के एआईको दौडमा चीन अमेरिकाभन्दा अगाडि जाँदैछ?
बीबीसी। आर्टिफिशल इन्टेलिजन्स एउटा पर्याप्त चिन्ताको विषय बनिसकेको छ र त्यो हालैको जी-सेभेन सम्मेलनमा एउटा प्रमुख एजेन्डा बनेको थियो। एआईका खराब प्रभाव बारेका चिन्ताहरू उक्त महत्त्वपूर्ण प्रविधिमा चीनको पहुँचलाई प्रतिबन्ध लगाउने अमेरिकाको प्रयाससँग मेल खान्छन्।
अहिलेका लागि अमेरिका एआई प्रविधिको दौडमा अगाडि देखिन्छ। र, चीनमा सेमिकन्डक्टर निर्यातमा प्रतिबन्धले बेइजिङको प्राविधिक प्रगतिमा बाधा पुर्याउने सम्भावना पहिले नै देखिएको छ।
तर एआईका क्षमता विकासमा वर्षौँ लाग्ने भएकाले त्यस बेलासम्म चीनले त्यसलाई ग्रहण गर्न सक्ने विश्लेषकहरू बताउँछन्। ट्रिभिअम चाइनाकी प्राविधिक नीति अनुसन्धान प्रमुख केन्ड्रा शेफरले बीबीसीलाई भनिन्, “चिनियाँ इन्टरनेट कम्पनीहरू अमेरिकी इन्टरनेट कम्पनीभन्दा धेरै उन्नत छन्।”
तर तपाईँले कसरी त्यसको तुलना गर्नुहुन्छ भन्ने आधारमा त्यो तय हुने उनको भनाइ छ। यद्यपि उनी प्रविधिमा नेतृत्व गरिरहेका विश्व शक्तिहरूका तुलनामा उच्च प्रविधियुक्त उपकरण र सामग्रीहरू उत्पादन गर्ने क्षमतामा चीन अझै पनि अनुमानित रूपमा १० देखि १५ वर्षसम्म पछाडि रहेको बताउँछिन्।
प्रविधि विकासमा अमेरिकाकाका लागि सबैभन्दा ठूलो फाइदाको कुरा भनेको सिलिकन भ्याली हो। त्यो विश्वकै सर्वोच्च उद्यमशीलता विकास केन्द्र हो। त्यो गुगल, एपल र इन्टेल जस्ता ठूला प्रविधि कम्पनीहरूको जन्म भएको स्थल हो र ती कम्पनीहरूले आधुनिक जीवनलाई सहज बनाउन मद्दत गरेका छन्।
हङ्कङ युनिभर्सिटी अफ साइन्स एन्ड टेक्नोलोजीको सेन्टर फर आर्टिफिशल इन्टेलिजन्स रिसर्चकी निर्देशक पास्केल फङ अमेरिकाका नवप्रवर्तकलाई उसको अनुसन्धान संस्कृतिले सहयोग गरेको बताउँछिन्।
उनका अनुसार त्यहाँ अनुसन्धानकर्ताहरू प्राय: कुनै उत्पादनलाई दिमागमा नराखी प्रविधि सुधार गर्न वर्षौँ खर्च गर्ने गर्छन्। उदाहरणका लागि ओपनएआई ट्रान्सफर्मर मेसिन लर्निङ मोडेलको अनुसन्धान गर्दा वर्षौँसम्म गैर-नाफामूलक कम्पनीको रूपमा रह्यो र अन्ततः उसले च्याटजीपीटी सञ्चालन गर्यो।
उनी भन्छिन्, “धेरै चिनियाँ कम्पनीहरूमा यस्तो वातावरण कहिल्यै रहेन। उनीहरूले लोकप्रियता देखेपछि मात्र गहिरो सिकाइ प्रणाली वा व्यापक भाषा मोडेलहरू विकास गर्ने गर्छन्। यो चिनियाँ एआईका लागि आधारभूत चुनौती हो।”
अमेरिकी लगानीकर्ताहरूले पनि देशमा हुने अनुसन्धानलाई टेवा दिन सहयोग गर्ने गरेका छन्। सन् २०१९ मा माइक्रोसफ्टले ओपनएआईमा एक अर्ब डलर लगानी गर्ने बताएको थियो। माइक्रोसफ्टका प्रमुख कार्यकारी सत्य नाडेलाले भने, “एआई हाम्रो समयको सबैभन्दा परिवर्तनकारी प्रविधि हो र यसले हाम्रो विश्वका धेरै दबाबपूर्ण चुनौतीहरू समाधान गर्न मद्दत गर्ने क्षमता राख्छ।”
चीनले भने ठूलो उपभोक्ता आधारबाट फाइदा उठाइरहेको छ। चीन संसारकै दोस्रो सबैभन्दा धेरै जनसङ्ख्या भएको देश हो र त्यहाँ लगभग एक अर्ब ४० करोड मानिसहरू बसोबास गर्छन्।
रेस क्यापिटल इन्भेष्टमेन्ट फर्मका साझेदार एडिथ येउङका अनुसार यो एउटा इन्टरनेट फस्टाइरहेको क्षेत्र पनि हो। उदाहरणका लागि देशका लगभग सबैले सुपर एप वीच्याट प्रयोग गर्छन्। यो टेक्स्ट मेसेज पठाउन, चिकित्सकसँग समय लिन र कर तिर्ने कार्य सम्मका लागि प्रयोग गरिन्छ।
त्यसले गर्दा त्यहाँ धेरै जानकारी छ र ती जानकारीहरू उत्पादनलाई सुधार गर्न प्रयोग गर्न सकिन्छ। “एआई मोडेल यसबाट सिक्नको लागि उपलब्ध डेटा जत्तिकै राम्रो हुनेछ,” येउङ भन्छिन्।
“राम्रो वा नराम्रोका लागि चीनमा गोपनीयताबारे धेरै कम नियमहरू छन् [अमेरिकाको तुलनामा] र धेरै डेटा छन्। जस्तो त्यहाँ जताततै सीसीटीभीबाट मानिसहरूका अनुहार चिन्ने प्रविधि रहेको छ,” उनी भन्छिन्।
ली काई-फूले आफ्नो पुस्तक ‘एआई सुपर पावर्स: चाइना, सिलिकन भ्याली एन्ड द न्यू वर्ल्ड अर्डर’मा चीनको प्राविधिक समुदाय अमेरिकाभन्दा पछि परेको देखिने र उसका विकासकर्ता एउटा किनारामा रहेको दाबी गरेका छन्।
“तिनीहरू यस्तो संसारमा बस्छन् जहाँ गति आवश्यक छ, नक्कल गर्ने कुरा एउटा स्वीकार्य अभ्यास हो र प्रतिस्पर्धीहरू नयाँ बजार पाउनका लागि केहीले पनि रोकिने छैनन्,” बेइजिङको इन्टरनेट क्षेत्रका प्रमुख व्यक्तित्व र गुगल चीनका पूर्व प्रमुख लीले लेखेका छन्।
“यो खालको खराब वातावरणले सिलिकन भ्यालीसँग चीनको भिन्नता देखाउँछ। सिलिकन भ्यालीमा कुनै पनि कुरालाई नक्कल गर्ने चलनलाई व्यवसायको कलङ्कको रूपमा हेरिन्छ र धेरै कम्पनीहरूलाई एउटा मौलिक विचारका आधारमा अघि बढ्न अनुमति दिइन्छ।”
चीनमा कुनै पनि कुराको नक्कल गरिने कुराले बौद्धिक सम्पत्तिको मामिलामा गम्भीर समस्याहरू देखिएको छ तर उसका फुर्तिला उद्यमीहरूको एउटा पुस्ता प्रतिस्पर्धा गर्न तयार भएको उनले लेखेका छन्।
फङका अनुसार सन् १९८० को दशकदेखि चीनले आफ्नो अर्थतन्त्रलाई विस्तार गर्दै आएको छ, जुन मुख्यत: उत्पादनमा आधारित हुने प्रविधिमा आश्रित अर्थतन्त्रमा अडेको थियो।
“पछिल्लो दशकमा हामीले चिनियाँ उपभोक्ता केन्द्रित इन्टरनेट कम्पनीहरू र उच्च-प्रविधियुक्त चिनियाँ डिजाइनहरूबाट थप नवप्रवर्तन देखेका छौँ,” उनी भन्छिन्।
चिनियाँ प्रविधि कम्पनीहरूलाई निश्चित रूपमा अद्वितीय फाइदाहरू छन् तर अझै पनि त्यसमा बेइजिङको अधिनायकवादको पूर्ण प्रभाव के हुन्छ भन्ने अस्पष्ट छ।
त्यहाँ केही प्रश्नहरू छन्। उदाहरणका लागि सेन्सरशिपले चिनियाँ एआई च्याटबटहरूको विकासलाई असर गर्छ कि गर्दैन? के उनीहरू राष्ट्रपति सीको बारेमा संवेदनशील प्रश्नहरूको जबाफ दिन सक्षम हुनेछन्?
“मलाई लाग्दैन कि चीनमा कसैले पनि बाईडु वा अर्नीमा विवादास्पद प्रश्नहरू सोध्नेछन्। उनीहरूलाई थाहा छ कि यो सेन्सर गरिएको छ,” येउङ भन्छिन्।
“संवेदनशील विषयहरू [च्याटबटहरूको] प्रयोगको एकदमै सानो भाग हुन्। तिनीहरूले मिडियाको बढी ध्यान खिँचेका छन्,” फङ त्यसमा सही थप्छिन्।
सबैभन्दा ठूलो चिन्ता के हो भने विशेषखाले प्रविधिमा चीनको पहुँचलाई प्रतिबन्ध लगाउने अमेरिकी प्रयासले पछिल्ला एआई उद्योगलाई रोक्न सक्छ। उच्च क्षमताका कम्प्युटर चिपहरू वा सेमिकन्डक्टरहरू अब वाशिङ्टन र बेइजिङबीच तनाव उत्पन्न गराउने स्रोत हुनेछन्।
ती कुराहरू ल्यापटप र स्मार्टफोनहरू सहित दैनिक प्रयोग हुने विद्युतीय उत्पादनहरूमा प्रयोग गरिन्छ र सैन्य उपकरणमा पनि प्रयोग हुन सक्छन्। एआई सिकाइका निम्ति हार्डवेयरमा पनि ती महत्त्वपूर्ण छन्।
एनभिडिया जस्ता अमेरिकी कम्पनीहरूले हाल एआई चिप्स विकास गर्न नेतृत्व गरेका छन् र “केही [चिनियाँ] कम्पनीहरूले च्याटजीपीटीविरुद्ध प्रतिस्पर्धा गर्न सक्छन्” फङ भन्छिन्।
त्यसले चीनको अत्याधुनिक एआई जस्ता उच्च प्रविधि उद्योगहरूलाई असर गरे पनि मोबाइल र ल्यापटप जस्ता उपभोक्ता प्रविधिको उत्पादनलाई असर गर्दैन।
“त्यसको कारण के हो भने निर्यात सम्बन्धि नियन्त्रणहरू चीनलाई सैन्य उद्देश्यका लागि उन्नत खाले एआई प्रविधि विकास गर्नबाट रोक्नको लागि गरिएका हुन्,” शेफर भन्छिन्।
यसलाई हटाउनका लागि चीनलाई आफ्नै सिलिकन भ्याली चाहिन्छ र उसले विभिन्न पृष्ठभूमिका प्रतिभाहरूलाई आकर्षित गर्ने खालको अनुसन्धान संस्कृति विकास गर्नुपर्ने फङ बताउँछिन्।
“अहिलेसम्म ऊ घरेलु र विदेशमा रहेका चिनियाँ पृष्ठभूमि भएका प्रतिभामा भर परेको छ। त्यसैमा एकै खालको सांस्कृतिक सोचको सिमितता हुन्छ,” उनी भन्छिन्।
बेइजिङले चिप कम्पनीहरूलाई व्यापक प्रोत्साहन गर्ने आफ्नो “बिग फन्ड” मार्फत यो खाडल पुर्ने प्रयास गरिरहेको छ। तर उसले यस क्षेत्रमा आफ्नो पकड पनि बलियो बनाएको छ। झाओ वेइङ्को गत मार्चमा चीनमा भ्रष्टाचारको आरोप लाग्ने पछिल्लो नविनतम प्रविधिका ठूला उद्यमी बने।
त्यसले नयाँ क्षेत्रमा थप डर र अनिश्चितता उत्पन्न हुनसक्छ। “झाओको गिरफ्तारी राज्यको स्वामित्व भएका अन्य कम्पनीका लागि राज्यको पैसामा गडबड नगर भन्ने सन्देश पनि हो” शेफरले भनिन्।
त्यो सन्देशले “अब काममा लाग्ने समय हो” भन्न खोजेको उनको बुझाइ छ।
Facebook Comment