सरकारलाई साउदीमा मृत्युदण्ड पाएका सन्तबहादुरहरूको चिन्ता किन हुँदैन?

समर्पण भट्टराई
२३ जेठ २०८० १०:३२

स्वदेशमा रोजगारको अभावमा विदेशमै गएर गुलामी गरेर भए पनि आफ्नो परिवारको एक छाक टारौंला र आफ्नो परिवारलाई एक सरो इज्जत ढाक्ने सपनासहित रोजगारीको निम्ति भौतारिँदै साउदी अरब पुगेका पर्वतका सन्तबहादुर पुनको सपना सपना मै सीमित हुन पुग्याे।

आफूले गोठालो गर्दै आएको साहुका भेडा लुट्न लुटेरा बनेर आएका साउदी नागरिक ओदा विन अऐदा विन हमोद अल सरारीकोसँग आफ्नो कर्तव्य पूरा गर्दागर्दै अल सरारीको मृत्यु भएपछि उसैको हत्या अभियोगमा २०५८ साउदी अदालतले मृत्युदण्डको फैसला सुनाएपछि उनी विगत २२ वर्षदेखि जेल जीवन बिताइहेका थिए।

केही समय अगाडि साउदीको सर्वोच्च अदालत अर्थात् रोयल कोर्टलेसमेत उनलाई मृत्युदण्डको फैसला सुनाएपछि गत बिहीबार उनलाई साउदी सरकारले मृत्युदण्ड दिएको छ।

यसरी साउदी अरबमा मृत्युदण्ड पाएका उनीमात्र होइनन् अन्य थुप्रै नेपालीले समेत मृत्युदण्ड पाइसकेका छन्। यस्तै एक वर्ष अगाडि उदयपुरका बिबेक दाहाललाई १५ वर्षको जेल सजायपछि मृत्युदण्ड दिएर उनको शव पनि उतै दफन गरियो।

धन कमाउने सपना बोकेर गएका नेपाली श्रमिकहरुकाे श्वास हाेइन, लास पनि स्वदेश फर्किँदैनन्। आफन्त र परिवारको प्रिय मान्छेलाई कूर अमानवीय तरिकाले हत्या गरिएको खबरले कति स्तब्ध र मर्माहत बनाउँछ यो कल्पनासम्म पनि गर्न सकिँदैन।

श्वास नपाए पनि लास नै हेरेर भए अन्तिम इच्छा पूरा गर्ने परिवार र आफन्तको चाहना पनि चाहना मै सीमित हुँदाको त्यो क्षण कति पीडादायी हुन्छ होला?

तिनै श्रमिकको रगत र पसिनाबाट आर्जित रेमिटान्सले अनगिन्ती सुरक्षाकर्मीको स्कर्टिङभित्र महंगा महंगा ल्याल्ड क्रुजर, बोलेरो र पजेरोमा हुइँकिने तथाकथित जनप्रतिनिधिलाई के थाहा हुन्छ र त्यो पीडा? ती परिवार अनि आफ्न्तले बगाएको आशुको के महत्त्व राख्छ र ढुंगा झैँ मुटु भएका विदेशी दलालका मतियारलाई।

साउदी अरबको मरुभूमिमा एक नेपालीको निर्मम र कूरतापूर्ण हत्या भएको खबरले आम श्रमिक र नागरिकहरु स्तब्ध भएको यो दु:खद क्षणमा तथाकथित जनप्रतिनिधि संसद भवनमा को कति विदेशीको बफादार बन्ने र कति रकम कुम्लाउने भनेर ठूलै प्रतिस्पर्धा चलिरहेको थियो।

चाहे सत्तापक्ष हुन या विपक्ष कुनै संसदलाई यी श्रमिकको हत्याको पीडाले नछुनु त स्वाभाविकै हो। उनीहरूमा सामान्य मानवीय समवेदनासमेत देखिएको पाइएन।

तर तिनै श्रमिकको रगत पसिना लुटेर अघाएका लुटेराहारु लाज घिन नैतिकता सबै पचाएर कोही आफूलाई श्रमजीवी नागरिकको प्रतिनिधित्व गर्ने भन्दै धाक दिँदै थिए भने सरकार आफूलाई इतिहासकै सर्वोकृष्ट सरकार भन्दै गर्व गर्दै थियो।

तिनै दलका श्रमजीवीका हामी वास्तविक प्रतिनिधि हौ भन्ने श्रमिक नाम राखिएका झुन्ड र समूह हरु आआफ्ना मालिकको भजन कृतन मै व्यस्त छ्न् चाहे त्यो साउदीको ५५ डिग्री तातोले पिल्सिएको आफ्नो शरीर र पीडा भन्दा पनि उनीहरुलाई आफ्नो मालिक प्यारो र प्रिय भइरहेको हुनुपर्छ।

अब पनि आम श्रमजीवीहरुले नबुझ्ने हो र अझै पनि हामी विदेशीका त दास गुलाम भयौं भयौं, आफ्नै देशका नेता भनिएका विदेशीका दलालहरुको पनि दास र गुलाम नै बनिरहने हो त?

श्रमजीवीहरुको वास्तविक नेतृत्व सत्ता नभएसम्म आम श्रमजीवीको पीडा सम्बोधन र सुनवाइ हुँदैन भन्ने जान्दाजान्दै पनि हामी छातीमा हात राखेर एक पटक सन्तबहादुर, विवेक दाहाल जस्तै लाखौं परिवारबारे नसोचे पनि आफ्नो बारेमा सोच्ने बेला आएन र?

यतिबेला यो सदन र सरकारमा सन्तबहादुर जस्तै आम श्रमिकका प्रतिनिधि भइदिएको भए साउदीको त्यो मरुभूमिमा मारिनु पर्थेन भन्ने चेत हामीमा नआउने नै हो त?

तसर्थ श्रमिकको रगत पसिना लुटेर खान पल्केकाहरु विवेक र सन्तबहादुर जस्तै हजारौं नेपाली श्रमिकका अप्रत्यक्ष हत्यारा यही सदनमा भएका होइनन्?

तसर्थ एक पटक हरेक श्रमिकले आफ्नो न्याय र रक्षाका निम्ति संसारभरबाट एकतावद्ध भएर उठ्नु पर्छ र हाम्रो रगत र पसिनाले आर्जेको रेमिटान्स खाएर विवेक र सन्तबहादुर जस्तै हजारौं श्रमिकको मृत्युमा रमाउने राक्षस प्रवृति भएकालाई सवक सिकाउन हामी तयार भएनौं भने हामी पनि ढिलो चाँडाे सन्तबहादुर बन्ने निश्चित छ।

अन्त्यमा सन्तबहादुर पुनप्रति भावपूर्ण श्रद्धाञ्जली शोकाकुल परिवारजन प्रति गहिरो समवेदना।

लेखक- नेपाली मजदुर एकता समाजका अभियन्ता एव! केन्द्रीय समितिका महासचिव हुन् ।

हेर्नुहोस् भिडियो:




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *