नेपालको सत्ता समीकरण र जनमत

शंकरप्रसाद रिजाल
८ जेठ २०८० १२:५४

नेपालजस्तो सानो र भूपरिवेष्ठित देशमा विदेश चलखेल हुनुलाई स्वभाविक मान्न सकिन्छ। तर पछिल्लो समय नेपालमा विदेशी चलखेल अस्वभाविक रुपमा बढ्न थालेको छ।

२०४७ सालभन्दा अगाडिसम्म नेपालमा विदेशी चलखेल भए पनि त्यो नगण्य रुपमा थियो। किनकि त्यो बेला नेपालमा सक्रिय राजतन्त्र थियो। विदेश आउँथे र जान्थे। विदेश चलखेलले जरो गाडिसकेको थिएन।

राजनीतिक गर्ने नेताहरु सर्प, बिञ्छी र भ्यागुता जस्ता भए पनि एकै ठाउँमा थिएनन्। अहिलेको जस्तो लोभी पापी थिएनन्।

चोरी ढाँटी लुकीछिपी राष्ट्रको ढुकुटीमा औंला डुबाई घ्यू खाने अलि अलि काम भए पनि पूरा हात नै डुबाएरै खाने काम हुन सकेको थिएन। किनकि नेतामा डर र त्रास थियो, त्यो हो राजडण्डको।

त्यही डण्डाको आश र अनुशाशनमा नेपाल त्यो बेलासम्म बिदेशी चलखेलबाट पूरै आक्रान्त भइसकेको थिएन। र विदेशीबाट हुने सत्ता समकिरणबाट समेत सुरक्षित मानिन्थ्यो।

के हो राजतन्त्र, कस्तो थियो राजतन्त्र सबैले बुझेकै कुरा हो। नेपालको इज्जत, राजनीति, अर्थनीति, धर्म नीति र समाज नीति, व्यापारिक नीति, कृषि नीति र मौद्रिक नीति सबैको परिसूचक सन्तोष रुपमा चल्दै आएको थियो।

कुनै कुरा ऋणात्मक शैलीमा थिएन। किनकि त्यहाँ राजतन्त्रको मौलिक शासन थियो। त्यो बेलाका प्रधानमन्त्री, मन्त्री, सचिब र सरकारी निकायका उच्च ओहदामा बस्ने कर्मचारी यति धेरै घुस्याहा थिएनन्। नेताहरु बिदेशीसँग बेचिएका थिएनन्।

भारत, चीन, अमेरिका, रसिया र युरोपियन युनियन मुलुकहरुको बाक्लो उपस्थिति थिएन। यी बिदेशीहरुको राजनैतिक समीकरणका खेल नेपालमा चल्न पाएको थिएन। किनकि मियो हराएको थिएन।

इसाइहरु नेपाल घुम्ने नाममा ठाउँ ठाउँमा पुगेर धर्म प्रचार गर्न सफल भए। देशमा अस्थिरता बढ्दै गयो। यही अस्थिरतालाई मध्यनजर गर्दै बिदेशीहरु नेपालको राष्ट्रिय राजनीतिमा पसेर उपद्रो मच्चाउन थाले।

तर जब नेपालमा ०४७ सालको संविधान निर्माण भएर देशमा प्रजातन्त्रको पुर्नस्थापना भयो, त्यसपछि नेपालमा विदेशी हस्तक्षेप ह्वात्ते बढ्यो। कैयौं बिदेशी एजेण्टहरु आइएनजीओको नाममा नेपाल भित्र एक एक गरी पस्न थाले।

नेपालको कुना कुनामा गइ देशमा गरिबी निवारणको नाममा अनेकौं नाटक मञ्चन गरी नेपाललाई दीर्घकालीन रुपमा सधैं गरीब र बिपन्न बनाइ नेपालको सबैकुराको बिस्तारै दोहन गर्ने काममा लागे। जसले गर्दा समाज परिवार राष्ट्र सबै ठाउंमा उनीहरुको पकड रह्यो।

इसाइहरु नेपाल घुम्ने नाममा ठाउँ ठाउँमा पुगेर धर्म प्रचार गर्न सफल भए। देशमा अस्थिरता बढ्दै गयो। यही अस्थिरतालाई मध्यनजर गर्दै बिदेशीहरु नेपालको राष्ट्रिय राजनीतिमा पसेर उपद्रो मच्चाउन थाले।

बिस्तारै नेताहरुलाई धन, मान, प्रतिष्ठा र पदको लोभ देखाई आफ्नो पकडमा राख्न सफल बने। त्यसै गरी शिक्षा प्रणालीमा पसेर ध्वस्त बनाए। आर्थिक जगत भित्र पसेर भएभरका सारा उद्योग कल कारखाना सबै बन्द र बेचबिखन गर्न लगाए।

भएका देशका होनहार युवा युवतीलाई बेरोजगार बनाइ बिदेशमा नोकरी गरी जीवन बिताउन बाध्य बनाए। बिस्तारै बिस्तारै देशमा बिदेशी गुप्तचर प्रवेश गरी देशका अरेक नेतालाई आफ्नो प्रभाव र दवाबमा पारी देशको राष्ट्रिय राजनीति आफूले भने जस्तो गरी चलाउन सफल भए।

सम्पूर्ण नेताहरु राजालाई भित्री रुपमा परित्याग गरी प्रधानमन्त्री, मन्त्री र ठूला पदहरुमा राखिदिने बिदेशीहरुको चाकडी गर्न तिर लागे। नेताहरुलाई देश घुमाउने, उनीहरुका छोरा छोरी नाति नातिनालाई बिदेशमा छात्रवृत्ति दिलाई अध्ययन गर्न पठाउने, अनेक उच्च पदमा पालैपालो राख्न बल र कसरत गर्ने जस्ता कार्य नेपालमा सुरु भयो।

विदेशीकै इसारामा नेपालबाट राजतन्त्रलाई सदाका लागि अन्त्य गर्दै मुलुकमा अनावश्यक संघीयतासहितको राज्य संरचना अपनाउन थालियो। नेताहरुको भित्र भित्रै भएको आपसी कुचालले देशमा माओवादी जनयुद्ध हुन पुग्यो।

जनयुद्ध गर्ने गराउने पनि भारत अमेरिका र युरोपियन युनिअन भित्र रहेका देशहरु थिए। त्यतिबेला नेपालका नेताहरु सुगा प्रवृत्तिका केवल ‘गोपी कृष्णको’ मात्र थिए। त्यत्रो माओवादीको आन्तरिक जनयुद्ध हुँदा पनि सबै चुप लागेर बसेका थिए।

उनीहरु सबैलाई अन्तर्राष्ट्रिय गिरोहका झुण्डहरुले आफ्नो कब्जामा लिइसकेका थिए। त्यतिबेला राजा र राजपरिवारको केही सिप नलाग्ने भइसकेको थियो। अझ दिल्लीमा भएको १२ बुँदे सम्झौताले त देशलाई अरुकै पोल्टामा सुम्पिएको जस्तो भइसकेको थियो।

त्यसउप्रान्त भारत अमेरिका र पश्चिमका राष्ट्रहरुको मिलोमितोमा राजनीतिक समीकरणमा बनेको सरकार नेपालमा एक एक वर्षमा ढल्न थाल्यो। भ्रष्टाचारको खेती बढ्दै गयो। सबै नेताहरु अरबौंको भ्रष्टाचार गर्नमा तल्लीन रहे। २२ अरबको देशको ऋणको भार पर्लक्क पल्टी २२ खरबमा परिणत हुन पुग्यो।

हरेक सत्ता समीकरणमा बनेको सरकारमा हिंसाको वलमा आएको माओवादीलाई केन्द्रबिन्दु बनाई सरकार निर्माण गराई सरकार चलाउने नीति भारत अमेरिका र पश्चिमेली देशहरुले अपनाए र देशका बलिया पार्टी नेपाली कांग्रेस र नेकपा एमालेलाई मुसाहरुको पार्टी जस्तो बनाएर को कांग्रेस, को एमाले र को माओवादी चिन्नै नसकिने अवस्थामा पुर्‍याउन बिदेशी समीकरणका नाइकरु सफल साबित भए।

समीकरणको नाममा नेपालमा राजनीतिको धोती यति फुस्किन पुग्यो कि कांग्रेसले माओवादीलाई भोट दिने, माओवादीले कांग्रेसलाई मत दिने र कहिले एमाले र माओवादीलाई सत्ता साझेदारीमा सम्मिलित गराउने अनि एक वर्ष पनि नपुग्दै फेरि माओवादी कांग्रेसको पोल्टामा सरी देशमा समीकरणको सरकारले शासन गर्ने।

यो बिदेशीको समीकरणको चाल नभए अरु के हुन सक्दछ? यसबाट के स्पष्ट हुन्छ भने नेपालको सरकार निर्माण गर्ने तरिका नेपाली शासकको हातमा छैन। बिदेशीकै पकडमा रहेको छ।

देशमा राजतन्त्रको जरो उखेली लोकतन्त्र र गणतन्त्र स्थापित गरी देशलाई कंगाल बनाउन आएका प्रत्येक शिर्षस्थ नेताहरु र तिनका कार्यकर्ताहरुले २०७२ मा जारी भएको नयाँ संविधानसँगै देशलाई बिकास र समृद्धिको चुलीमा पुर्‍याउने खोक्रो बाचा गरिरहने, समीकरण सरकारका पहरेदार नेताहरुले आज देशलाई कस्तो अवश्थामा पुर्‍याए यो प्रत्येक नेपाली बिबेकशील जनता र संसारका नेपालबारे चासो राख्ने विज्ञलाई राम्रो थाहा छ।

बिदेशीकै समीकरणको योजनामा आज ८९ सिट र ७८ सिट बिजयी हासिल गर्न सफल भएका क्रमसः कांग्रेस र एमाले पार्टीलाई पाखा लगाई ३२ सिट मात्रै जित्न सकेको माओवादीले दश दललाई साथमा लिएर समीकरणको सत्ता निर्माण गरी शासन चलाउनु भनेको बिदेशीको समीकरण नभए के हो?

यसमा फुट्ने जुट्ने र फेरि फुट्ने कुरा त बिहान बेलुका खाना खाए सरह हुन पुग्यो। यहाँ समीकरणकै नाममा एकमना सरकार ढालिन्छ, चाहे कांग्रेसको होस् वा एमालेको होस्।

गिरिजाप्रसाद कोइराला र केपी ओली जस्ताको एकमना सरकार पनि ढले कै हो भने सानो तिनो टुक्रे समीकरणको सरकारको के कुरा। यो समीकरणको बिदेशीको राजनीतिले देशमा न त सत्ता बलियो बन्न सक्यो न त प्रतिपक्षि नै बलियो बन्न सक्यो। यो निरन्तरता र बिदेशी समीकरणमा देशको संसद र सदनलाई चुर्लुम्ब डुबाइ देशलाई मियो बिनाको देश बनाउने काम भयो।

यस्ता फोहोरी खेलबाट वाक्क भएका जनताले पछिल्लो स्थानीय र प्रतिनिधि सभाको चुनावमा अनेकौं नयाँ अनुहारलाई जिताएर पठाएका छन्। धरानको मेयरमा स्वतन्त्रबाट हर्क साम्पाङ, काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्रबाट बालेन्द्र साह बिजयी भई आएका छन्।

संघको चुनावमा जुम्लाबाट ज्ञानेन्द्र शाही जस्ता युवा संसदमा प्रवेश गरेका छन्। नयाँ भर्खर खोलिएको राष्ट्रिय स्वतन्त्र पार्टीको संसदमा जबर्जस्त उपस्थिति छ।

देशमा विद्यमान समीकरणको बिदेशी सरकार, भ्रष्टाचार, बेथिति, अन्याय र अत्याचारलाई समयानुकुल नयाँ अनुहारका जनप्रतिनिधिले परास्त गर्दै नयाँ सोच र बिचार बोकेका व्यक्ति प्रतिनिधि सभामा बहुमत स्थापित गरेर आगामी निर्वाचनमा नयाँ सरकार गठन गरी विकासको मुल फुटाउँछन् भन्ने आशा नेपाली जनताले गरेका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *