नेपाली सैनिक इतिहासको सबैभन्दा गौरवपूर्ण दिवस
नेपालको सैनिक इतिहास विरताको लागि गौरव गर्न लायकको छ। हरेक युद्ध मोर्चामा नेपाली योद्धाहरुले बहादुरी पूर्वक लडेका युद्ध मोर्चा र मुठभेडका कथा धेरै छन्।
सानो संख्याको कमजोर वा कमसल हतियारको नाम मात्रको बन्दोबस्ती सामानको भरमा पनि त्यसको विपरीत संख्या, उत्कृष्ट हतियार, बन्दोबस्ती सामानलगायत सबै किसिमले बलियो सैनिक शक्तिलाई नेपाली सेनाले हराएको अथवा पराजित भएपनि गर्व गर्न लायकले टक्कर दिएको इतिहास छ।
यस्ता धेरै इतिहास लेखिएका छन्, कति मेटिएका छन् कति लेखिएर नियतवस ओझेलमा पारिएका छन्। कति महत्वकोसाथ चर्चामा ल्याउनु पर्नेलाई चर्चामा ल्याइएको छैन भने कतिलाई चाहिने भन्दा बढी चर्चामा ल्याइएको छ।
कतिलाई राष्ट्रिय विभूतिले सुशोभित सम्मानित गरिएको छ भने कतिलाई समान वा त्यो भन्दा बढी बहादुरी पूर्वक लढेको र परिणाम पनि पक्षमा पारेकालाई न सम्मान दिइएको छ, न चर्चा गरिएको छ न राष्ट्रिय विभूति नै भनिएको छ। यस्ता सच्याउनु पर्ने ऐतिहासिक गल्ती धेरै छन्। आदि इत्यादि बारे थप चर्चा वहस चलाउनु आवश्यक भै सकेको छ।
संख्याको हिसवले हेर्दा पनि हतियारको हिसावले, मनोबलको हिसाबले, युद्ध कौशलको हिसाबले, क्षति, उपलब्धि, परिणामको हिसबले, राजनीति महत्वको हिसाबले र रणनीतिक महत्वको हिसाबले हेर्दा पनि नेपालको सैनिक इतिहासमा सबभन्दा बढी चर्चा गर्नुपर्ने, सबभन्दा बढी महत्व दिनुपर्ने सबभन्दा बढी गर्व गर्नुपर्ने सिन्धुलीमा अंग्रेज फौजसँगको गोरखाली याने नेपाली सेनाको मुठभेडलाई नै हो।
नेपालको छिमेकी भारतलगायत अहिलेको दक्षिण एसियाका भूगोल भित्र रहेका त्यसबेलाका अनेक राज्यहरुलाई आफ्नो कब्जामा लिँदै अघि बढ्दै नेपाल हुँदै तिब्बत चीनसमेत कब्जा गर्ने योजनासाथ अघि बढेको त्यस्तो शक्तिशाली अंग्रेज फौजलाई पृथ्वीनारायण शाहको निर्देशनमा सानो तर बलियो गोरखाली फौजले पराजित मात्र होइन ठूलै क्षति पुर्याइदिएर विजय पतका फहराएको थियो। विजयको शंखनाद गरेको थियो।
र, अंग्रेजलाई झस्का दिएको थियो ए हामीलाई हराउने शक्ति पनि रहेछ एसियामा! विश्वका अनेक सैनिक मुठभेडका इतिहासलाई केलाएर ल्याउँदा सिन्धुलीमा अंग्रेज फौजमाथि गारेखाली फौजले गरेको विजय असाधरण विजय हो। आँट गरेमा कमजोर शक्तिले बलियो शक्तिमाथि विजय गर्नसक्छ भन्ने विश्वका युद्ध इतिहासमा यो एउटा गतिलो उदाहरण हुनसक्छ।
राष्ट्रले सिन्धुलीमा अंग्रेज फौजमाथि गोरखाली फौजको विजयलाई वीरता दिवसको रुपमा मनाउनु पर्दछ। यो दिवसमा विशेष गरेर नेपाली सेनाको सकृयता र विशेष अग्रसरता हुनुपर्दछ। नेपाल एकीकरण अभियानदेखि देशको सिमाना जोगाउन अंग्रेजसँग वा तिब्बत चीनसँग लडेका सबै वीर योद्धा सैनिकहरुको वीर गाथाले भरिएको दिवस हो यो। राष्ट्र बनाउने अभियानको दौरानमा होस् या राष्ट्र बचाउने दौरानमा शहीद भएका सबै बहादुर योद्धा सेनाहरुको सम्मान र गर्वको दिवस हो यो।
नेपालको यति ठूलो रणनीतिक महत्वको राजनीनितक तथा सैनिक विजयलाई नेपालले कहिल्यै महत्व दिएको पाइएको छैन। न पृथ्वीनारायण शाहका मुकुटसहितका मुलुक पक्षधरहरुले न मुकुटरहितको मुलुक पक्षधरहरुले नै यसको महत्व बुझेर यसलाई राष्ट्रिय महत्वको सैनिक तथा राजनीति विजयको राष्ट्रिय गौरव दिवशको रुपमा नै मनाउने परम्परा बसाले। बरु सबै मिलेर यसलाई ओझेलमा पार्ने काम गरे।
नेपालीहरुले यो युद्ध र यसको विजयको रणनीतिक महत्वलाई नबुझे पनि अमेरिकनहरुले भने बुझेका रहेछन्। आफ्नो किताब अन चाइनामा प्रसिद्ध अमेरिकी विदेशमन्त्री हेनेरी किसिन्जर लेख्छन्-यदि गोरखाली राजा पृथ्वीनारायण शाहका फौजले सिन्धुलीमा अंग्रेज फौजलाई रोकेका थिएनन् भने अहिलेको चीनको राजनीति नक्सा यो हुने थिएन। किनभने नेपालबाट अंग्रेज तिब्बत भएर चीन पसिसकेको हुने थियो र चीनलाई अनेक टुक्रामा विभाजित गरेको हुने थियो।’
अदूरदर्शी काठमाडौंका राजा जयप्रकाश मल्लले बोलाएको अंग्रेज फौजलाई नेपालमा उभिन नै नदिएर लखेट्नुपर्छ भन्ने दूरदर्शी गोरखाका राजा पृथ्वीनारायण शाहले लिएको राजनीति तथा सैनिक निर्णय दूरगामी महत्वको छ।
यो विजयले तीन महत्वपूर्ण काम गरेको छ र तीन महत्वपूर्ण सन्देश दिएको छ। पहिलो यो विजयले नेपाल एकीकरणलाई सुनिश्चित गर्यो। यदि अंग्रेज फौज कान्तिपुरका राजा जयप्रकाश मल्लसँगै जोडिन सकेको थियो भने पृथ्वीनारायण शाहको नेपाल एकीकरण अभियान अघि बढ्न सक्ने थिएन।
दोस्रो यो विजयले नेपालको अस्तित्व र स्वतन्त्रतालाई सुनिश्चित गर्यो। माथि भने जस्तै यो लडाईमा गोरखाली फौजले अंग्रेज फौजमाथि विजय गरेको थिएन भने नेपाल अंग्रेजको उपनिवेशको चंगोलमा फस्ने थियो। र इतिहासमा र राजनीति भूगोलमा स्वतन्त्र अस्तित्वको नेपाल पाइने थिएन।
त्यसैले यो विजयको राजनैतिक र सैनिक विजय भनेको नै नेपाली अस्तित्वको र नेपाली स्वतन्त्रताको पनि विजय हो।
यो विजयको तेस्रो काम भनेको तिब्बत चीनलाई पनि अंग्रेजको उपनिवेश बन्नबाट जोगाएको छ। सबैलाई थाहा छ उपनिवेशवादी अंग्रेज शक्ति एसियाको कल्याण गर्न भनेर एसिया छिरेको थिएन। उ जतिसक्दो एसिया लुट्न छिरेको थियो। नेपालका सजिला नाकामार्फत तिब्बत चीन छिर्ने थियो र कब्जा जमाउने थियो।
यसले दिएका तीन सन्देश भनेको गोरखाली भनेका पीठ फर्काउन नजान्ने वीर लडाका जाति हुन् यिनीहरुसँग यस्तो उच्च मनोबल र युद्ध कौशल छ जस्तै ठूलो शक्तिलाई पनि पराजयको स्वाद चखाउन सक्छन्। यो विजयले पहिलो सन्देश यो दियो।
युद्ध हतियार र संख्याले मात्रै जितिने होइन मनोबल र छापामार आक्रमणले पनि सानो शक्तिले ठूलो शक्तिलाई जित्न सकिन्छ भन्ने सन्देश यो युद्धले दिएको दोस्रो सन्देश हो।
यो युद्धले दिएको तेस्रो सन्देश भनेको अंग्रेज भनेको पनि जित्ने शक्ति मात्र होइन हार्ने शक्ति पनि हो र यसलाई हराएर एसियाबाट धपाउन सकिन्छ। जुन सन्देश संप्रेशण गर्यो यो युद्धले। यसले गोरखाली याने नेपालीजनमा अभूतपूर्व मनोबल उठाउने काम गर्यो।
यो विजय नेपालको ऐतिहासिक महत्वको विजय हो भने यसले दिएका सन्देश पनि त्यतिकै ऐतिहासिक महत्वका छन्। यो सबै नेपालीको चिन्तन मननको विषय हो।
सिन्धुली विजयलाई राष्ट्रले ठूलो विजय उत्सवको रुपमा मनाउनु पर्दथ्यो धेरै पहिले देखिनै। यसको महत्व नबुझेको हो कि बुझ पचाएको हो वा बेवास्ता गरेको हो बुझ्न सकिएको छैन।
अरु मुलुकसँग यस्तो महत्वको गर्व गर्न लायकको विजय भएको भए एउटा उत्सवको रुपमा एउटा पर्वको रुपमा मनाएका हुन्थे बहादुर पुर्खाको गुणगान गाइरहेका हुन्थे। नेपाल जस्तो इतिहासप्रति चिसो र ठण्डा भएर बस्ने थिएनन्।
नेपाललाई गौरवशाली इतिहासप्रति ठण्डा र उदास भएर बस्न मिल्दैन सुहाउँदैन। अब नेपाल तात्नु पर्दछ। जाग्नु पर्दछ। जुन इतिहासको त्याग र बलिदानले यो वर्तमान भोगिरहेछौं र भविश्य देखिरहेछौं त्यो गर्वशाली इतिहासलाई उपेक्षा गर्न मिल्छ? अवश्य मिल्दैन। गौरवशाली इतिहासलाई बेवास्ता गरेर बस्नु भनेको कृतघ्नताको पराकाष्ठा हो।
राष्ट्रले सिन्धुलीमा अंग्रेज फौजमाथि गोरखाली याने नेपाली फौजको विजयलाई वीरता दिवसको रुपमा मनाउनु पर्दछ। यो दिवसमा विशेष गरेर नेपाली सेनाको सकृयता र विशेष अग्रसरता हुनुपर्दछ।
नेपाल एकीकरण अभियानदेखि देशको सिमाना जोगाउन अंग्रेजसंग वा तिब्बत चीनसँग लडेका सबै वीर योद्धा सैनिकहरुको वीर गाथाले भरिएको दिवस हो यो। राष्ट्र बनाउने अभियानको दौरानमा होस् या राष्ट्र बचाउने दौरानमा शहीद भएका सबै बहादुर योद्धा सेनाहरुको सम्मान र गर्वको दिवस हो यो।
यो अभियानलाई युद्धमोर्चा बाहिर बसेर प्रतक्ष अप्रत्यक्ष सहयोग गर्ने ज्ञात अज्ञात सबै देशभक्तहरुको संझना, सम्मान र श्रद्धाको दिवस हो यो। स्वाधीनताको लागि लड्ने विश्वभरका स्वाधीनताप्रेमी आम जनसमुदायको दिवस हो यो। उपनिवेशवाद विरोधी सबैको गौरवपूर्ण दिवस हो यो।
उपनिवेशवादी शक्तिलाई पराजयको स्वाद चखाएको सबै उपनिवेशवाद विरोधी शक्तिहरुले गर्व गर्ने विजय दिवश हो यो। यो आफैंमा उच्च मनोवल भएका साहसीहरुको दिवस हो।
छापामार योद्धाहरुको रणकौशलको दिवस पनि हो यो। यति महत्वको दिवसलाई नेपालले बेवास्ता र अवमूल्यन गर्न मिल्छ? अवश्य मिल्दैन। गरेमा राष्ट्रको गौरवमाथि प्रहार गरेको मानिने छ।
