दुर्घटनाग्रस्त विमानसँगै खसेका ४ कलिला बालबालिका ४० दिनसम्म डरलाग्दो जंगलमा कसरी बाँचे ?

डिसी नेपाल
२८ जेठ २०८० १४:५१

काठमाडौं । कोलम्बियाको अमेजन जंगलमा शुक्रबार ४० दिनपछि चार बालबालिकाको उद्धार गरिएको छ । शनिबार यी बच्चाहरूले आफ्ना हजुरबा हजुरआमालाई भेटे । आफ्ना अभिभावककहाँ पुगिसकेपछि यी बालबालिकाहरूले आफूहरूको ४० दिन लामो संघर्षको बारेमा विस्तारमा बताए ।

यो संघर्षमा नेतृत्व १३ वर्षकी बालिका लेस्लीले गरेकी थिइन् । उनी ४ जनामध्यै सबैभन्दा जेठी हुन् । उनले आफ्ना ९ वर्ष, ४ वर्ष र १ वर्षका ३ जना भाइहरूलाई जंगलमा ४० दिनसम्म सुरक्षित राखिन् । आफ्नी नातिनीको कुरा उद्धृत गृदै लेस्लीकी हजुरआमाले बताएअनुसार उनकी नातिनीले कपाल बाँध्ने रिबनको सहायताले आफूहरू बस्ने क्याम्प बनाउँथिन् ।

वास्तवमा, यी बालिका प्रायः आफ्नो काकी र साना भाइहरूसँग आफ्नो घरमा सर्भाइभल (कठिन अवस्थामा जीवित र सुरक्षित रहने कला) खेल खेल्थिन्। त्यहीँबाट उनले क्याम्प बनाउन सिकेकी थिइन् ।

बालबालिकाकी काकीले लेस्लीलाई फलफूलको बारेमा धेरै कुरा थाहा भएको बताइन्। अमेजन जङ्गल नजिकै उनीहरूको घर भएकोले उनलाई कुन फल खान योग्य हो र कुन विषालु हो भन्ने थाहा थियो । यही ज्ञानका कारण फलफूल, बीउ, जरा र रुखका बोक्रा खाएर बालबालिका ४० दिनसम्म जीवित रहे ।

बच्चाहरूलाई भेटेपछि उनकी हजुरआमा फातिमा भ्यालेन्सियाले भनिन्- ‘धर्ती माताले मेरा बच्चाहरूको हेरचाह गरिन्। म सधैं कृतज्ञ रहनेछु।’ बालबालिकाकी आमा काममा जाँदा लेस्लीले आफ्ना भाइहरूको हेरचाह गर्ने गरेको उनले बताइन् । यसले उनलाई जंगलमा पनि आफ्ना भाइहरूलाई सुरक्षित राख्न मद्दत गर्यो।

उद्धारपछि सबै बालबालिकालाई बोगोटाको अस्पतालमा भर्ना गरिएको थियो । यहाँ राष्ट्रपति गुस्ताभो पेट्रोले बालबालिका, डाक्टर र उद्धार टोलीलाई भेटे। अमेजन जङ्गलबाट बालबालिकाको सकुशल उद्धार गरेकोमा राष्ट्रपतिले जवानहरूलाई बधाई दिए।

यी बालबालिकाको परिवार गुआनानो समुदायको हो। यस समुदायका एक व्यक्तिले यी बालबालिकालाई हजुरआमाले हुर्काएको बताए । यस क्रममा उनीहरूले समुदायका मानिसहरूसँग जे पनि सिकेका थिए त्यो जंगलमा काम लाग्यो ।

शुक्रबार सेनाका जवानहरूले बालबालिकालाई भेटेपछि उनीहरूले ‘मिराकल’ अर्थात ‘चमत्कार’ शब्द भन्दै चिच्याउन थाले । वास्तवमा यो शब्दलाई सेनाले बालबालिका खोज्ने कोडको रूपमा प्रयोग गर्न भनेको थियो। यसपछि सिपाहीहरूले उनीहरूलाई केही खानेकुरा दिए। त्यसपछि बच्चाहरूलाई एयरलिफ्ट गरियो र त्यहाँबाट सिधै अस्पताल लगियो।

सर्वप्रथम राष्ट्रपतिलाई बालबालिकाको भेटघाटबारे जानकारी गराइएको थियो । उनले भने– ‘यो ऐतिहासिक क्षण हो जुन कुनै चमत्कारभन्दा कम छैन । यो सम्पूर्ण देशको लागि उत्सवको दिन हो। ती बालबालिकाहरू आफैं ४० दिनसम्म त्यो जङ्गलमा जीवित रहे । यो संसारका लागि कठिन परिस्थितिमा बाँच्ने सबैभन्दा ठूलो उदाहरण हो।’

वास्तवमा मे १ मा सेस्ना २०६ विमान अमेजन जङ्गलमा दुर्घटना भएको थियो । उक्त दुर्घटनामा पाइलटसहित ३ जनाको मृत्यु भएको थियो । यी बालबालिकाकी आमा पनि यसमा मारिएकी थिइन् ।

विमानको भग्नावशेष १६ दिनपछि फेला परेको थियो तर भग्नावशेष भेटिँदा त्यहाँ ३ जना मृतकका लाश मात्र थिए । बालबालिका त्यहाँबाट बेपत्ता भएका थिए । घटनाको जानकारी पाएपछि कोलम्बियाली सरकार र सेनाले बालबालिकाको उद्धारका लागि अपरेशन होप सुरु गरेका थिए ।

कोलम्बियाको सेनाले ४० दिनपछि ९ जुनमा बालबालिका फेला पारेको छ । उनीहरुको उमेर १३, ९, ४ र १ वर्ष रहेको छ । उद्धार कार्यका क्रममा सिपाहीहरूले जंगलमा कैंची, दुधको बोतल, कपाल बाँध्ने रिबन र अस्थायी आश्रय फेला पारेका थिए। उनीहरूलाई हजुरआमाको आवाजमा रेकर्ड गरिएको सन्देश पनि सुनाइयो, ताकि बच्चाहरू एक ठाउँमा रोकिउन् वा संकेत दिन सकून्।

एक सेना अधिकारीले उद्धार र खोज अभियानमा १०० भन्दा बढी सैनिकहरू संलग्न रहेको बताएका थिए। सेनाको विमान र हेलिकप्टर पनि बालबालिकाको खोजीमा जुटेका थिए ।

स्निफर कुकुरको पनि सहयोग लिइएको थियो । नागरिक उड्डयन प्राधिकरणका अनुसार विमान दुर्घटनापछि बालबालिका सहयोग लिन त्यहाँबाट बाहिर गएका थिए । तर, यति दिनसम्म बालबालिका कसरी बाँचे भन्नेबारे विस्तारमा जानकारी अझै पाउन सकिएको छैन ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *