२८ वर्षपछि मुम्बईको डनको रूपमा फर्किंदै रजनीकान्त
मुम्बई, २६ वैशाख । पेन इण्डियाको फिल्मको बाढी आइरहेको वर्तमान समयभन्दा धेरै वर्ष अघि नै पेन इण्डिया सुपरस्टार बनिसकेका अभिनेता रजनीकान्त यो साल करियरकै ठूलो धमाका गर्दैछन्। हालैमात्र उनको फिल्म ‘जेलर’को फस्टलुक सार्वजनिक हुनासाथ त्यसले राम्रै चर्चा पायो।
यो वर्ष रजनीकान्त दुई फिल्ममा देखिँदैछन्। उनी अर्को फिल्म ‘लाल सलाम’मा पनि देखिँदैछन्। यो फिल्ममा रजनीकान्तकी छोरी ऐश्वर्या रजनीकान्तको निर्देशन छ। ऐश्वर्या ८ वर्षपछि निर्देशनको कुर्सीमा बसेकी हुन्। फिल्मले ९० को दशकको मुम्बईको कथालाई देखाउनेछ।
क्रिकेट खेलको कथालाई उतारिएको फिल्ममा तमिल स्टार विष्णु विशाल र विक्रान्तको प्रमुख भूमिकामा अभिनय छ। फिल्ममा रजनीकान्तले मुम्बईको एक डनको भूमिका निभाएका छन्।
फिल्मको फस्टलुक सार्वजनिक भइसकेको छ। सार्वजनिक फस्टलुकमा रजनीकान्तले शेरवानी र पाइजामा तथा शीरमा एक रातो टोपी लगाएका छन्।
सन् १९९५ रिलिज ‘बाश्शा (बादशाह)’ रजनीकान्तको सबैभन्दा आइकनिक फिल्ममध्ये एक हो। यो फिल्ममा उनले मुम्बईको एक डनको भूमिका निभाएका थिए। फिल्ममा उनको चरित्रको नाम मानिक थियो, तर उनले आफ्नो मरिसकेको साथी अनवर बाश्शाको सम्झनामा उसको नाम पनि आफ्नो नाममा जोड्छन्। २८ वर्षअघि रिलिज यो फिल्म रजनीकान्तको सफल फिल्ममा पर्छ। यो फिल्म १५ महिनासम्म थिएटरमा प्रदर्शन भएको थियो।
Facebook Comment