पाकिस्तानमा सर्वोच्च अदालत विरुद्ध विरोध प्रदर्शन, सत्ताधारी पीडीएमले रेड जोन तोड्यो
काठमाडौं । पाकिस्तानको राजनीतिक संकट अन्त्य हुने नाम लिइरहेको छैन । पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानले सर्वोच्च अदालतबाट राहत पाएपछि सत्तारुढ दल पीडीएम अर्थात् पाकिस्तान डेमोक्रेटिक मुभमेन्टलाई त्यो मन परेन ।
पीडीएमका कार्यकर्ता इस्लामावादको सर्वोच्च अदालत बाहिर प्रदर्शन गरिरहेका छन्। यस विरोधमा जमियत उलेमा-ए-इस्लाम-फजलका कार्यकर्ताहरू छन्। जेयुआइ-एफ कार्यकर्ताहरू ठूलो संख्यामा सर्वोच्च अदालत बाहिर पुगेका छन्। पाकिस्तानको राष्ट्रिय राजधानी इस्लामाबादमा धारा १४४ लागू भए पनि विरोध प्रदर्शन भइरहेका छन् ।
पीडीएम १३ राजनीतिक दलहरूको गठबन्धन हो र मौलाना फजल-उर रहमान यसको प्रमुख हुन्। रहमानले शुक्रबार पाकिस्तानको सर्वोच्च अदालतका प्रधानन्यायाधीश उमर अता बन्दियालविरुद्ध धर्नामा बस्ने घोषणा गरेका थिए ।
न्यायमूर्ति बन्दियालले इमरान खानको गिरफ्तारी गैरकानुनी भन्दै रिहा गर्न आदेश दिएका छन् । इस्लामाबाद प्रहरीले प्रदर्शनकारीहरूले रेड जोन उल्लंघन गरेको तर स्थिति नियन्त्रणमा रहेको बताएको छ।
पाकिस्तानको जियो न्यूजका अनुसार जेयुआइ-एफ र प्रहरीबीचको वार्ता असफल भएको छ। जेयुआइ-एफ कार्यकर्ताहरू जबरजस्ती सर्वोच्च अदालत परिसरमा प्रवेश गरेको देखिन्छ। पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानको तहरीक-ए-इन्साफ पार्टीले पीटीआई विरुद्ध १४४ कडाई लागू गरेकोमा पुलिसको आलोचना गरेको छ, जबकि सत्तारूढ पीडीएम कार्यकर्ताहरूप्रति नरम भएको छ।
प्रधानमन्त्री शाहबाज सरकारमा रक्षामन्त्री ख्वाजा आसिफले सर्वोच्च अदालतका प्रधानन्यायाधीशविरुद्ध संविधानको धारा २०९ अन्तर्गतको संवैधानिक अवज्ञाको मुद्दाको छानबिन गर्न संसदीय समिति गठन गर्न माग गरेका छन् । उनले संसद सर्वोच्च भएको बताए ।
Facebook Comment