यी हुन् मन्त्रिपरिषद् बैठकले गरेका निर्णय
![यी हुन् मन्त्रिपरिषद् बैठकले गरेका निर्णय](https://www.dcnepal.com/wp-content/uploads/2023/06/348363235_121765094265736_9149374077844625668_n.jpg)
काठमाडाैं। सरकारले आवश्यक सेवाको हड्ताल गर्न निषेध गरी आदेश जारी गर्ने निर्णय गरेको छ।
सिंहदरबारमा बुधबार बसेको मन्त्रिपरिषद् बैठकले आवश्यक सेवा सञ्चालन ऐन २०१४ को दफा ३ को उपदफा १ बमोजिम आवश्यक सेवाको हडताल गर्न निषेध गरी आदेश जारी गर्ने र सो को सूचना नेपाल राजपत्रमा प्रकाशित गर्ने निर्णय गरेको हो।
बैठकले मन्त्रिपरिषद्को विधेयक समितिबाट पेस भएको विद्युतीय व्यापारको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक संघीय संसदमा पेस गर्न स्वीकृति दिने निर्णय भएको सरकारका प्रवक्ता रेखा शर्माले जानकारी दिइन्।
बैठकले काभ्रेपलान्चोक जिल्ला पाँचखाल नगरपालिकामा रहेको औद्योगिक ग्रामलाई महिला उद्यमी विशेष औद्योगिक ग्राममा रूपान्तरण गर्ने निर्णय गरेको छ भने कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको अध्यक्षमा सहसचिव मदन भुजेललाई तोक्ने निर्णय गरिएको प्रवक्ता शर्माले बताइन्।
त्यस्तै माथिल्लो मैलङखोला जलविद्युत लिमिटेडलाई आयोजनाको टावर र राइट अफ वे को लागि रसुवा र नुवाकोट जिल्लामा रहेको राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न दिन तथा सो वन क्षेत्रमा रहेका रुखहरू हटाउन स्वीकृति दिने निर्णय पनि भएको उहाले बताइन्।
त्यस्तै बैठकले जेठ २९ देखि ३२ गतेसम्म बेल्जियमको ब्रसेल्समा आयोजना हुने एक कार्यक्रममा सहभागी हुन काठमाडौं महानगरपालिकाका नगर प्रमुख बालेन्द्र साहको भ्रमण स्वीकृत गर्ने निर्णय पनि गरेको छ।
Facebook Comment