तीर्थस्थल किन जाने ?
महापुरुषको जन्मस्थल, ऋषिमुनिहरूको साधनास्थल, साधुसन्तको बासस्थल, देवीदेवताको क्रीडास्थल एवं मठमन्दिर–चैत्य–गुम्बालगायतका आध्यात्मिक महत्व र गरिमा बोकेका स्थानलाई तीर्थस्थल भनिन्छ।
देवताले उत्पन्न गरेका, असुरहरूले स्थापना गरेका, ऋषिहरूले बनाएका, मनुष्यहरूले निर्माण गरेका आदि विभिन्न प्रकारका तीर्थस्थल हुन्छन्। ऋग्वेदले तीर्थको चर्चा गरेको छ। पृथ्वी आफैँ पुण्यवती, प्राणदायिनी, आमा स्वरुपिणी भएकीले सबै स्थान तीर्थस्थल हुन्।
साधुको साधना र चिन्तन भएको स्थान एवं जलको तेजका कारण केही स्थान विशेष पवित्र बनेका हुन्छन्। प्रत्यक्ष वा अप्रत्यक्षरूपमा हरेक धर्मका कुनै न कुनै घटना, परिघटनासँग तीर्थस्थलको सम्बन्ध जोडिएको हुन्छ।
बौद्ध र सनातनधर्मावलम्बीका लागि पशुपति, बौद्धनाथ, लुम्बिनी, मुक्तिनाथ, इस्लामधर्मावलम्बीहरूका लागि मक्कामदिना, इसाईका लागि जेरुसलम तीर्थस्थल हुन्। तीर्थस्थलहरू पवित्र, सुन्दर, शान्त, ऊर्जामय हुन्छन्।
सनातनधर्मले मूर्ति, धातुहरू, पानी, शङ्ख, वेदमन्त्रको उच्चारण, धूप, घण्टी, तुलसी आठ पदार्थ भएको स्थानलाई तीर्थ मान्दछन्। यसले वातावरणलाई शान्त, मनलाई प्रसन्न, भूमिलाई ऊर्जामय बनाउँछ।
तीर्थस्थलको दर्शनले पाप नाश, साधनाले शान्ति-शक्ति र सम्पत्ति, स्मरणले पुण्य प्राप्त हुन्छ। जुठो, सुत्केरो नपर्दा सबैले तीर्थाटन गर्न आवश्यक छ। त्रेता एवं द्वापरयुगमा क्रमशः राम र पाण्डवले वनबासको समयमा समेत तीर्थाटन गरेका थिए।
यज्ञ गर्न ठूलो खर्च र सूक्ष्म विधिमा ध्यान दिनुपर्छ। यज्ञ गर्न नसक्दा तीर्थको दर्शनले पनि पुण्य लाभ हुन्छ। तीर्थको शान्ति र ऊर्जाले मानिस छिटो रिचार्ज हुन्छ। तीर्थमा गरिएको प्रार्थना, स्तुति र भाकल चाँडै पूरा हुन्छन्। तीर्थयात्रा कुनै बाहानमा चढेर, भोजभतेर गर्न वा अरूलाई देखाउन जानुहुँदैन। विद्वान् वा गुरुका साथ परिवारसहित जानुपर्छ एक्लै जानुहुँदैन। स्कन्दपुराणमा भनिएको छ-
सत्यतीर्थं क्षमातीर्थं तीर्थमिन्द्रियनिग्रहः ।
सर्वभूतदयातीर्थं तीर्थानां सत्यवादिता ।।
ज्ञानतीर्थं तपस्तीर्थं कथितः तीर्थसप्तकम् ।
सर्वभूतदयातीर्थे विशुद्धीर्मनसो भवेत् ।।
न तोयपूतदेहस्य स्नानमित्यभिधीयते ।
स स्नातो यस्य वै पुंसः सुविशुद्धं मनो मतम् ।।
अर्थात्, “सत्य तीर्थ(मन, वचन र कर्मले सत्य कार्य गर्नु), क्षमा तीर्थ(अरूलाई माफ दिनु), इन्द्रियनिग्रह तीर्थ(पाँच ज्ञानेन्द्रीय र पाँच कर्मेन्द्रीयलाई वशमा राख्नु), सर्वभूतदया तीर्थ(सबै प्राणीमाथि दया गर्नु), सत्यवादिता तीर्थ (साँचो बोल्नु), ज्ञान तीर्थ (अरूलाई ज्ञान दिनु) र तपः तीर्थ (साधना, उपासना गर्नु) यी सात तीर्थहरूलाई मानस तीर्थ भनिन्छ।
पानीले शरीर पवित्र गर्दैमा वास्तविक स्नान हुन सक्दैन, जसको मन पूर्ण शुद्ध छ, ऊ तीर्थस्नान गरेको व्यक्ति हो।” हाम्रो आकर्षण नेपालबाहिरका तीर्थ र देवस्थलमा भएका छन्। अन्तरमुखी भई घरभित्र तीर्थ, देवीदेवतालाई पहिले पूजा र दर्शन गर्नुपर्छ।
आमाबुबा-बालबच्चाहरू घरभित्रका देवीदेवता हुन्। कुलदेवताको मन्दिर, स्थानीय देवीदेवताका बासस्थान, चौतारो, नदीको संगम, तुलसीको मठ आदि घरभित्रका तीर्थस्थल हुन्। तीर्थस्थल देवीदेवताको वासस्थान, सबैको आश्रयस्थल हुनाले यहाँ डर, भय, त्रास रहँदैन।
यहाँ नियमितरूपले तत्तत् धर्मग्रन्थहरूको पाठ, देवीदेवताको ध्यान, पूजा, उपासना, प्रार्थना गरिन्छ। यी कार्यले धार्मिकस्थानलाई ऊर्जामय र आनन्दमय बनाइरहेका हुनाले जो कसैले पनि सुख, आनन्द र आश्चर्यजनक अनुभव गर्दछन्।
मठमन्दिर, चैत्य, चर्च, गुम्बाहरूमा मादक पदार्थ, तामसिक भोजन, आपत्तिजनक लवाईसहित जानुहुँदैन। तीर्थमा भेद, विभेद हुँदैन। आमाबुबाका अगाडि सबै सन्तान समान भएझैँ तीर्थमा हरेक मानिसको स्थान उत्तिकै हुन्छ। तीर्थस्थलहरू भावनात्मक, आध्यात्मिक र भौतिकदृष्टिले पवित्र भएकाले शास्त्रका नियमअनुसारका कार्य गर्नुपर्छ। महाभारतमा भनिएको छ-
यथा देशाः शरीरस्य केचिन्मध्येतमाः स्मृता ।
तथा पृथिव्यां देशाश्च केचित्पुण्यतमाः स्मृताः ।।
प्रभावादुद्भूताद् भूमेः सलिलस्य च तेजसा ।
परिग्रहान्मुनीनां च तीर्थानां पुण्यता स्मृताः ।।
अर्थात्, “जसरी शरीरका केही अङ्कहरू पवित्र मानिन्छन्, त्यस्तै पृथ्वीका केही भागहरू महत्वपूर्ण वा पवित्र मानिन्छन् जसलाई तीर्थस्थल भनिन्छ। जुन स्थानमा भूमिको अद्भूत प्रभाव छ, पानीको तेज छ, ऋषिमुनि एवं महात्माहरू बस्दछन्, जन्मन्छन् वा आउँछन्, त्यस स्थानलाई तीर्थस्थल भनिन्छ।”
केही तीर्थहरू फोहोरको भण्डारस्थल, पशुपंक्षीको हत्यास्थल, पण्डित–पुजारीको आयस्थल, केटाकेटीहरूको मनोरञ्जनस्थलमा रूपान्तरण हुँदै गएका छन्। तीर्थस्थलमा समय बिताउन, भोजभतेर खान, रमाइलो गर्न जानेको संख्या बढ्दैछ।
यसले भोग र प्रमाद बढाउँछ, रोग र तनावलाई निम्त्याउँछ। तनावले रोगलाई निमन्त्रण गर्छ। रोगले शोकलाई साथ लिएर आउँछ। भोग, रोग र शोक एउटै आमाका तीन पुत्र हुन्, जसले शरीर, संस्कृति र सभ्यतालाई सर्वनाश गर्दछ।
तीर्थस्थलमा जानेहरूलाई भय, चिन्ता, क्रोधलगायतका विकारहरूले कुनै असर गर्दैन। उच्चकोटीका आध्यात्मिक चिन्तकहरूले तीर्थस्थलमा बाघ, भालु, सर्प, हात्तीलगायतका डरलाग्दा जन्तुहरूसँगै बसेका सत्यतथ्य घटनाहरू पढ्न पाइन्छन्।
फाल्गुनन्द महागुरुदेखि आबाल ब्रम्हचारी षडानन् महाराजसम्मको जीवनमा यस्ता अद्भूत कहानीहरू जोडिएका छन्। साधुको साधुत्वमा तागत हुन्छ, विज्ञानले नाप्न र देख्न नसक्ने शक्ति हुन्छ।
योगले यसलाई समत्व, सांख्यदर्शनले प्रकृतिमाथिको विजय, वेदान्तदर्शनले सांख्यबुद्धिको अवस्था मान्दछ। रामतीर्थ एम. ए. बाघसँगै बस्दथे, गौतम बुद्ध जङ्गलको बाटो हिँड्दा रुखहरू ढल्केर बाटो छोडिदिन्थे। खप्तड स्वामीले बाघको पञ्जामा बिजेको काँडा निकालिदिन्थे।
यी सबै कार्य तीर्थस्थलको प्रभाव र साधनाको शक्तिले भएको हो। तीर्थस्थलले राष्ट्रमाथि विपत्ति आउँदैछ भने पहिले नै सूचना दिन्छन्। उग्रचण्डी, पलाञ्चोकभगवती, भीमेश्वर आदिमा पसिना आएपछि नेपालमा केही न केही अनिष्ट हुन्छ।
सनातन परम्परामा यस्ता हजारौँ उदाहरणहरू छन्। नेपालमा अनिष्ट हुनुपूर्व कुण्डहरू रगतले भरिएको, कतै रोएको आवाज सुनिने, केही स्थान अचानक भासिने गरेको इतिहासले बताउँछ।
हाम्रो परम्परा घुम्ने, बुझ्ने र त्यसलाई व्यवहारमा लागू गर्ने हो। चरैवेति चरैवेति त्यसै भनिएको होइन। तीर्थको दर्शन, महात्माको स्पर्शनले मानवलाई जीवन दिन्छ। तीर्थका जल–फल–फूलहरू नै प्रसाद बन्छन्, मूर्तिहरू देवताको स्वरूप मानिन्छन्।
तीर्थस्थलमा दिएको दान, पढिएको पाठ, गरिएको चिन्तन–मननबाट मानिसलाई यो लोक र परलोकमा लाभैलाभ प्राप्त हुन्छ। अन्यक्षेत्रमा गरेको पाप तीर्थक्षेत्रको दर्शनले नाश हुन्छ तर तीर्थमा पाप गरिए वज्रसमान हुन्छ, पखाल्ने ठाउँ संसारमा कतै पाइँदैन।
तीर्थमा जाँदा विभिन्न समुदाय, भौगोलिकक्षेत्र आदिको अध्ययन गर्ने, देख्ने, बुझ्ने मौका मिल्छ, अरूका दुःख–सुख देखेर चित्त बुझाउन सजिलो पर्छ। नयाँ ठाउँका ज्ञान, सीप, कला, भाषा, अनुभव आदिबाट लाभ लिन सकिन्छ।
आफूलाई परिमार्जित र परिष्कृत हुने मौका मिल्दछ। व्यथा भुल्न, पीडा पखाल्न, तनाव तह लगाउन, समस्यालाई सकाउन, अप्ठेरोको अवसान गराउन सजिलो हुन्छ। धेरै जसो तीर्थस्थल हिमाली भेगमा, पहाडको टुप्पामा, जंगलका बीचमा, खोलाको किनारमा, प्रकृतिका काखमा छन्।
यसले मनलाई अनुकूल बनाई साधना गर्न सजिलो तुल्याउँछ, ईश्वर भेट्न अनुकूल गराउँछ। तीर्थस्थलमा शिलाको दर्शन, जलको स्नान गरी अलौकिक शक्ति प्राप्त गर्न सकिन्छ। तीर्थयात्रीले ब्रम्हचर्यपूर्वक रहनु, भुइँमा सुत्नु र टपरीमा खानुपर्छ।
तीर्थस्थलमा साधना, चिन्तन, मनन, निदिध्यासन, शान्तिका लागि जाने हो। नियमलाई बुझी, विधानलाई पालन गरी, शास्त्रअनुकूल तीर्थ गए अपेक्षित फल प्राप्त हुन्छ।
हाम्रो परम्पराले तीर्थस्थल र देवस्थल सफा गर्न लगाउँछ। वाग्मती, विष्णुमती, रुद्रमतीलगायतका विभिन्न नदीनाला ढलमयी नहुँदासम्म घरघरमा रगतको खोलो, छोडपत्र, बलात्कार, नेतामाथि अविश्वासजस्ता कुकृत्य कतै थिएन।
