सन्दर्भ : वातावरण दिवस

चुरेको चुरो

यो वर्षको नीति तथा कार्यक्रमले प्रकृति तथा वातावरणविद् र संरक्षणविद्हरुलाई दुःखी वनायो। स्वास्थ्य लाभ गरिरहेका राष्ट्रपतिलाई बिबादमा ल्यायो।

खुशी कसलाई बनायो? जगजाहेरै छ, चुरे भरि अवैध क्रसर संचालन गरेर माटो उत्खनन, दोहन, विनास र तस्करी गर्ने तस्कर, बिचौलिया र दलालहरुको सत्र पल्टियो। सेटिङमा आबद्ध तलदेखि माथिसम्म सबैको खाँडो जाग्ने भयो।

तीब्र बिकासको छलाङ मारिरहेको छिमेकी देश भारतले कौडीको भाउमा हीरा पाउने भयो। छोटकरीमा बाह्य शक्ति र बिचौलियाको जितै जित भयो। मातृभूमिको लज्जास्पद हार भयो। आफू टकटकिने र नांगो हुने अकल्पनीय लाज। विश्व वातावरण दिवसको अवसर पारेर ‘चुरे बचाउ’ अपिल गर्न यो आलेख तयार पारेको छु।

स्पष्टोक्ति

बिबादास्पद र पीडादायी चुरे खाने नीति आउनासाथ शुभेच्छुकहरुले किन र कसरी भनेर जिज्ञाशा राखे। म राष्ट्रपति चुरे कार्यक्रममा छैन भनेर स्पष्टोक्ति दिदा दिदा हैरान भएँ। केही पूर्वसैनिकहरुलाई म चुरेमा छ भन्ने भ्रम रहेछ।

राष्ट्रपति चुरे कार्यक्रममा अज्ञातवस सदस्य नियुक्ती भएकोमा हार्दिक आभार ब्यक्त गर्दै ७ दिनभित्र मैले त्यो पद त्याग गरेको थिएँ।

राष्ट्रपति, प्रधानमन्त्री र वनमन्त्रीले पत्ता लगाउनु पर्‍यो त्यस्तो देशद्राेही , जनबिरोधी र प्रकृति बिरोधी भाषा नीति तथा कार्यक्रममा कुन बिचौलिया र तस्करले छिरायो? कि बिदेशी शक्तिको स्वार्थ रुझानको दबाब प्रभाव पर्‍यो?

तत्कालीन प्रधानमन्त्रीले गर्नु भएको टेलिफोनमा आफू बाहिरबाट स्वयंसेवी भै सहयोग गर्न तत्पर रहेको तर आफू चुरेको बिज्ञ नभएकोले सदस्य पद त्याग गर्न इच्छुक रहेको मौखिक निवेदन गरेर म त्यो जिम्मेवारीबाट पछि हटेको थिएँ। राजी खुसीसाथ।

स्वस्फूर्त पद त्याग गर्न पाएकोमा आजसम्म गौरवबोध भएको छ। यो आलेखमार्फत पुनः प्रष्ट्याउन चाहन्छु कि म राष्ट्रपति चुरे कार्यक्रममा छैन। तर त्यो कार्यक्रमको शुभेच्छुक र चुरेको स्वयंसेवी रक्षक हुँ।

राष्ट्रपतिलाई सुझाव

राष्ट्रपति चुरे कार्यक्रम नेपालको प्रकृति, जन–धन, शान रक्षा गर्न अपरिहार्य राष्ट्रिय गौरवको आयोजना हो। यसको गाम्भीर्यता र संवेदनशीलतालाई मध्यनजर राखेर यो आयोजनाको नाममा नेपालको उच्च आहोदालाई जोडेको हो।

राष्ट्रपतिलाई समग्र प्रकृति संरक्षणको स्वामित्व ग्रहण गर्ने संरक्षक, वनाउने र अन्तर्राष्ट्रिय मञ्चमा नेपालको संरक्षण छवि उजागर तथा प्रबद्र्धन गर्ने त्यसको मस्कद थियो।

राष्ट्रपतिले शितल निवासको चोटा चोटामा गुट उपगुटका कार्यालय खोलेर राजनीति नगरुन्, बिचौलियाहरुको अखडा नवनाउन् बरु निकुञ्ज आरक्ष संरक्षण क्षेत्रको भ्रमण, रचनात्मक अध्ययन, ज्ञान-ध्यान, चिन्तन र संरक्षण जस्तो अराजनीतिक तर धार्मिक र पबित्र काममा समय बिताउन् भन्ने गुह्य अभिप्राय थियो। मुलुकले प्रकृतिप्रेमी संरक्षण अभिभावकको संरक्षकत्व पाउने अभिलाशा थियो। भयो उल्टो।

राष्ट्रपति चुरे कार्यक्रमले नेपालका राष्ट्राध्यक्षको इज्जतलाई धुलिसात् पारेको छ। राष्ट्रिय बजेट कार्यकर्ता पाल्ने काममा दुरुपयोग भएको छ। आयोजना राजनीतिक दलहरुको भर्तीकेन्द्र, लुट्केन्द्र र भूतकेन्द्र भएको छ। चुरे संरक्षण होइन अति विनास भएर नेपाल आमा भत्किने बग्ने मरुभूमि हुने र सकिने अवस्थामा पुगिसकेकी छिन्।

राष्ट्रपतिलाई दुई विकल्प छन्- ह्वाङ ह्वाङ प्वाल हुने कि बज्र ढाल हुने। एकपटक बज्र ढाल भएर आयोजना शुद्धिकरण गरी चुरे बचाउने सच्चा संकल्प गर्नु चुरेहित, राष्ट्रहित र सर्बोच्च पदको हितमा हुनेछ।

यो संकल्प साकार गर्न केन्द्रमा ३ जनाको टिमबीच नमूना टिमवर्क हुन जरुरी छ। राष्ट्रपति, प्रधानमन्त्री र वनमन्त्रीको साझा संकल्प र त्यसको इमान्दार कार्यान्वयनले मात्र आशातीत परिणाम प्राप्त हुन सक्दछ। बिगतमा, नाम राष्ट्रपतिको काम कार्यकर्ताको हुँदा स्वार्थ बाजेर आयोजना दिशाहीन, गन्तब्यहीन र निरर्थक भएको हो।

राष्ट्रपति, प्रधानमन्त्री र वनमन्त्रीले पत्ता लगाउनु पर्‍यो त्यस्तो देशद्राेही , जनबिरोधी र प्रकृति बिरोधी भाषा नीति तथा कार्यक्रममा कुन बिचौलिया र तस्करले छिरायो? कि बिदेशी शक्तिको स्वार्थ रुझानको दबाब प्रभाव पर्‍यो?

प्रधानमन्त्री मन्त्रीलाई सुझाव

चुरे बेचे बिचौलिया मालामाल। निजगढको अवनिश एग्रिगेट र अलेखगञ्जको ओम साईबाबा क्रसरबाट १ जना उद्यमीले पौने चार अर्ब कर छली गरेको समाचार काफी छ कि त्यस्ता हजारौं उद्यमीले कर छली गरेर चुरेलाई कसरी बेचिरहेका छन्।

पौने ४ अर्ब कर छली गर्ने तस्करले कति लाखौं लाख चुरेको माल बेचेर कति खर्व कमाए होलान् अनुमान गर्न सकिन्छ। भारतीय ब्यापारीले चुरेमा अड्डा खोली माल चलानी गरेको कुरा कति निर्लज्ज र धिक्कार!

चुरे बेचे कौडीको भाउमा। संरक्षण गरेर दिगो बिकासमा जोड्न सके अनन्तकालसम्म खर्बौं खर्बको स्थायी आम्दानी। ६१ प्रतिशत जनसंख्याको लाइफलाइन चुरे मास्नु भनेको तराई हिमाल दुबै मरुभूमि हुनु र भत्किनु बग्नु र हामी मानवलगायत जैबिक बिबिधताको जीवन समाप्त हुनु हो।

तसर्थ, कार्यकारी वनमन्त्रीले चुरे बचाउ अभियानलाई बिशेष र उच्च प्राथमिकताका साथ सफल वनाउने संकल्प गर्नुपर्दछ। मुलुकले बत्तीबालेर खोजेको सुशासन डेलिभरी चुरे आयोजनाबाट प्रारम्भ गर्न सकिन्छ।

त्यो भनेको राजनीतिक हस्तक्षेप शून्यमा झार्नु हो र हरित सुशासनको प्रारम्भ हो। वनमन्त्रीले बिचौलियाहरुको होइन संरक्षणबिद्हरुको दृष्टिकोण र रायसल्लाह सुन्नुपर्दछ। चुरे बचाउन संभव छ। प्रधानमन्त्री र वनमन्त्रीलाई नाम मान सान धर्म कमाउने पवित्र जिम्मेवारी हो यो। तर कार्यकर्तालाई काम र दाम बन्द गर्नै पर्दछ।

देखाउने दाँत र खाने दाँत

वनमन्त्रीले गर्न सक्ने र गर्नुपर्ने केही काम सुझाउन मनासिव ठान्दछु-एकातिर राष्ट्रपति चुरे कार्यक्रको औचित्य देख्ने र बजेट कार्यक्रम पनि राख्ने तर फुट्टी काम नहुने। अर्कोतिर चुरेको माल बेच्ने नीति तथा कार्यक्रम आउने। कति ठूलो अन्तरबिरोध?

पूर्वसरकारको पालामा अर्थमन्त्री बिष्णु पौडेलले बजेट घाटा कम गर्न चुरेलाई सडकसाधन बाट होइन रोप वे बाट भारत पठाउने नीति ल्याउदा ब्यापक बिरोध भई फासफुस भएको नजीर समाएर यो वर्षको नीति सच्याउनु अथवा कार्यान्वयनमा नलैजानु बुद्धिमानी हुने छ।

कतिपय निकुञ्ज आरक्ष र संरक्षण क्षेत्रहरुको सौन्दर्यता तथा जैबिक बिबिधता खानी नै चुरे भएकोले चुरे संरक्षण निकुञ्ज र वन बिभागको साझा प्राथमिक दायित्व हुनुपर्दछ।

चुरे बेच्नु भनेको मातृभूमिको मुटु बेच्नु हो र त्यो प्रकृति बिरोधी देशद्रोह अपराध हो भन्ने भाष्य स्थानीयवासीहरुले निर्माण र स्थापित गर्नुपर्दछ। चुरे स्थानीयावासीहरुको स्थायी पुँजी हो र त्यो अनन्तकालसम्म कैयौं पुस्तालाई चाहिरहने ढुकुटी भएकोले त्यसको संरक्षण र दिगो तथा बुद्धिमानी उपयोगमा स्थानीयहरुले ध्यान दिनुपर्दछ।

चुरे नरहे न निकुञ्ज आरक्ष, न जैविक बिबिधता न नेपाल र नेपालीको सुरक्षा संभव छ। सबै समूल नष्ट हुने मृत्यू पत्रमा हस्ताक्षर गर्नबाट सरकारलाई रोक्न सबैले साझा पहल र प्रयास गर्नुपर्दछ।

म्यापिङ गरौं-चुरेमा कति नेपाली सेना र अन्य सुरक्षा अंगका ब्यारेक, पोष्ट, तालिम केन्द्र, अभ्यास इलाका र फायरिङरेञ्ज छन्। चुरे संरक्षण र बिपद् नियन्त्रणमा चुरे चर्चेर बस्ने ती सबैलाई एकीकृत र संयुक्तरुपमा कसरी सहभागी र जवाफदेही वनाउन सकिन्छ?

चुरे भरि शक्तिशाली फौज छ तर त्यसको पूर्ण बेवास्ता हुँदा चुरे भगवान भरोसामा छ। अब समन्वय, सहजिकरण, प्रशिक्षण र संयुक्त संरक्षण पहलको मोडलबाट जवाफदेही संरक्षण शुरु गरौं।

चुरेभरि सुन्दर ताल नै ताल थिए। तिनको पहिचान पुनर्भरण र संरक्षण चुरे सजीव सुन्दर राख्ने रामबाण सुत्र हो। यी ताल संरक्षण गर्ने अभ्यास र योगदान नेपाली सेनाले दशक अगाडि प्रारम्भ गरेको थियो।

सयौं ताल यद्यपि भरिभराउ होलान् तर चुरेमा हजारौं ताल बनाउन सक्यो भने पानीका मुलहरु फुट्ने छन्, बढ्ने छन्। जैविक बिबिधताको पुनर्ताजगी हुने छ र तराई सिंचिने छ। तर, पहिलो शर्त चुरेको अवैध उत्खनन, दोहन र बिक्री बन्द गर्नुपर्दछ।

तसर्थ, वनमन्त्रीले यी देखाउने दात र खाने राक्षसी दाह्रा बीचको बिरोध हटाउनुपर्दछ। भ्रष्ट दाह्रा काटेर दाँत मात्र राख्नुपर्दछ। चुरे आयोजना पनि राख्ने र राष्ट्रिय बजेट सक्ने, उता संरक्षणका नाममा चुरे बेचेर सिध्याउने दोहोरो नीति बन्द नगरेसम्म चुरे बचाउन संभव नभएकोले सन्तुलित र दिगो बिकासवाला जनतालाई लाभ हुने संरक्षणमा जोड दिनुपर्दछ।

चुरे कसको स्थानीयको 

३७ जिल्लाका १३६ पालिकाको जीवन हो चुरे। आफ्नो सुन्दर चुरे आफूले समाएर राख्ने र जोगाइछाड्ने संकल्प हुनुपर्दछ स्थानीय सरकारको। अनि स्थानीय जनताको।

चुरेको पहिलो लाभ स्थानीयवासीलाई हुने भएकोले संरक्षणको पहिलो जागरुक, जुझारु अभेद्य प्रतिरक्षा पर्खाल स्थानीयवासी आफैं हुनुपर्दछ। तबमात्र चौतर्फी सहयोग प्राप्त हुनेछ।

देखियो, संघ प्रकृतिमैत्री, वाताबरणमैत्री र चुरेमैत्री भएर बस्दैन। टाढा काठमाडौंको संघीय सरकारले चुरे देख्दैन, चिन्दैन र बुझ्दैन। संघ र उसको बिचौलियाको संजालले प्राकृतिक अपराध गरेर किन नहोस् पैसा चिन्दछ।

तर चुरे बेच्नु भनेको मातृभूमिको मुटु बेच्नु हो र त्यो प्रकृति बिरोधी देशद्रोह अपराध हो भन्ने भाष्य स्थानीयवासीहरुले निर्माण र स्थापित गर्नुपर्दछ। चुरे स्थानीयावासीहरुको स्थायी पुँजी हो र त्यो अनन्तकालसम्म कैयौं पुस्तालाई चाहिरहने ढुकुटी भएकोले त्यसको संरक्षण र दिगो तथा बुद्धिमानी उपयोगमा स्थानीयहरुले ध्यान दिनुपर्दछ।

चुरेमा भारतीय पर्यटक तान्ने सयौं प्रकृतिमैत्री हिलस्टेसनहरु बनाउँ। कृषि वन, जडिबुटी, नगदे फलफूल, माछा पालन, ताल पर्यटनमार्फत रोजगार सृजना गरेर चुरेको जीवन समृद्ध बनाउँ।

जैबिक बिबिधता बढाएर पूर्व-पश्चिम गर्ने एकमात्र जैबिक मार्गको रक्षा गरी पाटेबाघ, गैंडा, हात्ती जस्ता दुर्लभ वनयजन्तुलाई आकर्षण गरेर पर्यटकका आँखा तृप्त पारौं। चुरेलाई हाम्रो मधेस र छिमेकी भारतको शितल हरित स्वर्ग वनाउन लागि परौं।

अन्त्यमा, नयाँ राष्ट्रपतिलाई चुरे रक्षाको अन्तिम अवसर। प्रधानमन्त्री र वनमन्त्रीलाई प्रकृतिमैत्री बिकास र हरित सुशासन मार्फत समृद्धि दिने पवित्र, धार्मिक र लोकप्रिय अवसर।

सुरक्षा निकायहरुलाई ‘चुरे रक्षा-देश रक्षा’ नारा घन्काएर चुरे बचाउने दुर्लभ अवसर। बिचौलिया र तस्करहरु लखेटेर आफ्नो चुरे आफैंले समातेर जोगाई छाड्ने चट्टानी अडान लिने स्थानीय सरकार र स्थानीय जनतालाई सुवर्ण मौका।

यो बर्षको वाताबरण दिवसले पत्रपत्रका सरकार, सम्पूर्ण संरक्षण साझेदार संघसंस्था र सारा नेपाली जनतालाई ‘चुरे संरक्षण-वातावरण संरक्षण-नेपाल संरक्षण’ को संरक्षण अभियानमा दृढ संकल्प लिएर गोलबद्ध हुन प्रेरणा देओस्, त्यही छ पंक्तिकारको शुभकामना।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *