कविता : अन्तर ज्योति
म भित्रको शक्ति उठाई देउ
म भित्रको ज्योति जगाई देउ
म भित्रको रुप खुलाई देउ।
म को हुँ को ज्ञान मलाई देउ
त्यहीँ सारा सागरमा डुबाइ देउ
म भित्रको भक्तिलाई नुहाई देउ।।
म भित्रको अग्नि जलाई देउ
म भित्रको पाप सुकाई देउ
म भित्रको दिप जलाई देउ।
ब्रम्माण्ड मेरो मन भित्र नै छ
पृथ्वी नै अट्ने मन भित्र नै छ
आकास अट्ने मन भित्र नै छ ।।
राम्रो नराम्रो यस भित्र नै छ
म भित्रको ईश्वर यस भित्र नै छ
म भित्रको ज्योति यस भित्र नै छ ।
पर्दा लगाए सब चिज भित्र
नदेखिने भो लिई भित्र चित्र
नदेखिने भो लिई भित्र चित्र।।
धुलो छ ऐना मन भित्र कालो
रातै परेझैं अब बुझ्छु बल्ल
रातै परेझैं अब बुझ्छु बल्ल।
सम्झेर रुन्छु मन भित्र भित्र
गर्छु म भक्ति मन भित्र भित्र
बाल्छु म बत्ति मन भित्र भित्र।।
पर्दा उघारे सब देखिने छ
उद्यानमा झैं सब फूल फुल्छ
उद्यानमा झैं सब फूल फुल्छ।
Facebook Comment