लिभिङ टुगेदरमा रहेका युवकले गरे प्रेमीकाको हत्या

डिसी नेपाल
२४ जेठ २०८० १७:३०

काठमाडौं। आपसी विवादका कारण लिभिङ टुगेदरमा रहेका एक युवकले युवतीको हत्या गरेका छन्। राजधानीको ठमेलमा लिभिङ टुगेदरमा बस्दै आएकी जेनिशा तामाङको उनकै प्रेमी अमर रञ्जितकारले हत्या गरेका हुन्।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्त एसपी सिताराम रिजालका अनुसार चितवनको राप्ती नगरपालिका–७ घर भएकी २६ वर्षीया जेनिशाको उनका प्रेमी काभ्रेको धुलिखेल नगरपालिका–१० घर भएका ३० वर्षीय रञ्जितकारले हत्या गरेका हुन्।

उनका अनुसार जेनिशा र अमर ६ महिनायता लिभिङ टुगेदरमा थिए। उनीहरु भगवती बहालको एक घरमा डेरा लिएर सँगै बस्ने गरेको र सामान्य विवादमा उनको हत्या भएको थियो।

‘उनीहरुबीच मंगलबार दिउँसो आपसी विवादका क्रममा भएको झगडा चर्किदै जाँदा मादक पदार्थ सेवन गरेका अमरले जेनिशामाथि कुटपिट गरेका गरेका रहेछन्’, एसपी रिजालले भने।

प्रहरीका अनुसार कुटपिटपछि गम्भीर घाइते भएकी जेनिशालाई मंगलबार दिउँसो ३ बजे उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज लगिएको तर मंगलबार राति नै उनको अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो।

मापसे गरेको अवस्थामा घटनालगत्तै अमरलाई पक्राउ गरिएको थियो। विवादको क्रममा जेनिशालाई कुटपिट गरेको रन्जितकारले स्वीकार गरिसकेका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *