अमेरिका ऋण तिर्न नसकेर डिफल्ट भयो भने पूरै विश्वमा हाहाकार मच्चिने, बढ्यो चिन्ता
काठमाडौं । विश्वको सबैभन्दा ठूलो महाशक्ति मानिने अमेरिका डिफल्ट हुने खतरामा छ । राष्ट्रपति जो बाइडेनको सत्तारुढ दल डेमोक्रेटिक पार्टी र विपक्षी रिपब्लिकन पार्टीबीच ऋणको सीमा बढाउने विषयमा तनावको वातावरण छ । यसैबीच विज्ञहरूले दुवै पक्षको राजनीतिक चलखेलको यो खेलमा अमेरिका डिफल्ट भयो भने विश्वका लागि विनाशकारी हुने चेतावनी दिइरहेका छन् ।
अमेरिकाले १९ जुनमा नै ऋणको सीमा पार गरेको थियो । त्यसयता अमेरिकी ट्रेजरीले डिफल्ट हुनबाट बच्न धेरै कदम चालेको छ तर कुनै फाइदा हुन सकेको छैन र यदि अवस्था यस्तै रह्यो भने समयमै ऋण तिर्न नसकेपछि अमेरिका केही सातामै डिफल्ट हुनेछ ।
अमेरिका डिफल्ट हुने सम्भावना कत्तिको छ?
न्यूयोर्क विश्वविद्यालयको स्टर्न स्कूल अफ बिजनेसका अर्थशास्त्रका प्राध्यापक लरेन्स जे ह्वाइटले अल जजीरालाई भने कि यो राजनीतिक मुद्दा भएकाले यसबारे कसैले केही भन्न सक्ने अवस्था छैन । उनले भने, ‘मलाई आशा छ कि समाधान निस्कन्छ, तर यो बाज र बट्टाइको खेल हो जसमा दुई पक्षमध्ये एकले झुक्नु पर्ने हुन्छ, तर कुनै पक्ष पनि झुक्न तयार भएन भने ठूलो चिन्ताको कुरा हुन्छ ।’
डिफल्ट हुनबाट बच्न अमेरिकी संसदले ऋणको सीमा बढाउनु पर्ने भए पनि रिपब्लिकन पार्टी यसमा सहमत छैन । उनीहरू भन्छन् कि जो बाइडेन सरकारले पहिले आफ्नो खर्च कटौती गर्नुपर्छ। जसका कारण अमेरिकी संसदको माथिल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभबाट ऋणको सीमा बढाउने विधेयक पारित हुन सकेको छैन । माथिल्लो सदनमा रिपब्लिकन पार्टीको बहुमत छ र विधेयक पारित गर्न अवरोध गरिरहेको छ।
मुडीज एनालिटिक्सका एसोसिएट डाइरेक्टर बर्नार्ड यारोस भन्छन् कि डिफल्ट मिति नजिकिँदै गर्दा दुई पक्षहरू बीचको गतिरोधको बारेमा चिन्ता बढेको छ। डिफल्ट मिति त्यो दिन हो जब कोषमा बिलहरू तिर्न पैसा सकिनेछ। अप्रिलमा कम कर संकलन भएकाले डिफल्ट मिति अगस्टको सट्टा जून १ भनिएको छ ।
यारोस भन्छन्, ‘जून १५ सम्म ट्रेजरीले कुनै किसिमले डिफल्ट हुनबाट जोगिन सकेमा कर र नयाँ उपायबाट प्राप्त भएको १५० अर्ब डलरले व्यवसायी र जनतालाई केही समयका लागि राहत मिल्नेछ । जसका कारण जुलाईको अन्त्यसम्म र अगस्टको सुरुमा पनि अमेरिकी कोषमा पर्याप्त रकम जम्मा हुनेछ ।’ तर, अहिलेको अवस्थामा जूनको मध्यसम्म कोषले आफैंलाई डिफल्टबाट बचाउन सक्छ कि सक्दैन भन्ने स्पष्ट छैन ।
यदि डेमोक्र्याट र रिपब्लिकन दुवैबीचको गतिरोध कायम रह्यो र अमेरिका एक हप्तासम्म पनि डिफल्ट रह्यो भने यसले निकै नराम्रो प्रभाव पार्नेछ । यारोस भन्छन्, यो विनाशकारी हुनेछ, किनभने यसपछि २००८ वित्तीय संकट जस्तै मन्दी आउनेछ। अमेरिकी सरकारले तुरुन्तै आफ्नो खर्च घटाउनुपर्नेछ र सरकारी खर्च कटौती गरिनेछ।’ युएस ट्रेजरीमा मार्चमा प्रकाशित एक विश्लेषणमा, यारोस र मूडीजका धेरै सहकर्मीहरूले यो कटौतीले अर्थतन्त्रलाई असर गर्ने र विकासमा ठूलो प्रभाव पार्ने बताए।
प्रोफेसर लरेन्स जे ह्वाइटले यस्तो अवस्थामा वित्तीय बजारमा उथलपुथल हुने, ब्याजदर बढ्ने र डलर कमजोर हुने बताए । ह्वाइटले यो पनि भने कि यदि राजनीतिक गतिरोध जारी रह्यो भने, ब्याज दरहरू अझ बढी हुनेछ, जसले मानिसहरूलाई ऋण लिन वा लगानी गर्नबाट टाढा बनाउनेछ। उनी भन्छन्, ‘यो अमेरिकाको अर्थतन्त्रमा मात्रै नभई सारा विश्वलाई नै असर गर्छ । यो कसैको लागि राम्रो कुरा हुनेछैन।’
अमेरिका केही दिनको लागि मात्रै पनि डिफल्ट भयो भने यसले अर्थतन्त्रलाई असर गर्छ । प्रोफेसर ह्वाइट भन्छन्, ‘विश्वले भन्नेछ कि हामी अमेरिकी ट्रेजरीलाई पहिले जस्तो विश्वास गर्न सक्दैनौं। विश्वले ट्रेजरीप्रति आफ्नो दायित्वलाई पहिले जस्तो गम्भीरताका साथ लिने छैन।’
ऋण लिन ट्रेजरीले सरकारी ऋणपत्र जारी गर्छ, जसलाई ब्याजसहित फिर्ता गर्नुपर्छ । प्रो. ह्वाइट भन्छन्, “यदि अमेरिकाले डिफल्ट गर्यो भने, ट्रेजरी बिल र बन्डको ब्याज दर बढ्नेछ। जसका कारण अमेरिकी जनतामाथि करको बोझ बढ्नेछ ।”
यसले अमेरिकी मुद्रा डलरको प्रभुत्वलाई पनि चुनौती दिनेछ, जुन दशकौंदेखि सबैभन्दा बलियो अन्तर्राष्ट्रिय मुद्रा रहेको छ। अन्य देशको मुद्राले डलरको कमजोरीको फाइदा उठाउँदै बजारमा आफ्नो प्रभुत्व बढाउन सक्छन् ।
मुडीजले चेतावनी दिएको छ कि यो निश्चित नभए पनि क्रेडिट रेटिङ एजेन्सीहरूले बिल तिर्न असफल भएको कारण ट्रेजरीलाई डाउनग्रेड गरेमा, यस्तो कुनै पनि डाउनग्रेडले अमेरिकालाई ठूलो नोक्सान पुर्याउनेछ। अमेरिकी वित्तीय संस्थाहरू, गैर-वित्तीय निगमहरू, नगरपालिकाहरू, पूर्वाधार प्रदायकहरूको मूल्याङ्कन घटाइनेछ।
फ्यानी माई, फ्रेडी म्याक र फेडरल होम लोन बैंक लगायत अमेरिकी सरकारद्वारा समर्थित संस्थाहरूले सबैभन्दा ठूलो डाउनग्रेड देख्नेछन्। मुडीजले भने, ‘यस्तो अवस्थामा अमेरिकाले तत्काल केही कदम चाल्न सक्छ, तर त्यतिन्जेल ठूलो क्षति भइसकेको हुन्छ।’ प्रो. ह्वाइट भन्छन्, ‘हामीले अहिलेसम्म यो समस्या समाधान गरेका छैनौं, जुन राम्रो कुरा होइन।’
Facebook Comment