जुन शान्ति आकाशमा छ, अन्तरिक्षमा छ, पृथ्वीमा छ, पानी (जल) मा छ, औषधिमा छ, वनस्पति (जङ्गलहरू)मा छ, विश्वेदेवमा छ, शब्दब्रम्हमा छ, सबैमा जो शान्ति छ, त्यो सम्पूर्ण मलाई प्राप्त होस् भनी पुर्खाले प्रार्थना गर्थे। शान्ति नभएसम्म आध्यात्मिक र भौतिक दुबैको उन्नति हुँदैन।
क्रान्तिले शासक परिवर्तन गर्छ, सत्तालाई अदलबदल गर्छ तर शान्तिले विश्व परिवर्तन गर्छ। संसारमा जति विकाश भएका छन्, सबै शान्त अवस्थामा भएका छन्। वेद र विश्वको जन्मदाता नै शान्ति हो। त्यही शान्ति र शक्ति प्राप्त गर्नका लागि हामी तीर्थस्थल जान्छौँ।
तीर्थ मुक्तिको भ¥याङ हो, रूपान्तरणको कारक हो, पूर्वजन्मका पापलाई पखाल्ने स्थल हो। स्वास्थ्यले साथ दिएसम्म तीर्थस्थलमा पुग्नुपर्दछ, असमर्थ भएपछि मनले तीर्थस्थल स्मरण गरे पनि उत्तम गति प्राप्त हुन्छ। देवीदेवता, आमाबुबा, गुरुजन, महापुरुषलाई बिहान मनले सम्झ्ने, ढोग्ने, उहाँहरूले भनेअनुसारको काम गर्दा तीर्थको फल प्राप्त हुन्छ।
तीर्थशौचमनर्थित्वमार्जवं सत्यमार्दवम् ।
अहिंसा सर्वभूतानामनृशंस्यं दमः शमः ।।
-महाभारत, (अनुशासन पर्व, दानधर्म पर्व १०८।३)
अर्थात्, “धैर्यरूपी कुण्डमा सत्यरूपी पानीले भरिएको छ, जो असाध्यै निर्मल र शुद्ध छ, त्यस मानसतीर्थमा सदा परमात्माको आश्रय लिएर नुहाउनुपर्छ।” जसको मन, वचन र कर्ममा संयम छ, जसका सबै क्रिया(कर्म)हरू निर्विकार छन्, त्यसले घरमै बसेर तीर्थको फल पाउँछ।
नेपाल तीर्थहरूको बासस्थान हो। गोसाइँकुण्ड, दुधकुण्ड, नारदकुण्डलगायतका कुण्ड, विभिन्न घाट र नदी, अद्भूत क्षेत्र र मूर्ति यहीँ छन्। यिनीहरूको संरक्षण र संवद्र्धन आवश्यक छ। अहिले तीर्थस्थलहरू प्रदूषणको चपेटामा, राजनीतिक नियुक्तीको पिसाईमा पिल्सिएका छन्।
पुराना तीर्थस्थललाई संरक्षण नगरी व्यापार र ख्यातिका लागि शास्त्रविपरीत नयाँ तीर्थस्थल खुलेका छन्। गुठी राखेर संरक्षण गरिएका देवस्थललाई तिनीहरूकै सन्ततिले गुठीलाई गोजीमा राख्न थालेपछि तीर्थस्थलहरू उजाडिएका छन्, नाङ्गिएका छन्।
पाप बढेकै कारण तीर्थयात्रीहरू दुर्घटनामा परी मरेका छन्। तीर्थस्थलहरू दैवी एवं प्राकृतिक प्रकोपमा परेका छन्। जबसम्म तीर्थको संरक्षण गरिँदैन तबसम्म धर्म, राष्ट्र र जनताको उन्नति हुँदैन।
मठमन्दिरबाट हुने आम्दानीको दुरुपयोग, पूजा विधिमाथिको हेलचक्र्याँई, संरक्षण र प्रवद्र्धनको अभावलगायतका कारण तीर्थबाट आर्थिक र आध्यात्मिक लाभ भएको छैन।
जीवन धन्य, भक्ति अनन्य, मन गुण्य, स्वभाव रम्य, कर्म पुण्य बनाउन तीर्थ जानै पर्छ। सन्ततिलाई पुर्खाको उपहार दिनका लागि तीर्थस्थलको बहुपक्षीय संरक्षण र उन्नतिमा लाग्नै पर्छ।
तीर्थस्थलको ज्यादै समय सान्दर्भिक मार्मिक ब्याख्या । सारै मन छोयो यो लेखले ।?
राम्रो आध्यात्मिक लेख, I need more this kinds of materials.