टर्कीमा सरकारी विष्फोटक पदार्थ कारखानामा विस्फोट, पाँच जनाको मृत्यु
काठमाडौं । टर्कीमा रकेट र विस्फोटक पदार्थ बनाउने कारखानामा भएको भीषण विष्फोटमा परी पाँच कामदारको मृत्यु भएको छ ।
राजधानी अंकाराबाट ४० किलोमिटर टाढा रहेको सरकारी स्वामित्वको एमकेई रकेट र विस्फोटक कारखानामा शनिबार दुर्घटना भएको हो ।
टर्कीको सरकारी टेलिभिजनले विष्फोटले नजिकैका घर र पसलका झ्यालका सिसा फुटेको जनाएको छ । घटनामा धेरै मानिस घाइते समेत भएका छन् ।
अधिकारीहरुका अनुसार कारखानाको डाइनामाइट विभागबाट विष्फोट सुरु भएको हो ।
क्षेत्रीय गभर्नर वाहप साहिनले भग्नावशेषमा कुनै पनि कर्मचारी नफसेको बताए । सरकारी सञ्चारमाध्यमका अनुसार घाइते कर्मचारीलाई स्थानीय अस्पतालमा लगिएको छ भने घाइतेमध्ये धेरैको अवस्था चिन्ताजनक रहेको बताइएको छ ।
पत्रकारसँग कुरा गर्दै गभर्नरले रासायनिक प्रयोगका कारण विस्फोट भएको बताए ।
उपरक्षा मन्त्री आल्पास्लान काभाक्लिओग्लुले विस्फोट हुनुअघिको फुटेज जाँच गरिरहेको बताएका छन्।
उनले कारखानामा काम गरिरहेका मानिसहरु काम गरिरहेका बेला अचानक विस्फोट भएको बताए ।
रक्षा मन्त्रालयले विज्ञप्ति जारी गर्दै घटनाको न्यायिक र प्रशासनिक छानबिन सुरु गरेको जनाएको छ ।
यसैबीच टर्कीका भर्खरै निर्वाचित राष्ट्रपति रेसेप तैयप अर्दोआनलाई पनि घटनाको जानकारी दिइएको छ ।
Facebook Comment