यी हुन् जनताको जीवनस्तर विश्वमै सबैभन्दा खराब भएका देश, नेपालको अवस्था कस्तो छ ?

डिसी नेपाल
१३ जेठ २०८० १३:२७

काठमाडौं । अफ्रिकी देश जिम्बाब्वे विश्वको खराब जीवनस्तर भएको देशको सूचीमा पहिलो स्थानमा परेको छ । प्रख्यात अर्थशास्त्री स्टिभ हान्केको वार्षिक दुःख सूचकाङ्क अनुसार जिम्बावे हाल आर्थिक रूपमा विश्वको सबैभन्दा खराब देश हो, जहाँ अधिकांश मानिसहरू दुखी छन्। डरलाग्दो कुरा के छ भने जिम्बाब्वेको अवस्था युद्धग्रस्त युक्रेन, सिरिया र सुडानभन्दा पनि खराब छ ।

जिम्बाब्वेको यो अवस्थाको पछाडि धेरै कारण छन्, जसमा देशमा बढ्दो महंगी, उच्च बेरोजगारी दर, उच्च ऋण ब्याजदर समावेश छ। यससँगै स्टिभ ह्यान्केले जिम्बाब्वेको सत्तारुढ पार्टी जेडएएनयु-पीएफ र सरकारको नीतिलाई देश यस्तो बनाउनुको दोष लगाएका छन् ।

स्टिभ हान्केको वार्षिक दुःख सूचकाङ्कमा १५७ देशलाई स्थान दिइएको छ, जसमा नेपाललाई पनि समावेश गरिएको छ । सूचकांकका अनुसार नेपालमा अधिकांश मानिस बेरोजगारीका कारण दुखी छन् । सूचकांकमा नेपाल ६३ औं स्थानमा रहेको छ ।

अर्कोतर्फ अमेरिकाको नाम पनि १३४ औं स्थानमा सूचीमा परेको छ । अमेरिकामा मानिसहरुको असन्तुष्टिको प्रमुख कारण बेरोजगारी रहेको बताइएको छ । अर्कोतर्फ विगत ६ वर्षदेखि विश्वकै खुसी राष्ट्रको शीर्ष परेको फिनल्यान्डलाई यो सूचकाङ्कमा १०९औँ स्थान दिइएको छ ।

भेनेजुएला, सिरिया, लेबनान, सुडान, अर्जेन्टिना, यमन, युक्रेन, क्युवा, टर्की, श्रीलंका, हाइटी, अंगोला, टोङ्गा र घानाको नाम जिम्बाब्वेपछिको आर्थिक अवस्थाका लागि तयार पारिएको वार्षिक दुःखद सूचकांकमा शीर्ष १५ मा परेको छ ।

योसँगै सूचकांकमा युरोपेली राष्ट्र स्विट्जरल्याण्डलाई सबैभन्दा कम अर्थात १५७औँ स्थानमा राखिएको छ । सबैभन्दा खुसी मानिस स्विट्जरल्याण्डमा बस्छन्। स्वीट्जरल्याण्डसँगै खाडी राष्ट्र कुवेत १५६, आयरल्यान्ड १५५, जापान १५४, मलेसिया १५३, ताइवान १५२, नाइजर १५१, थाइल्यान्ड १५० औँ स्थानमा छन् । यी सबै देशका जनता आर्थिक आधारमा खुसी र सन्तुष्ट छन् ।

वार्षिक दुःख सूचकांक तयार गर्ने स्टिभ हान्के अमेरिकाको प्रसिद्ध जोन हप्किन्स विश्वविद्यालयमा प्राध्यापकको रूपमा कार्यरत छन्। यो सूचकांक बेरोजगारी, मुद्रास्फीति र देशहरूमा बैंकहरूको ब्याज दरको आधारमा तयार गरिएको हो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *