विभाजित माओवादी घटकहरु पुनर्मिलनको तयारीमा

कम्युनिष्ट ब्राण्डले बाबुराम प्रचण्ड एकतामा ढिलाइ

शरद रिजाल
२८ जेठ २०८० १२:४९

काठमाडौं। टुटफुट र विभाजनबाट आक्रान्त भएका माओवादी घटहरुबीच एकता लागि औपचारिक प्रयत्नको थालनी भएको छ।
माओवादी धारका विभाजित शक्तिहरु पुनर्संगठित हुने प्रयत्न गर्दै एक अर्कालाई एकताको प्रस्ताव गरेका छन्।

लामो समयदेखि एउटै पार्टीमा सहकार्य गरेका माओवादी नेताहरु छिन्नभिन्न भएसँगै कमजोर बनेको महशुस गर्दै फेरि एकतावद्ध हुने अभिप्रायले माओवादी केन्द्रको केन्द्रीय कार्यालयमा एकताको प्रस्ताव आउन सुरु गरेको छ।

माओवादीबाट विभाजित बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी र नेत्रविक्रम चन्द नेतृत्वको नेकपाले माओवादी केन्द्रको केन्द्रीय कार्यालयमा औपचारिक प्रस्ताव पठाएको कार्यालय सचिव डोरप्रसाद उपाध्यायले जानकारी दिए।

दुबै पाटीबार्ट एकताको लागि औपचारिक प्रस्ताव आए पनि एकताको मोडालिटी बारे कुनै छलफल नभएको उनले बताए। उनले डिसी नेपालसँग भने, ‘एकताको लागि विप्लवजी र बाबुरामजीको पार्टीबाट औपचारिक पत्र आएको छ। तर एकताका लागि आवश्यक नीतिगत विषयमा कुनै छलफल भएको छैन।’

अब बस्ने माओवादी केन्द्रको केन्द्रीय समितिको बैठकले सो प्रस्ताबबारे ठोस निर्णय गर्ने कार्यालय सचिव उपाध्यायले बताए।
उनले भने, ‘हाम्रो केन्द्रीय समितिको बैठकले औपचारिक रुपमा उक्त प्रस्तावलाई स्वागत गर्दै एकताका लागि न्युनतम मापदण्डबारे टुंगो लगाउने छ।’

माओवादी केन्द्रको आगामी दिनमा बस्ने केन्द्रीय समितिको बैठकले दुबै पार्टीबाट आएको औपचारिक प्रस्तावबारे छलफल गरेर एकताको लागि आवश्यक विधि तय गर्ने माओवादी केन्द्रको तयारी छ।

यद्यपि माओवादी केन्द्रको केन्द्रीय समितिको बैठक बस्ने समयको अझै टुंगो लाग्न सकेको छैन। कार्यालय सचिव उपाध्यायका अनुसार असार १५ गते पछि केन्द्रीय समितिको बैठक बस्ने गरी आन्तरिक गृहकार्य सुरु भएको छ।

नेसपाको भक्तपुरमा दुई दिनसम्म चलेको केन्द्रीय समिति बैठकमा अध्यक्ष बाबुराम भट्टराईले समाजवादी केन्द्र निर्माणका लागि पहल गर्ने बताएका थिए। बिहीबारदेखि शुक्रबारसम्म दुई दिन चलेको उक्त बैठकले विचार मिल्ने पार्टीसँग संयुक्त मोर्चा हुँदै एकताका लागि मार्गप्रशस्त गर्ने निर्णय गरेको छ।

भट्टराई नेतृत्वको समाजवादी पार्टीको केन्द्रीय समिति बैठक अगावै पार्टीका सहअध्यक्ष गंगानारायण श्रेष्ठले पार्टी एकताका लागि अत्यावश्यक मादण्डसहितको एकता प्रस्ताव माओवादी केन्द्रको केन्द्रीय कार्यालयमा बुझाइसकेका छन्।

सोही प्रस्ताव र विप्लव नेतृत्वको नेकपाको प्रस्ताबबारे औपचारिक धारणा आगामी केन्द्रीय समितिको बैठकबाट तय गर्ने माओवादीले जनाएको छ।

यस्तै गत जेठ १८ देखि २० गतेसम्म कपिलबस्तुमा तीन दिन बसेको विप्लव नेकपाको केन्द्रीय समितिको बैठकले विचार मिल्नेसँग एकता तथा समाजवादी मोर्चा गठनका लागि सबैसँग सहकार्य गर्ने निर्णय गरेको छ।

माओवादीबाट विभाजित भएका भट्टराईले माओवादीसँग एकताका लागि नाममा सहमत हुन नसक्दा एकता प्रक्रियामा बिलम्ब भएको स्रोतले जनाएको छ। भट्टराईले एकीकृत पार्टीको नाम समाजवादी राख्न चाहेका छन्। उनी कम्युनिष्ट ब्राण्ड हटाउनुपर्ने पक्षमा छन्।

तर, माओवादी नेताहरुले कम्युनिष्ट नाम हटाएपछि त्यसको स्वामित्व एकल रुपमा एमालेको हुनसक्ने भयले सशंकित हुँदै कम्युनिष्ट नाम छाड्न नहुने अडानमा रहेकाले एकता प्रक्रियाले मुर्तरुप लिन नसकेको बताइएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *