्छ भन्ने आशा थियो, तर हुन सकेन ।

संयुक्त नागरिक-सैन्य सरकारको अक्टोबर २०२१ को कू पछि सेना र अर्धसैनिक बलहरू विवादमा छन्।

अहिले सेना र आरएसएफले सार्वभौम परिषद्मार्फत देश चलाइरहेका छन् । तर सरकारको वास्तविक कमाण्ड सेना प्रमुख जनरल अब्देल फतेह अल बुरहानको हातमा छ। उनी एक हिसाबले देशका राष्ट्रपति हुन् ।

सार्वभौम परिषद्का उपप्रमुख र आरएसएफका प्रमुख मोहम्मद हमदान डगालो अर्थात् हेमेदती देशका दोस्रो नेता हुन्।

करिब एक लाख जनशक्ति भएको र्‍यापिड सपोर्ट फोर्स गाभिएपछि बनेको नयाँ सेनाको नेतृत्व कसले गर्ने भन्नेमा सहमति छैन ।

आरएसएफ प्रमुखले सेनाका सबै बेस कब्जा नगरेसम्म आफ्नो लडाइ जारी रहने बताएका छन् । साथै, वार्ताको कुनै सम्भावनालाई अस्वीकार गर्दै सेनाले अर्धसैनिक बल आरएसएफलाई विघटन नगरेसम्म आफ्नो कारबाही जारी रहने बताएको छ।

यद्यपि जनरल बुरहानले यसअघि प्रस्तावित नागरिक सरकारमा एकीकृत सेनाको नेतृत्व कसले गर्ने भन्ने विवाद सुल्झाउन आफ्ना सहायक जनरल हेमेदतीसँग वार्ता गर्न तयार रहेको बताएका थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *