कश्मीर मुद्दालाई राष्ट्रसंघमा लैजाने चीनको प्रयास, चिनियाँ विदेशमन्त्री भारतबाट पाकिस्तान गए
काठमाडौं । कश्मीर मामिलामा चीनले यसलाई संयुक्त राष्ट्रसंघमा लैजानुपर्ने बताएको छ । शनिबार एक विज्ञप्ति जारी गर्दै चीनले भारत र पाकिस्तानले कश्मीर विवाद इतिहासबाट विरासतमा प्राप्त गरेको र कुनै पनि एकपक्षीय कारबाही नगरी संयुक्त राष्ट्रसंघको प्रस्तावअनुसार समस्या समाधान गर्नुपर्ने बताएको छ ।
दुई दिने पाकिस्तान भ्रमणमा इस्लामावाद पुगेका चिनियाँ विदेशमन्त्री किन गाङको यो पहिलो भ्रमण हो । उनले शनिबार पाकिस्तानी समकक्षी बिलावल भुट्टो जरदारीसँगको बैठकको सहअध्यक्षता गरेका थिए । इस्लामावादमा चौथो चरणको ‘पाकिस्तान-चीन रणनीतिक संवाद’ को समापनमा दुवै पक्षले संयुक्त वक्तव्य जारी गरे।
वार्ताका क्रममा द्विपक्षीय सम्बन्धलाई राजनीतिक, रणनीतिक, आर्थिक, रक्षा सुरक्षा, शिक्षा र सांस्कृतिक क्षेत्रमा सुदृढ बनाउने विषयमा छलफल भएको विज्ञप्तिमा उल्लेख छ । यसका साथै यस अवधिमा आपसी हितका क्षेत्रीय तथा विश्वव्यापी विषयमा पनि छलफल भएको थियो ।
भेटपछि जारी विज्ञप्तिमा दुवै पक्षले दक्षिण एसियामा शान्ति र स्थायित्व कायम गर्न र बाँकी रहेका सबै विवाद समाधान गर्नुपर्ने आवश्यकतामा जोड दिएको उल्लेख छ । चिनियाँ पक्षले कश्मीर विवाद भारत र पाकिस्तानको इतिहासबाट विरासतमा प्राप्त भएको र संयुक्त राष्ट्र संघको बडापत्र, सुरक्षा परिषद्को प्रस्ताव र द्विपक्षीय सम्झौता अनुसार समाधान गर्नुपर्ने कुरा दोहोर्यायो। दुबै पक्षले कुनै पनि एकपक्षीय कार्यको विरोध गरे र यसले पहिले नै अस्थिर अवस्थालाई थप जटिल बनाउने बताए।
गत वर्ष पनि, जब चीन र पाकिस्तानले कश्मीर मुद्दालाई उल्लेख गर्दै संयुक्त वक्तव्य जारी गरे भारतको विदेश मन्त्रालयले प्रतिक्रियामा भन्यो “हामीले त्यस्ता कथनहरूलाई निरन्तर अस्वीकार गरेका छौं र सम्बन्धित सबै पक्षहरू यी मामिलाहरूमा हाम्रो स्पष्ट अडानबाट राम्ररी परिचित छन् । केन्द्र शासित प्रदेश जम्मू कश्मीर र केन्द्र शासित प्रदेश लद्दाख भारतका अभिन्न र अविभाज्य अंग हुन् र सधैं रहिरहनेछन्। यसमा कुनै पनि अन्य देशलाई टिप्पणी गर्ने अधिकार छैन।”
Facebook Comment