धनी देशहरूले गरिब देशमा ल्याएर फाल्दैछन् विषालु फोहर
काठमाडौं । जब हामी धेरै नाफा कमाउने अपराधको बारेमा कुरा गर्छौं तब दिमागमा लागुऔषध ओसारपसार, नक्कली औषधि, खाद्यान्नको व्यापार, बालबालिका तथा महिलाको ओसारपसार, जुवा खेल्ने र सम्पत्ति शुद्धीकरण आदी अपराध आउँछन् । यदि कसैले पर्यावरणीय अपराधहरू यस सूचीमा तेस्रो नम्बरमा छन्, जहाँबाट अपराधीहरूले धेरै पैसा कमाउँछन् भन्यो भने अनौठो लाग्न सक्छ। यही कारणले गर्दा अपराधीहरूले खुलेआम वातावरणलाई हानी गरेर पैसा उठाउँदै आएका छन् र हाम्रो पनि ध्यान गएको छैन ।
अमेजन वन संसारको सबैभन्दा ठूलो वर्षा वन हो । विश्वले प्राप्त गर्ने कुल अक्सिजनमध्ये २० प्रतिशत अक्सिजन यहीँबाट आउँछ । यही कारणले यसलाई पृथ्वीको फोक्सो पनि भनिन्छ । तर पछिल्लो दशकमा यी फोक्सो द्रुत रूपमा क्षतिग्रस्त भएका छन् । जंगल मात्र काटिएन, त्यहाँ बसोबास गर्ने बस्तीहरू पनि ध्वस्त पारियो। विरोध गर्ने धेरै मारिए । यी काठ विश्वका विकसित देशहरूमा तस्करी हुने गरेको छ । यस्ता अपराध निरन्तर भइरहेका छन् । यसमा कुनै साना गिरोहहरू छैनन्, संगठित अपराध समूहहरू काम गर्छन्।
जब मानव हत्या वा क्रूरताको सजाय हुन्छ भने यो अपराधमा किन हुँदैन ? रुख काट्दा वा खोलामा फोहोर फाल्दा मानिसका साथै सम्पूर्ण पारिस्थितिक प्रणालीलाई असर गरिरहेको हुन्छ । यस तर्कको साथ संसारभरका वातावरणीय कार्यकर्ताहरू भेला हुँदैछन्। इकोसाइडलाई पनि युद्ध अपराध र नरसंहारजस्ता अपराधको श्रेणीमा राख्नुपर्ने उनीहरुको माग छ ।
इकोसाइड शब्द पहिलो पटक अमेरिका-भियतनाम युद्धको समयमा प्रयोग भएको थियो। त्यतिबेला अमेरिकाले भियतनामका नदीहरू र भूमिलाई प्रदूषित गर्न त्यहाँ विशेष प्रकारको विषादी फैलायो। गुप्तचर भाषामा यसलाई एजेन्ट ओरेन्ज भनिएको थियो। शत्रु देशलाई हराउन अमेरिकाले उनीहरू माटो र पानीमा विष मिसाएको धेरै पछि थाहा भयो ।
पर्यावरणीय अपराध एक व्यापक श्रेणी अपराध हो । जसमध्ये पहिलो वन्यजन्तु अपराध हो। यसअन्तर्गत वनमा बस्ने रुख र जनावर दुवैको हानि समावेश छ। अवैध उत्खनन पनि अपराधमा परेको छ । गैरकानूनी माछा मार्ने र प्रदूषण फैलाउने कार्य वातावरण विरुद्धको गतिविधिको श्रेणीमा आउँछ। यी सबैलाई एकसाथ इकोसाइड भनिन्छ।
फोहोरको अवैध विसर्जन वातावरणसँग सम्बन्धित अपराध हो, जसबाट अपराधीहरूले धेरै पैसा कमाउँछन्। यसमा साधारण बायोडिग्रेडेबल फोहोरदेखि लिएर खतरनाक फोहोरहरू, जस्तै सिरिन्जहरू काम नलाग्ने इलेक्ट्रोनिक्स, र काम नलाग्ने औषधिहरू समावेश हुन्छन्। तिनीहरूले पृथ्वी वा जनावरहरूलाई नोक्सान नगरुन् भन्नका लागि तिनीहरूको उचित व्यवस्थापन गर्न आवश्यक छ। यसका लागि हरेक देशको गाइडलाइन हुन्छ तर पैसा बचाउनको लागि अपराधी संगठनहरूले यो फोहोर अवैध रूपमा लिएर अन्य देशमा छाड्छन्।
विकसित देशको फोहोर गरिब देशको सिमानामा फालिन्छ । फिलिपिन्स, घाना, नाइजेरिया, भियतनाम, पाकिस्तान र बंगलादेशमा रातारात नकुहिने फोहोरको पहाड जम्मा हुने गरेको गुनासो आएको छ । संयुक्त राष्ट्रसङ्घीय वातावरण कार्यक्रम (युएनईपी)का अनुसार अमेरिकाबाट मात्रै वार्षिक करिब १२ अर्ब डलर बराबरको अवैध फोहोर तस्करीमार्फत यता–उता पुग्छ ।
सन् २०१८ मा इन्टरपोलले फोहोर तस्करीको प्रत्येक ढुवानीबाट तस्करले करोडौं डलर फाइदा गरेको स्वीकार गरेको थियो । त्यसमा पनि प्लास्टिकको फोहोर सबैभन्दा बढी छ । धनी देशहरूले आफ्नो फोहोर गरिब देशहरूमा छोड्न नसकुन् भन्नका लागि अन्तर्राष्ट्रिय सन्धिमा हस्ताक्षर गरियो, जसलाई बासेल कन्भेन्सन नाम दिइएको थियो। सन् १९८९ देखि हालसम्म १८८ देशले यसमा सहमति जनाएका छन् ।
फोहोरको तस्करी रोक्नुका साथै फोहोरको विसर्जन र नियन्त्रण पनि यसमा समावेश छ । यद्यपि यो सन्धिले खासै फरक पारेन । यसैलाई मध्यनजर गर्दै २०१९ मा थप केही परिमार्जन पनि गरियो । यसपछि पनि गरिब देशले धनी देशका लागि डस्टबिनको काम गरिरहे । फोहोरको उचित व्यवस्थापन धेरै महँगो हुने भएकाले सरकारले पनि प्रायः यसतर्फ आँखा चिम्लिन्छ।
ढुवानी सजिलो बनाउन अक्सर फोहोरलाई उत्पादनको नाम दिइन्छ। सामान सजिलै एक ठाउँबाट अर्को ठाउँमा पुग्ने गरी तस्करहरूले यसका लागि अवैध मार्ग खोज्ने गरेका छन्, तर कहिलेकाहीँ मामिला अड्किन्छ। सन् २०१९ मा नाइजेरियामा ४ हजार टन विषाक्त फोहोर रहेको तर त्यसको नाम फर्टिलाइजर राखिएको एउटा ढुवानी समातिएको थियो । विश्व गणनाका अनुसार फोहोर कहाँबाट आयो भन्ने यकिन हुन सकेको छैन । यसलाई जफत गर्ने र हटाउने सम्पूर्ण भार नाइजेरियाली सरकारमा पर्यो।
युरोपियन युनियनका सदस्य राष्ट्रहरूले पनि यसबारे कुरा गर्न थालेका छन्। ईयू सदस्य राष्ट्रहरूको अन्तर्राष्ट्रिय फौजदारी अदालतमा राम्रो स्थिति छ। त्यसैले दबाब सिर्जना गर्न सकिएमा छिट्टै वातावरण विरुद्धको अपराध पनि गम्भीर अपराधको श्रेणीमा आउनेछ, जसलाई अन्तर्राष्ट्रिय स्तरमा सजाय हुनेछ । अपराध पत्ता लगाउन इकोलोजिकल डिटेक्टिभहरू पनि भर्ती गरिनेछ। यी प्रायः वातावरणमा काम गर्ने विश्वव्यापी संस्थाहरू हुनेछन्।
Facebook Comment