पाकिस्तानमा आम निर्वाचनको घोषणा
काठमाडौं । पाकिस्तानको सरकारले अन्ततः देशमा चुनाव कहिले हुने घोषणा गरेको छ। द एक्सप्रेस ट्रिब्यून अखबारका अनुसार रक्षामन्त्री ख्वाजा आसिफले निर्वाचनमा ढिलाइ हुने अनुमानलाई अन्त्य गर्दै यस वर्षको अक्टोबरमा चुनाव हुने बताएका छन् ।
पाकिस्तान लामो समयदेखि राजनीतिक अस्थिरता र आर्थिक मन्दीको सामना गरिरहेको छ। समयमै निष्पक्ष निर्वाचन नभएसम्म स्थितिमा सुधार नहुने विज्ञहरू बताउँछन् ।
सत्तारुढ गठबन्धन पाकिस्तान पिपुल्स पार्टी (पीपीपी) का सह-अध्यक्ष आसिफ अली जर्दारीले पनि अक्टोबरपछि चुनाव स्थगित गर्नु मूर्खतापूर्ण हुने बताएका छन्।
पूर्व प्रधानमन्त्री इमरान खानको पाकिस्तान तहरीक-इन्साफ पार्टी (पीटीआई) ले शहबाज शरीफ सरकारले जानाजानी चुनाव ढिलाइ गर्न सक्ने आशंका व्यक्त गरेको थियो।
हालको राष्ट्रिय सभाले यही आक्टोबरमा आफ्नो पाँच वर्षे कार्यकाल पूरा गर्दैछ र दुई महिनाभित्र आम निर्वाचन हुनेछ । पाकिस्तानको संविधान अनुसार राष्ट्रिय सभाको कार्यकाल पूरा भएको ६० दिनभित्र निर्वाचन गराउनु अनिवार्य छ ।
पीटीआईले पञ्जाब र खैबर पख्तुनख्वा प्रान्तको विधानसभा भंग गरेको थियो।
यो कदमले सत्तारुढ पाकिस्तान मुस्लिम लिग (नवाज) र पाकिस्तान पिपुल्स पार्टीको गठबन्धनलाई ९० दिनभित्र देशको र प्रान्तीय सभाको निर्वाचन गराउन बाध्य बनाउने अपेक्षा गरिएको छ।
तर यस्तो हुन सकेको छैन । सत्तारुढ गठबन्धन र इमरान खान नेतृत्वको पाकिस्तान तहरीक-इन्साफ चुनावको मितिमा सहमत हुन सकेनन् ।
पाकिस्तानमा लामो समयदेखि राजनीतिक उथलपुथल चलिरहेको छ । गत महिना पूर्व प्रधानमन्त्री इमरान खानलाई भ्रष्टाचारको मुद्दामा इस्लामावाद उच्च अदालत बाहिरबाट हिरासतमा लिइएको थियो।
त्यसपछि उनको पार्टीका समर्थकहरूले देशभर हंगामा मच्चाए र ठूलो मात्रामा तोडफोड र हिंसा भयो जसमा कम्तिमा १० जनाको मृत्यु भयो।
त्यसपछि इमरान खानविरुद्ध धेरै मुद्दा दर्ता भएका छन् । तर पछि अदालतले उनलाई जमानत दिएको थियो ।
यसपछि प्रधानमन्त्री शहबाज सरिफले सर्वोच्च अदालतले इमरान खानको निर्देशनमा काम गरिरहेको आरोप लगाएका थिए ।
Facebook Comment