सपना, संकल्प,परियोजना निर्माण र कार्यान्वयनदेखि गुमनाम इतिहास र संग्रहालयसम्मकाे यात्रा
नेपालको पहिलो पावर हाउसको दर्दनाक कथा
काठमाडाैं। जतिसुकै अँध्यारो किन नहाेस् त्याे काहालीलाग्दाे अन्धकारबाट बच्न उज्यालोकाे एक झिल्काे नै काफी छुन्छ। मानवकाे उत्पति भएदेखि मानव निर्मित सबैभन्दा ठूलाे उपलब्धि नै बिजुली हाे। किनकि बिजुली बिना कुनैपनि प्रविधिकाे विकास सायद असम्भव नै छ हाेला। बिजुली निर्माणकाे कार्य कयौं प्राकृतिक स्राेतबाट गर्न सकिन्छ। तर सबैभन्दा सजिलाे जल स्राेत नै हाे।
विश्वमा धेरै इतिहास रचिँदै थिए। असम्भवहरू सम्भव हुँदै थिए। सन् १८७८ मा विश्वले एउटा इतिहास रचेकाे थियो, पहिलाे पटक जलविद्युतकाे स्पर्श गरेकाे थियो। त्यसकाे ठ्याक्कै २९ वर्षपछि नेपालमा एउटा इतिहासकाे यात्रा सुरु भयो। त्याे यात्रा थियो नेपालमा पनि जलविद्युत भित्र्याउने। तर कसरी?
त्याे प्रश्नकाे जवाफ खाेज्न नेपालका तत्कालीन प्रधानमन्त्री महाराज चन्द्रशमशेर जबरा बेलायतको यात्रामा निस्किए। दुई महिनाको गहन अध्ययन पश्चात उनी त्यस प्रविधिलाई नेपाल भित्र्याउने र आफ्ना दरवारहरुलाई झिलिमिलि बनाउने दृढ संकल्पका साथ देश फर्किए।
सन् १९०७ देखि सन् १९११ सम्मको चार वर्षे यात्रा
चन्द्र शमशेरले जलविद्युतकाे बारे अध्यन त गरे तर त्यस अध्यनलाई कार्यान्वयन गर्दा अाउने कठिनाइसँग जुध्न अझै बाँकी नै थियाे। सन् १९०७ मा चन्द्रशमशेरले जनरल पद्मशमशेर जबराको विशेष निगरानीमा एउटा समिति गठन गरे।
कयौं अनयाेलपछि उक्त समितिले काठमाडौंबाट १२ किलोमिटर दक्षिणमा रहेको फर्पिङको सोखेलको भिरालो पहाड मुनि जलविद्युत आयोजना निर्माण गर्ने निर्णय गर्याे। त्यसपछिको चार वर्ष उक्त समितिले नेपालको पहिलो जलविद्युत आयोजना निर्माणमा काम गर्याे।
३२४ रोपनी (१६ दशमलव ५ हेक्टर) जग्गामा निर्माण भएको यस आयोजनाकाे जिम्मेवारी समितिका कार्यकारी इन्जिनियर कर्णेल किशोर नरसिंह राणा र सुपरिटेन्डिङ इन्जिनियर कर्णेल कुमार नरसिंह रानालाई दिएको थियो। दक्ष जनशक्तिकाे अभावले गर्दा विद्युत केन्द्रको डिजाइन र लागत अनुमान गर्न अंग्रेजी विद्युतीय इन्जिनियर बर्नाउ पुवान्टेलाई नियुक्त गरिएको थियो।
एउटा मानिसले अर्को मानिसलाई सहयाेग नगरेको भए, त्यसैगरि एउटा समाजले अर्को समाजलाई र एउटा देशले अर्को देशलाई सहयाेग नगरेको भए सायद विकासको याे तीव्र गतिलाई पछ्याउन सकिन्न थियो हाेला।
त्यसैले बेलायत सरकारले कोलम्बो योजना अन्तर्गत परियोजनाका लागि आवश्यक पर्ने मेसिनरी, टर्बाइन, जेनेरेटर, स्वीचबोर्ड, कन्ट्रोल इन्स्ट्रुमेन्ट, पेनस्टक, ट्रान्सफर्मर लगायतका सामग्री नेपाललाई उपहार दिएको थियो।
सन् १९०७ मा लण्डन-कलकत्ता-भीमफेदी मार्गहुँदै फर्पिङसम्म उक्त उपकरण ढुवानी गर्ने जिम्मेवारि नेपाली सेनाका जनरल पद्मशमशेर जबरा र जनरल केशवशमशेर जबरालाई दिएकने थियाे। उक्त उपकरण ढुवानी खर्च करिब १ लाख ९ हजार रुपैयाँ भएको थियो।
जलाशाय निर्माण: एक चुनौतीपूर्ण कार्य
एउटा ढुंगा कुँदेर मुर्ति बनाउन त कति लगनशीलता, कति धैर्यता, कति मिहिनेत , कति संघर्ष चाहिन्छ भने यहाँ त ठाडो पहाडको टुप्पोमा १८-फिट गहिरो जलाशाय उत्खनन गर्नु कुनै सानो सामान्य काम थिएन। त्यसको लागि सावधानिपुर्ण योजना र दीगो कार्यान्वयन आवश्यक थियो।
त्यसैले फर्पिङमा जलाशाय निर्माण इन्जिनियरिङको दृष्टिकोणबाट र नेपाल अनि नेपाली इतिहासको दृष्टिकोणबाट एउटा ठूलो उपलब्धि बन्न पुगेको थियो। चन्द्रशमशेरकाे दृढ संकल्पकाे कारण यहाँ सम्मकाे यात्रा त हिँडिसकेकाे थियाे तर यात्रा सकेकाे थिएन।
२०० फिट व्यास र १५ मिलियन लिटर पानी भण्डारण गर्नसक्ने उक्त जलाशायको सुरक्षा र स्थिरता सुनिश्चित गर्न, यसको वरिपरि पानीको दबाबलाई सहन गर्न र कुनै पनि चुहावट रोक्नको लागि वाटरप्रूफ कंक्रीट पर्खालहरू निर्माण गरियो। र त्यो एउटा नेपालकै प्रभावशाली संरचना थियो।
रणनीतिक कारणले गर्दा यसलाई पानीको दुई प्राकृतिक श्राेतहरू, सातमुले र शेष नारायण नजिकै निर्माण गरिएको थियो। जसले गर्दा पानिको उचित भण्डारन र बिजुली उत्पादन सुनिश्चित भएको थियो।
जलाशायलाई पावरहाउससँग जोड्नका लागि पहाडमा ०.७ किलोमिटरको दूरीमा २० इन्च भित्री डामेटर भएका निकै ठूला र भारी पेनस्टक पाइपहरू बिछ्याइएका थिए। पेनस्टक पाइप मिलाउने काम नेपाली सेनाका कर्नेल तिलविक्रम र सर्जेन्ट बखतबहादुरको नेतृत्वमा भएको थियो। याे जलाशाय र पाइपलाइन दुवैको निर्माणकरिब दुई लाख रुपैयाँको हाराहारिमा सकियकाे थियो।
कयौं क्विन्टल तौलका यी पेनस्टक पाइपहरूलाई भरियाहरूले भीमफेदीदेखि फर्पिङसम्म करिब २० किलोमिटर कठोर भू-भाग हुँदै बोकेका थिए। भीमफेदीदेखि फर्पिङसम्मको ढुवानी खर्च करिब ४० हजार नेपाली रुपैयाँ परेकाे थियो।
५०० किलोवाट क्षमता भएको पावरहाउस
जलविद्युतकाे लागि चाहिने जलाशायकाे त विकास भइसकेकाे थियाे। अब बाँकी थियाे पावरहाउसकाे निर्माण। पावरहाउसकाे लागि पहाडको फेदमा भिक्टोरियन शैलीको आकर्षक भवन बनाइयाे। त्यसपछि जनरल इलेक्ट्रिक कर्पोरेशनका इलेक्ट्रिकल इन्जिनियर श्री लिन्जालेलाई सबै उपकरण जडानको निरीक्षण गर्ने हेतुले आमन्त्रित गरिएको थियो।
भवनको मुख्य हल केवल बिजुली उत्पादन प्रयोजनको निम्ति थियो। त्यसमा अमेरिकी कम्पनीद्वारा निर्मित दुईवटा पेल्टन व्हिल टर्बाइनहरू राखिएका थिए र प्रत्येक टर्बाइनमा बाह्र बाल्टिनहरू थिए। पेनस्टकको माध्यमबाट उच्च गतिमा आइपुगेको पानी विशेष नोजलबाट हुँदै टर्बाइनका बाल्टीहरूलाई जाेर लगाएर प्रहार गर्थियाे।
जसले गर्दा टर्बाइनको पाङ्ग्रा प्रति मिनेट ६०० रोटेशनको गतिमा घुम्न सफल हुन्थ्यो। प्रत्येक टर्बाइन एसी जेनेरेटरमा जडित थिए। प्रत्येक जेनेरेटरले २५० किलोवाटको विद्युतीय प्रवाह उत्पादन गर्ने क्षमता राख्दथे।
दुबै जेनेरेटरहरूद्वारा उत्पादित ५०० किलोवाटको विद्युतीय प्रवाहलाई “स्विच यार्ड” मा जडान गरेर स्टेप-अप ट्रान्सफर्मरमा पठाइन्थ्यो। जसले गर्दा स्टेप-अप ट्रान्सफर्मरले विद्युतीय प्रवाहको भोल्टेज बढाएर काठमाडौंमा प्रसारण गर्न सहज बनाइदियो।
बलियो काठ र धातुका खम्बाहरूको आडमा ६ माइल लामो प्रसारण लाइन स्थापना भयाे। प्रसारण लाइन निर्माणको सम्पूर्ण काम लेफ्टिनेन्ट देवीबहादुर र सर्जेन्ट हर्षबहादुरको जिम्मामा भएको थियो।
एसी जेनेरेटरमा राखिएको प्लेटले दाता राष्ट्रको पहललाई संकेत गर्छ। कोलोम्बो योजना सदस्य देशहरूको सामाजिक तथा आर्थिक विकासमा पारस्परिक सहयोगको साझेदारी विकास गर्ने अवधारणा हो।
खोकना गाउँमा सिद्धीलाल महर्जनको घर। यो ऐतिहासिक घरलाई तत्कालीन नेपाल सरकारले सन् २००४ मा पुरस्कार प्रदान गरेको थियो । शताब्दी पुरानो यो घर संग्रहालयमा परिणत भयो र धेरै वर्षसम्म रहयाे। दुर्भाग्यवश, सन् २०१५ को भूकम्पपछि संग्रहालय बन्द भएको छ।
अन्तत: चार वर्षकाे लगातार मिहिनेत र चुनौतीको सामना गरेपछि विद्युत केन्द्रकाे निर्माण सम्पन्न भयो र विद्युत उत्पादन प्रक्रिया तयार भयो। याे चार वर्षको समय अवधिमा मात्र विद्युत् केन्द्र निर्माण नभएर विद्युत् केन्द्रकाे साथ साथै चन्द्र शमशेरकाे सपना र इतिहास निर्माण भएको थियो।
१९११ – चन्द्रज्योति विद्युत गृहको परीक्षण र उद्घाटन
मे १९११ को पहिलो हप्तामा पावरहाउसले विद्युतीय प्रवाहको पहिलो झिल्को उत्पादन गर्याे। चार वर्षको मिहिनेतकाे रंग त्यस दिन देखा पर्याे। तर चार वर्षको मिहिनेतकाे परीक्षण भने बाँकी थियाे।
त्यसैले विद्युत् केन्द्रबाट करिब २ किलोमिटर टाढा अवस्थित खोकना गाउँका स्थानीय बासिन्दा सिद्धीलाल महर्जनकाे घरमा विद्युत परीक्षण गरियो। नेपालमा विज्ञान तथा प्रविधिको विकासमा याे घटना एक ऐतिहासिक क्षण बन्न पुग्याे। पहिले कहिल्यै बत्ति नदेखेका समुदायवासिहरु आश्चर्यचकित हुँदै सिद्धिलाल महर्जनको घर वरिपरि जम्मा हुन्थे।
निर्माण र परिक्षण पछि राजपरिवारका सदस्यहरु, राणा खान्दान र उच्चपदस्थ सरकारी अधिकारीहरुको उपस्थितिमा भव्य समारोह आयोजना गरि, सन् १९११ जेठ २२ गते साँझ, तत्कालीन नेपालका राजा पृथ्वीवीर विक्रम शाहले टुँडिखेल मैदानमा बल्ब प्रज्वलन गरी पावरहाउसको उद्घाटन गरे। र आधिकारिक रूपमा त्यस दिनलाई “राष्ट्रिय ऊर्जा दिवस” नाम पनि दिइयो।
नेपालकाे इतिहासको लागि यो एक सामन्य घटना नभई नयाँ युगको सुरुवात कहलियो। आयोजनाका दुरदर्शी विचारक प्रधानमन्त्री चन्द्रशमशेरले आफ्नो नामबाट बनाएको जलविद्युत केन्द्र एसियाकै दोस्रो भएकाले यसबाट नेपालकाे नाम उच्च भएको थियो। चन्द्रज्योतिको उद्घाटन भएको एक वर्षपछि मात्र सन् १९१२ मा चीनले पहिलो पटक बिजुलीको अनुभव गरेको थियो।
पछिल्ला दशकहरू
सन् १९५१ सम्म सत्तारुढ राणाका लागि चन्द्रज्योति विद्युत केन्द्र गौरव र समृद्धिको विषय र उनहरूकाे मात्र हक थियो। त्यहाँबाट उत्पादित बिजुली मुख्यत: शाही दरबारहरूमा आपूर्ति गर्ने गरिन्थ्यो। नेपालमा बिजुलिकाे निर्माण भए पनि सर्वसाधरण जनताले भने बिजुलीको अनुभव गर्न पाएका थिएनन्। जनताकाे घरमा बिजुलीकाे उज्यालो नपुगे पनि ज्ञान र साहासकाे उज्यालो भने पुगिसकेकाे थियाे।
जसले गर्दा १९५१ मा जनबिद्रोहको परिणाम स्वरुप राणा शासनको पतन भयो। याे घटना पावर प्लान्टको लागि एक परिवर्तनको आयाम बन्न पुग्यो। त्यसपछि चन्द्रज्योति विद्युत केन्द्रबाट उत्पादित बिजुली काठमाडौं उपत्यकाका सर्वसाधारणलाई पनि उपलब्ध गराउने निर्णय भएको थियो। विद्युत केन्द्रको नाम पनि चन्द्रज्योतिबाट परिवर्तन गरि “फार्पिङ हाइड्रोपावर स्टेशन” राखियो।
एक दशकभन्दा बढी समयदेखि विद्युत् केन्द्रमा कर्मचारीका रूपमा कार्यरत राजेश श्रेष्ठले डिसी नेपालसँग भने, ‘सन् १९७० को दशकमा एसी जेनेरेटरको भित्री भाग, स्ट्याटर (बायाँ) र आर्मेचर (दायाँ) नयाँ पार्टपुर्जाहरू बदलिएको थियो। पार्ट्सहरूले काम गरेनन् भन्ने होइन; यी पार्ट्सहरूले अझै पनि राम्ररी काम गर्छन्। कारण यो थियो कि १९७० मा बनेका नयाँ बल्बहरू र उपकरणहरूले 60Hz भन्दा कम फ्रिक्वेन्सीको बिजुलीमा काम गर्न थाले। यी पुराना सामानहरू 60Hz भन्दा माथिको फ्रिक्वेन्सीमा बिजुली उत्पादन गर्छन्। त्यसकारण, यी भागहरू प्रतिस्थापन गरियो।”
तर फार्पिङ हाइड्रो पावर स्टेशनले नेपालका सर्व साधारणलाई प्रयाप्त मात्रामा बिजुलि उपलब्ध गराउन असमर्थ भयाे। जसकाे कारण नेपाल सरकारले सन् १९८२ मा ६० मेगावाट क्षमताको कुलेखानी-१ नामक नयाँ जलविद्युत आयोजना निर्माण गर्याे।
त्यतिबेला जनसंख्या बढ्दो क्रममा रहेकाले यो नयाँ सुविधाले पर्याप्त रुपमा बिजुली उपलब्ध गराई माग पूरा गर्न सक्थ्यो। जम्मा ०.५ मेगावाटको फर्पिङ हाइड्रो स्टेशन त्यस उप्रान्त मुल्यवान हुन छोड्यो। र नेपालकाे इतिहास रच्न अहम भूमिका खेलेकाे फर्पिङ हाइड्रो स्टेशनकाे महिमा खै कता बिलिन भयो।
कुलेखानी-१ उद्घाटन भयाे। अब सर्वसाधरणलाई टुके बत्ती वा लालटिन अाैंशीकाे रातमा तारा चम्के जस्तै भइसकेकाे थियो। बिजुलीकाे रमझममा काठमाडौं सहर रमाउँदै थियो।
र त्यसकाे केही समयपछि काठमाडौं उपत्यकामा खानेपानीको संकट उत्पन्न भयो। यस समस्याको समाधान गर्नका लागि फर्पिङ जलविद्युत आयोजनाको जलाशयलाई पानी भण्डारण तथा आपूर्ति सुविधा प्रदान गर्नका निम्ति पुनर्निर्माण गरियो। र यस घटनाले एउटा युगकै अन्त्य भएको जनाउँछ।
कार्यविहीन तर जीवित संग्रहालय
बन्द भएको २५ वर्ष पछि सन् २००६ मा बिद्युत प्राधिकरणले एक अभियानको थालनि गर्यो । जस अन्तर्गत टर्बाइन, गभर्नर, नियन्त्रण प्यानल, सुरक्षा सर्किट, ट्रान्सफर्मर तथा डिसि-सप्लाई प्रणालीको सफाई, मर्मत र परीक्षण गरियो।
पावर स्टेशनले अझैसम्म पनि काम गर्ने कुरा पुष्टि भयो। पुष्टि पनि किन नहाेस त नेपालकै सबैभन्दा ठुलाे उपलब्धि र भुल्नै नमिल्ने इतिहास थियोे फार्पिङ हाइड्रो पावर स्टेशन।
त्यसको पाँच वर्षपछि सन् २०११ मा नेपाल सरकारले फर्पिङ जलविद्युत स्टेशनको शताब्दी जयन्ति मनायो। र सोही अवसरमा शताब्दी स्मारक पनि खडा गर्याे। उत्सवको क्रममा तत्कालीन राष्ट्रपति रामवरण यादवले विद्युत् केन्द्रलाई ‘जीवित सङ्ग्रहालय’ घोषणा गरेपछि मेसिनहरुलाई बारम्बार सञ्चालनमा राख्न थालिएको छ।
जीवित संग्राहलय र ऐतिहासिक स्थल घोषित भएको नेपालको पहिलो जलविद्युत आयोजनाले जति ध्यान पाउनु पर्ने हो त्यति पाउन सकिरहेको छैन। पर्खाल र छतमा देखिने चिराहरुले वास्तु संरचना जीर्ण अवस्थामा भएको प्रष्ट देखाँउछ। स्थानीय वासिन्दाहरुले गरेको जग्गा अतिक्रमण पनि यहाँको प्रमुख मुद्दा बनेको छ।
थप अवलोकन गर्दा त्यहा निर्माण गरिएको पार्क र स्मारकमा आगन्तुकहरूका लागि शौचालय र आराम गर्ने/बस्ने ठाउँ जस्ता आधारभूत सुविधाहरू पनि नभएको देखिन्छ। कुनै समयमा उर्जा क्षेत्रको इतिहासलाई आकार दिन महत्वपूर्ण भूमिका खेलेको देशको पहिलो जलविद्युत केन्द्र अहिले उचित हेरचाहको अभावमा जीर्णअवस्थामा पुग्नु निकै दुःख लाग्दो कुरा हो। याे दृश्य देखदा लाग्छ इतिहास विलीन भइरहेकाे छ । हाम्राे इतिहास विलिन हुनु भनेकाे नेपाल र नेपालीको अस्तित्व पनि बिस्तारै विलीन हुनु हाे।
ऐतिहासिक जलविद्युत् आयोजनाको जगेर्ना र संरक्षणका लागि सरकारले तत्काल पहल गर्नु जरुरी छ । देशको पहिलो जलविद्युत आयोजनालाई कदापि भुल्न सकिदैन र यसको विरासत आगामी पुस्ताहरुसम्म जीवित रहोस् भनेर सुनिश्चित गर्नु नेपाल सरकार र नेपाली जनता दुवैको दायित्व हो । हाेइन भने इतिहासले हामीलाई सरापने छ अनि अाउने पुस्ताले धिकार्ने छ ।
Facebook Comment