सिन्धुली युद्घका पराक्रमी नायकहरु सरदार वंशु गुरुङ, काजी जगतसिंह राई, खचाञ्जी वीरभद्र उपाध्याय, काजी वंशराज पाण्डेलाई, सम्पूर्ण योद्धाहरुको सम्मानको लागि राष्ट्रिय विभूति घोषणा गरेर नेपालका प्रथम साम्राज्यवाद विरोधी योद्धा तथा विजेताको सम्मान गरिनु पर्दछ।
उपनिवेशवादी कुनै पनि शक्तिले गुलाम बनाएर स्वतन्त्रता खोस्न नसकेको नेपालले यो दिवसलाई विशेष किसिमले मनाउन सक्दछ। भारत, चीनलगायात एसियाका सैनिक विज्ञ, इतिहास विज्ञ विद्वान लेखक आदिलाई सिन्धुलीमा लगेर कसरी नेपालले विदेशी शक्तिबाट आफूलाई बचाउन सक्यो, सिन्धुली अंग्रेज नेपाल युद्धको महत्व आदि इत्यादि अनेक विषयमा नेपालले बौद्धिक गोष्ठी आयोजना गरेर छलफल गरेर यो दिवस मनाउन सक्छ।
अनेक कोणबाट यो युद्ध र यसको राजनीतिक महत्वबारे छलफल गराउन सक्छ, कार्यपत्र पेश गराउन सक्छ शोध अध्यायन अनुसन्धान गराउन सक्छ। नेपालको गौरव बढाउन अनेक धेरै गर्नसक्छ। चासो राख्ने युरोप अमेरिका अफ्रिकाका सैनिक मामिला वा युद्ध अध्येतालाई सिन्धुलीमा आकर्षित गर्न सक्छ।
पश्चिमा शक्तिलाई नेपालले गोदेको चर्चा गर्दा पश्चिमा शक्ति रिसाएर खाइपाई आएको दानापानी टुट्नसक्छ भनेर सरकार, सेना र नेताहरु डराएका होइनन् भने सिन्धुलीमा अंग्रेजमाथि भएको विजयलाई राष्ट्रिय गौरव तथा वीरता दिवश नमनाउनु पर्ने कुनै कारण छैन। यसलाई अन्तर्राष्ट्रिय जगतमा गर्वकोसाथ प्रचारित नगर्नुपर्ने कुनै कारण छैन।
अंग्रेजसँग बहादुरी पूूर्वक लडेका तर हारेका युद्धमोर्चा वा युद्घका कथा नेपाली सेनाका चर्चा गर्न लायकका बहादुरीका र गौरवका प्रतिनिधि कथा हुन सक्तैन। त्यसले नेपाल र नेपाली सेनाको प्रतिष्ठा बढाउँदैन।
अंग्रेजको त्यत्रो दलबल सहितको फौजलाई एकै फाँको बनाउने सिन्धुली घटना नै बहादुर नेपाली सेनाको बहादुरीको र गौरवको प्रतिनिधि कथा र घटना हो र यसैलाई नै चर्चाको शिखरमा लैजानु पर्दछ।
अंग्रेजसँग हारेको नालापानी र बलभद्रका सयौं गीत, कविता र कथा रचिएको छ, गाइएको छ तर जितेको सिन्धुलीको एउटा पनि रचिएको छैन। यो मिलेको होइन।
त्यसैले नेपालको सैनिक इतिहासमा विसं १८२४ आश्विन १५ विशेष मिति हो, सिन्धुली पौवागढी विशेष स्थान हो र यो नै नेपालको सबभन्दा ठूलो विशेष विजय हो। नेपाली सौर्य र बहादुरीको अन्तर्राष्ट्रिय ब्रान्डेड भएको अथवा पहिचान स्थापित भएको वीर गोर्खाली सिन्धुली विजयले दिएको हो।
यो विजयको झण्डालाई सम्झना, सम्मान र गौरवको झण्डा बनाएर सबैभन्दा माथि फहराउँदै नेपाली सेना अघि बढ नेपाली जनता अघि बढ। जय जय काली जय जय गोरख।
Facebook Comment