सन्तान जन्माउन ऊँट चढेर सात घन्टा लामो यात्रा

बीबीसी। मोनालाई सुत्केरी व्यथा लाग्दा एउटा ऊँट उनको जीवन रक्षक बन्यो। चट्टानी पहाडको टुप्पोमा अवस्थित उनको घरबाट अस्पतालसम्मको दूरी ४० किलोमिटर छ।

त्यो बाटो यात्रा गर्न चार घण्टा लाग्ने उनले ठानेकी थिइन्। तर सडक सहज थिएन। त्यसमाथि प्रसव वेदना र खराब मौसमका कारण त्यो बाटो पार गर्न सात घण्टा लाग्यो।

“ऊँटले चालेको हरेक पाइलासँगै म शारीरिक रूपमा निकै गलिसकेकी थिएँ,” १९ वर्षीया उनले सुनाइन्। जब ऊँट थप अघि बढ्न सकेन तब मोना तल ओर्लिन् र आफ्नो श्रीमान्‌सँगै पैदल यात्रा गर्ने साहस जुटाइन्। कृत्रिम गर्भाधानको उपाय पत्ता लगाउने महिला वैज्ञानिक जसले संसारलाई दुर्लभ प्रजननको अद्भुत उपहार दिइन्

उत्तर-पश्चिम यमनको महवीत प्रान्तमा रहेको बनी साद अस्पताल हजारौँ महिलाका लागि सञ्चालनमा रहेको त्यस क्षेत्रको एक मात्र स्वास्थ्य केन्द्र हो। अल-माकरा गाउँमा रहेको मोनाको घरदेखि उक्त स्वास्थ्य केन्द्रसम्म पुग्न कहाली लाग्दा पहाडहरू हुँदै ऊँटमा वा पैदल यात्रा गर्नुपर्ने हुन्छ।

आफू सवार ऊँटलाई बेसरी समात्दा मोना आफू र आफ्नो गर्भमा रहेको बच्चाको सुरक्षाबारे चिन्तित थिइन्। “सडक चट्टानी थियो,” उनले “शारीरिक र मानसिक रूपमा थकानपूर्ण यात्रा” सम्झँदै भनिन्। “मैले धेरै पटक आफूलाई त्यस परिस्थितिबाट बाहिर निकाल्न र मेरो बच्चालाई बचाउन ईश्वरसँग प्रार्थना गरेँ। म त्यो पीडाबाट निस्कन चाहन्थेँ।”

मोनालाई अस्पताल पुगेको सम्झना छैन। सुँडेनी र शल्य चिकित्सकहरूले बोकेको आफ्नो सन्तानको रोदन सुनेपछि आशावादी बनेको भने उनलाई सम्झना छ। उनले आफ्नो श्रीमान्‌सँगको सहमतिमा छोराको नाम जर्राह राखिन्, जुन उनको र बच्चाको ज्यान जोगाउने डाक्टरको नाम हो।

वरपरका गाउँहरूबाट अस्पतालसम्म पुग्ने बाटो साँघुरो छ। साउदी अरेबियाको नेतृत्वमा रहेको गठबन्धन र इरान समर्थित विद्रोही समूह हुथी बीचको आठ वर्ष लामो युद्धका कारण केही सडक खण्डित वा अवरुद्ध भएका छन्। गर्भवतीहरूलाई पहाडहरू छिचोल्दै अस्पतालसम्म पुग्न प्रायः महिला, परिवारका सदस्य वा श्रीमान्‌ले साथ दिन्छन्।

आमा बन्न लागेकी एक महिलासँगै यात्रा गरेकी ३३ वर्षीया सल्मा अब्दुले आफूहरूले आधा बाटो छिचोल्दा राति बाटोमै ज्यान गुमाएकी एक गर्भवती महिला देखेको सुनाइन् ।

सल्माले महिला र बालबालिकाप्रति दया देखाउन मानिसहरू समक्ष आग्रह गरिरहेकी छन्। “हामीलाई सडक, अस्पताल, औषधि पसल चाहिएको छ। हामी यो उपत्यकामा फसेका छौँ। भाग्यमानीहरूले सकुशल बच्चा जन्माउँछन्। तर केही पीडादायी यात्रा सहेर मरिरहेका छन्,” उनले भनिन्।

केही परिवारहरूले अस्पतालमा पैसा तिर्न सक्छन् तर त्यहाँ पुग्न आर्थिक स्रोत हुँदैन। यमनमा रोकथाम गर्न सकिने समस्याका कारण समेत बच्चा जन्माउने क्रममा प्रत्येक दुई घण्टामा एक महिलाको मृत्यु हुने त्यहाँ अवस्थित संयुक्त राष्ट्र सङ्घीय जनसङ्ख्या कोष (यूएनएफपीए) का हिसम नेहरोले बताए।

उनका अनुसार यमनका दुर्गम क्षेत्रका महिलाहरूले रक्तस्राव सुरु नभएसम्म वा गम्भीर पीडा नभएसम्म नियमित जाँच गराउँदैनन् वा कुनै सहायता खोज्दैनन्। यूएनएफपीएका अनुसार आधाभन्दा कम शिशु मात्र दक्ष चिकित्सकको सहायतामा जन्मन्छन् र एक तिहाइ मात्रै स्वास्थ्य केन्द्रमा जन्मिन्छन्। यमनको ४० प्रतिशत जनसङ्ख्या नजिकको पूर्ण सेवा उपलब्ध सार्वजनिक अस्पताल पुग्न एक घण्टा यात्रा गर्नुपर्ने दूरीमा बस्छन्।

यमनको स्वास्थ्य सेवा प्रणाली युद्ध अघि नै संघर्षपूर्ण अवस्थामा थियो। यद्यपि, द्वन्द्वले यमनका अस्पतालहरू र सडकहरूमा व्यापक क्षति पुर्‍याएको छ। जसले गर्दा त्यहाँका मानिसहरूका लागि कष्ट बिना नै यात्रा गर्नु असम्भव जस्तै छ। अस्पतालहरूमा दक्ष जनशक्ति, उपकरण र औषधिको अभाव छ, सडक र पूर्वाधारमा लगानी ठप्प छ।

यूएनएफपीएका अनुसार सञ्चालित स्वास्थ्य सुविधाहरूमा पाँच मध्ये एउटाले मात्र भरपर्दो मातृ तथा शिशु स्वास्थ्य सेवा प्रदान गर्न सक्छ।

यमनमा गर्भवती महिलाहरूले सामना गर्नुपरेको धेरै कठिनाइहरू मध्ये मोनाको भोगाई एउटा हो। यमनमा निजी सवारी साधन सर्वसाधारणको पहुँच बाहिरको वस्तु हो। त्यहाँका ८० प्रतिशत जनसङ्ख्या सहायता सामाग्रीमा निर्भर छ।

हाइलाका पतिले आफ्नी श्रीमतीले अस्पतालसम्म सहज यात्रा गरुन् भन्ने हेतुले आफूले साउदी अरेबियामा रोजगारी गर्दा बचत गरेको थोरै पैसा मोटरसाइकल भाडामा लिन खर्चिए। जब उनलाई व्यथा लाग्यो तब उनको जेठाजुले उनलाई मोटरसाइकलमा राखे। तर, उनी मोटरसाइकलबाट खसिन्।

जब उनीहरू धमारस्थित हडाका स्वास्थ्य केन्द्रमा पुगे, हाइलालाई तुरुन्तै शल्यक्रिया वार्डमा लगियो। “मलाई लागेको थियो त्यही मेरो अन्त्य हो,” ३० वर्षीया उनले भनिन्। “म र मेरो नजन्मिएको सन्तान बाँच्ने कुनै उपाय थिएन।”

उनलाई गर्भावस्थाको प्रारम्भिक चरणहरूमै गम्भीर रक्तस्राव र अन्य जटिलताहरूको जोखिमका कारण घरमा बच्चा जन्माउन नहुने चेतावनी दिइएको थियो। स्वास्थ्य केन्द्रका चिकित्सकले हाइला र शिशुलाई अन्तिम अवस्थामा उद्धार गरिएको बताए।

उनले आफ्नो छोरीको नाम अमल राखिन्, जसको अर्थ अरबीमा भाषामा “आशा” हो। “मैले युद्धका कारण झन्डै आफ्नो बच्चा र जीवनको अर्थ गुमाएकी थिएँ। तर मेरी छोरीले मलाई आशा दिलाइन्,” उनले भनिन्।

अन्तर्राष्ट्रिय आर्थिक सहायता कम भएपछि बनी साद अस्पताल जस्ता केन्द्रहरू थप आर्थिक चापमा परेका छन्। केन्द्रका कर्मचारीहरू आमा र बच्चाहरूको भविष्यबारे त्रसित छन् किनकि उनीहरू बचाउन सकिनेलाई प्राथमिकतामा राख्न बाध्य छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *